महिनावारी बारे लुकेर होइन, खुलेर कुरा गरौँ

जेष्ठ १४, २०७४ सधैँ भीडभाड र व्यस्त हुने ललितपुरको लगनखेलस्थित खुलास्थान आज महिनावारी सम्बन्धी विभिन्न चेतनामूलक कुराहरुले गुञ्जमान भइरहेको थियो ।

महिला मात्र होइन पुरुष पनि सहभागी सो समूहमा महिनावारीका विभिन्न प्रसङ्गलाई खुलस्त रुपमा व्याख्या पनि गरियो । महिनावारी हुनु महिलाका लागि नियमित चक्र भएपनि अहिलेको २१ औँ शताब्दीमा पनि समाजले यसलाई अछुत व्यवहार गर्ने गरेको छ । त्यसैले महिलाहरु महिनावारीबारे उतिसारो खुल्दैनन् । 

एक्सन अगेन्स्ट हङ्गर संस्थाकी विभागीय प्रमुख कमला केसी महिलाहरु सानै देखि यस्तै वातावरणमा हुर्केकाले खुल्न नसकेको बताउनुहुन्छ । “सानैदेखि हामीलाई यो लुकाउने कुरा हो भनेर सिकाइयो” उहाँले भन्नुभयो, “त्यसैले समाजले पनि यसलाई स्वीकार्न सकिरहेको छैन ।” करिब आठ वर्षदेखि उहाँ यही कुरालाई बुझाउन र व्यवहारमा लागु गर्न जुटिरहनु भएको छ । “मैले पनि महिनावारी हुँदा लुकाए, किनभने मलाई पनि त यही नै सिकाइएको थियो”, केसीले भन्नुभयो ।  महिनावारीलाई सामान्य प्रकृतिमा नलिँदा धेरै महिलाले दुख पाइरहेका छन् । महिलाहरु अझै पनि छाउपडी जस्तो कुप्रथाको कारणले ज्यान गुमाउन बाध्य भइरहेका छन् । यसैमा परिवर्तन ल्याउन विश्व महिनावारी स्वच्छता दिवस मनाउन थालिएको चार वर्ष हुन लाग्यो । तर अवस्गथामा अपेक्षा गरे अनुसारको परिवर्तन आएको छैन ।  ‘महिनावारी सम्बन्धी शिक्षाद्धारा परिवर्तन हुन्छ सारा’ भन्ने नाराका साथ मे २८ अर्थात् जेठ १४ गते यो दिवस मनाउने गरिएको छ । वाबटर एड नेपालकी सन्ध्या चौलागाई मानिसहरुमा विस्तारै सकारात्मक परिवर्तन आइरहेको बताउनुहुन्छ । “पहिलाको तुलनामा अहिले उहाँहरु विस्तारै खुल्न थाल्नु भएको” उहाँले भन्नुभयो, “जे होस् विस्तारै परिवर्तन चाँही हुँदैछ ।” गाउँमा छाउपडी रहेपनि शहरमा भने विचारको छाउपडी रहेको चौलागाईको भनाई छ ।  महिनावारी भएको समय आफ्नो स्वास्थ्यमा ध्यान नदिन सके त्यसले दिर्घकालीन समस्याहरु निम्त्याउने चिकित्सक बताउँछन् । महिनावारीको दौरान महिलाहरुले ख्याल राख्नुपर्ने धेरै कुराहरु हुन्छन् । कहिलेकाहीँ सानोतिनो हेलचेक्र्याईले पनि ठुलो रुप लिन सक्छ ।  तर हाम्रो सामाजिकीकरणकै कारण महिनावारी भएका बेला आफ्ना समस्या खुलेर भन्न नै सक्दैनन् । गुठी संस्थाका संयोजक प्रकाश अमात्य महिलाहरुलाई खुलेर कुरा गर्न आग्रह गर्नुहुन्छ  । हामीले खुलेर कुरा गर्न सके स्वास्थ्यमा पार्ने असरबाट हामी बेलैमा बच्न सकिने अमात्यको भनाई छ । अमात्य भन्नुहुन्छ, “यो अभियानलाई सबैले आत्मसाथ गर्नु आवश्यक छ, ।” लैङ्गिक समानताका लागि पुरुषको सहभागीतामा जोड दिइए जस्तै महिनावारीका विषयमा पनि पुरुष सहभागीतालाई जोड दिइएको छ । “सामाजिक भ्रम चिर्न पुरुषको सहभागिता बढाउँदै  लैजानु पनि आवश्यक छ”, अमात्यले भन्नुभयो । महिनावारी बार्ने बारे चेतना फैलाउन पाठ्यक्रममा यस विषयलाई समेट्नुपर्ने अमात्यको भनाई छ । महिनावारी महिलामा हुने शारीरिक परिवर्तनमध्येको एक हो । यो समयमा झन् उनीहरुलाई विशेष हेरचाहको खाँचो हुन्छ । तर समाजले यसलाई अछुत मानेका कारण हामी सबै यसलाई लुकाउन बाध्य छौ । महिनावारीसंग सम्बन्धित गतल सामाजिक धारणा र भ्रमलाई चिर्न आवश्यक छ । त्यसैले महिनावारी बारे लुकेर होइन, खुलेर कुरा गरौ ।

Source: Kantipur News

Link: http://radiokantipur.ekantipur.com/news/2017-05-28/20170528184545.html