मदनकृष्णले सार्वजनिक शौचालयमै स्यानिटरी प्याड लगाएपछि ... (भिडियाेसहित)

ललितपुर| सोमवार, जेठ १५, २०७४ : लगनखेल बसपार्कभित्र रहेको सार्वजनिक शौचालयमा आइतबार बिहान सधैं आउनेभन्दा भिन्न खालका मानिस पालो कुरिरहेका थिए । लामबद्धमध्ये एक थिए, वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ । पालो आएपछि उहाँ हातमा स्यानिटरी प्याड लिएर भित्र छिर्नुभयो।

 

सञ्चारमाध्यमका क्यामरा कलाकार श्रेष्ठको पर्खाइमा कुरिरहे । केहीबेरमै बाहिर निस्किनुभएका श्रेष्ठले पाइन्टको बेल्ट मिलाउँदै भन्नुभयो, ‘अलि अप्ठेरो लागिरहेको छ, तैपनि म यो प्याड दिनभरि लगाइराख्छु ।' प्याड लगाएपछि हिँड्दा, बस्दा, उठ्दा गाह्रो हुने रहेछ, दिदीबहिनीले कसरी सहनुभएको होला भन्दै उहाँले आफ्नो अनुभूति सुनाउनु भयो ।

कार्यक्रमस्थलमा आएर बसेपछि जब बोल्न अनुरोध गरियो उहाँले भन्नुभयो, ‘आज म नछुनी भएको छु, त्यसैले अल्छी लागेको छ, अप्ठ्यारो भइरहेको छ, अनि बोल्न पनि मन लागेको छैन ।' उहाँको भनाइले उपस्थित सबै खित्का छोडेर हाँसे । विश्वभर मे २८ का दिन मनाइने महिनावारी दिवसमा पुरुषलाई संलग्न गराउने कार्यक्रममा कलाकार श्रेष्ठ सहभागी हुनुभएको थियो । हजारौं पटक लगनखेल आइसक्दा पनि आफू यस सार्वजनिक शौचालयमा नगएको बताउँदै श्रेष्ठले भन्नुभयो, ‘आज पहिलोपटक जाँदा पो थाहा पाएँ, सार्वजनिक शौचालयमा दिदीबहिनीलाई प्याड फेर्न कति गाह्रो हुँदो रहेछ भन्ने।'

एक्काइसौं शताब्दीमा पुरुष र महिलालाई पर्ने समस्यामा खुलेर बोल्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । महिनावारीजस्तो विषयमा पुरुष पनि बोलिदिनुपर्ने र शौचालय सफा राख्नका लागि नवनिर्वाचित मेयर, उपमेयर र अन्य जनप्रतिनिधिले ध्यान पुर्‍याउनुपर्ने सुझाव उहाँले दिनुभयो । आफ्नो घरमा त महिनावारी कसैले पनि नबार्ने गरेको बताउँदै उहाँले अबका दिनमा आफूले कलाकारितामार्फत पनि यस विषयमा समाजमा जनचेतना फैलाउने प्रतिबद्धता जनाउनुभयो ।

गुठी, वाटर ऐड, एक्सन अगेन्स्ट हंगर, डीएफआईडी, इन्फो, सेफ्टी प्याडलगायतका संस्थाको आयोजनामा भएको कार्यक्रममा कलाकार रवि डंगोल (बेइमान) ले आफू धनगढीमा भएको कार्यक्रममा जाँदा महिला सहकर्मी महिनावारी भएपछि प्याड किन्न जाँदा पसलेले दिन अप्ठेरो मानेको प्रसंग सुनाउनुभयो । महिनावारी एक प्राकृतिक प्रक्रिया भएकाले नछुने हुँदा बार्ने प्रथालाई हटाउँदै लैजानुपर्ने सुझाव उहाँले दिनुभयो । कलाकारले महिनावारीबारेका कुप्रथा हटाउन महत्ववपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अधिकारकर्मी राधा पौडेलले कलाकारद्वयलगायत अन्य पुरुषलाई स्यानिटरी प्याड प्रयोग गर्ने तरिका सिकाउनुभयो ।

शौचालयमा गएर स्यानिटरी प्याड लगाएर बाहिरिएका खानेपानी तथा ढल निकास विभागका नायब महानिर्देशक मनोज घिमिरेले महिनावारीमा प्याड वा कपडा प्रयोग गर्न गाउँगाउँमा गएर सिकाउन सके महिला स्वास्थ्यलाई राम्रो बनाउन सकिने विचार राख्नुभयो । प्राध्यापक गंगाराम गौतमले महिनावारीका कारण कुनै पनि किशोरीको पढाइमा बाधा हुन नहुने बताउनुभयो । कलाकारले बोलेका कुरामा सबैले विश्वास गर्ने भएकाले महिनावारीसँग जोडिएका अन्धविश्वास र कुरीतिलाई चिर्न कलाकारिता प्रयोग गर्नुपर्ने धारणा सहभागीहरूको थियो । कार्यक्रममा वाटर एडले महिनावारीका विषयमा किशोरीले भोगेका अनुभवका फोटोहरूलाई प्रदर्शनीमा राखेको थियो । 

Source: The Annapurna Post

Link: http://annapurnapost.com/news/71968

Video Link: Click Here