भ्रमले महिनावारीमा छुवाछुत

काठमाडौं । May 28, 2017 | महिलाहरू महिनावारी हुनु प्राकृतिक घटना हो । नेपाली महिला महिनावारी भएका बेला पानी र खानेकुरा छुनु नहुने र अलग्गै बस्नुपर्ने प्रचलन छ । यस्तो प्रचलनलाई ‘महिनावारी बार्ने’ भनिन्छ । 

सुनसरीकी २१ वर्षीया एक अविवाहित युवतीले महिनावारीबारे आफ्नो परिवारको कुरा सुनाइन् । उनका घरमा परिवारमा पाँचजना महिला र दुईजना पुरुष छन् । परिवारका सबै सदस्य शिक्षित छन् । घरमा महिनावारी हुँदा बार्ने चलन कडा छ । ‘कहिलेकाहीँ हामी पाँचैजना पाँच आमाछोरीलाई एकैचोटि महिनावारी भइदिन्छ, त्यतिबेला बुवा र दाजुले खाना पकाउनुहुन्छ’, उनले भनिन्, ‘त्यसबेला दाजु र बुवालाई छुनु हुँदैन । महिनावारी भएको बेला बुबा र दाजुले पकाएर खाएपछि मात्रै हामी खान्छौँ । सकेसम्म उहाँहरूलाई नहेर्नु भन्नुहुन्छ आमाले ।’

उनलाई अहिलेसम्म महिनावारी हुँदा किन बार्नुपर्ने हो भन्ने पनि थाहा छैन । पहिले पहिले आफूलाई महिनावारी भएको समयमा उनको बुवा र दाजुले खानेकुरा खानसमेत घिनाउँदा उनलाई महिला भएर जन्मिनु पाप रहेछ जस्तो लाग्थ्यो । उनी त एक उदाहरण पात्र मात्र हुन् । महिनावारीविना मानव अस्तित्व नै छैन भन्ने कुराको ख्याल नगरी छुवाछुुत भने भइरहेको छ । 

शनिबार महिनावारीबारे छुवाछुत, गलत धारणा र मौनता तोड्नको लागि एक्सपोज नेपाल नामक संस्थाले राजधानीमा विशेष साइकल ¥यालीको आयोजना ग¥यो । महिनावारीको विषयमा गलत धारणा फैलाएर आफ्नै छोरी तथा बुहारी आमामाथि गरिने अन्धविश्वासजस्ता छुवाछुतका व्यवहार हटाउनको लागि यस्तो ¥याली निकालेको हो । 

एक्सपोज नेपालले ‘मौनता तोडौं र महिनावारीको विषयमा खुलेर कुरा गरौं’ भन्ने मूल नाराका साथ बृहत् ¥यालीको आयोजना गरेको थियो । मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा आयोजित ¥यालीमा दुई सय पचासजना भन्दा बढी साइकल यात्रीहरूको सहभागिता थियो । ‘हरेक पुरुष बन्छ जिम्मेवारी, जब बोल्छ स्वस्थ्य महिनावारी’, ‘स्वस्थ्य महिनावारी हामी सबैको कर्तव्य हो’, ‘स्वस्थ्य महिनावारी हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर व्यावसायिक र सौखिन साइकल यात्रीदेखि स्टाफ नर्स, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए । काठमाडौंको वसन्तपुरबाट सुरु भएको ¥याली कान्तिपथ, कमलादी, पुतलीसडक, माइतीघर मण्डला, कुपण्डोल हुँदै मंगलबजारमा पुगी सभामा परिणत भएको थियो । 

अहिलेसम्म पनि महिनावारीबारे भ्रम सिर्जना गरी विभिन्न अन्धविश्वासका कारणले महिलाहरूमाथि भइरहेको अन्याय न्यूनीकरण गर्न महिलाले मात्रै नभएर पुरुषले पनि आवाज उठाउनु जरुरी रहेको आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताए । महिला र पुरुष एकै रथका दुई पांग्रा भएका कारण पनि हरेक समस्याको समाधान गर्न महिला र पुरुष दुवैको ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

अध्यक्ष महर्जनले समाजमा कुरीतिकै रूपमा रहेको महिनावारीलाई पापजस्ता भ्रम फैलिनेखालको नकारात्मक सोच बदल्नको लागि पुरुषहरू पनि अघि सर्नैपर्नेमा उनको जोड थियो । ¥यालीमा सहभागिता जनाउँदै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले महिनावारीको विषयमा अशिक्षितभन्दा पनि शिक्षित व्यक्तिहरूले बढी छुवाछुतको व्यवहार देखाई बारिरहेको बताए । यस्तो व्यवहार नहटाएसम्म नेपालको विकास मुस्किल रहेको समेत उनले बताए । 

उनले शहरबजारको तुलनामा गाउँगाउँका महिलाहरूको स्वास्थ्यमा झनै यसले असर गरिरहेकाले यस विषयमा पुरुषले झनै चासो देखाएर आवाज उठाउन जरुरी रहेको बताए । महिनावारी हुँदा बढी आराम चाहिने बेलामा गाउँका महिलाले घरधन्दा गर्नु हुँदैन भन्दै घाँस दाउरा र खेतबारीको काममा पठाइने हुनाले जनचेतनामूलक अभियान गाउँगाउँसम्म पुर्याउनुपर्नेमा उनको जोड थियो ।

उनले महिनावारी भएको कुरालाई नकारात्मकरूपमा लिएर छुवाछुत गरी महिलाहरूलाई मानसिक यातना दिने व्यक्तिहरूलाई कारवाही गर्नकै लागि भएपनि बलियो कानुन बन्न जरुरी रहेको बताए । महिलामाथि यसैगरी विभिन्न नदेखिने तरिकाले मानसिक यातना भइरहेकोले पनि राज्यले बलियो कानुन बनाउनुपर्र्ने उनले बताए ।

Source: Himalaya Times

Link: http://ehimalayatimes.com/samaj/12867

Go to top