मदन कृष्णलाई नछुने भएछ !

ललितपुर, जेठ १४ । ख्याती प्राप्त हास्य कलाकार मदन कृष्ण श्रेष्ठ आज दिउँसो लगनखेलको सार्वजनिक शौचालयबाट निस्के । उनलाई अलि अलि अप्ठेरो भइरहेको थियो । तर पनि मुस्कुराउँने कोशिस गर्दै थिए ।

अलि लजाउँदै उनले भने, “कस्तो गाह्रो हुँदोरहेछ । महिलाहरुले महिनावारीको बेलामा प्रयोग गर्ने प्याड लगाउँदा । झन् उनीहरुले त महिनैपिच्छे लगाउनु पर्छ । कति गाह्रो हुन्छ भन्ने कुरा यो उमेरमा बल्ल थाहा पाउँदैछु । मलाई पनि नछुने भएछ । ”

आज मे २८, विश्वभरि महिनावारी स्वच्छता दिवस । आजको दिनमा महिलाहरुले महिवावारी वा रजस्वला वा नछुने हुनु भनेको कुनै पाप वा लुकाउनुपर्ने कुरा होइन भनेर खुलेर कुरा गर्न र विशेष गरेर यसप्रति नकारात्मक धारणा नबनाउन अनुरोध गर्ने र जनचेतना फैलाउने दिनको रुपमा विश्वभरि नै मनाइन्छ । यसै सन्दर्भमा आजे लगनखेलमा एउटा नौलो कार्यक्रम आयोजना गरे जसमा समाजका केही चुनिएका पुरुषहरुले सार्वजनिक सौचालयमा गएर प्याड लगाए, अनि बाहिर आएर आफ्नो अनुभव सुनाए ।

अर्का हास्य कलाकार रवि डगोलले पनि प्याड लगाउँदा अप्ठेरो भएपनि महिलाहरुले कसरी हरेक महिना यो क्षणबाट गुज्रिरहने भन्ने अवसर पाएको बताए ।

उनले महिनावारी भनेको प्राकृतिक चक्र भएकोले यसप्रति कसैले नकारात्मक धारणा नराख्न अनुरोध गरे । यो एक सामान्य प्राकृतिक कुरा भएकोले यसलाई पुरुष वा महिला कसैले कतै पाप, फोहर वा लाजको कुराको रुपमा लिन नहुने पनि बताए ।

“एकपल्ट हामी धनगढीमा कार्यक्रममा गएका थियौं । हाम्रै समुहकी एक महिला सदस्यको महिनावारी शुरु भयो । मलाई प्याड किनेर ल्याइदिन अनुरोध गरे । म औषधी पसलमा गएर प्याड मागें । त्यहाँको साहुजीले विश्वासै नभएको जस्तो गरी मलाई हेरे, अनि पोको पारेर दिए,” उनले सुनाए ।
साथै सुदुर पश्चिममा त छापउपडीमा राखेकै कारण एक किशोरकिो गतः वर्ष मृत्यु समेत भएको सम्झँदै यस्ता प्रथाहरु हटाउँदै लानुपर्नेमा पनि जोड दिए ।

वाटर एडकी पैरवी व्यवस्थापक शिखा श्रेष्ठले यस्तो कार्यक्रम खासगरी महिनावारीमा पुरुषको सरोकार देखाउन र उनीहरुले यो सामान्य कुरा हो भनेर स्वीकार गराउनलाई आयोजना गरेको बताउँदै पुरुषहरुले यसबारे नराम्रो धारणा राखिरहेसम्म महिलाहरुलाई यसको बारेमा खुलेर कुरा गर्न अप्ठेरो हुने बताए ।

साथै उनले महिनावारी स्वास्थयका बारेमा सार्वजनिक अपील पनि खानेपानी तथा ढलनिकास विभागका नायव महाप्रवन्धक मनोज घिमिरेलाई हस्तान्तरण गरेकी थिइन् ।

महिनावारी स्वच्छता नीति टास्क फोर्सका सदस्य कमला केसीले स्वेच्छाले प्याड प्रयोग गर्न तयार भएका पुरुषहरुका लागि प्याड र त्यसका विकल्पहरुका साथै त्यसलाई प्रयोग गर्ने विधिका बारेमा पनि जानकारी गराएको थियो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दहालले देशभरिका स्वास्थ्य समस्याहरु हेर्दाहेर्दा सम्पूर्ण महिलाहरुसँग सम्बन्धित यस महिनावारीको बारेमा खास कार्यक्रम ल्याउन नसकेको स्वीकारे ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले महिनावारी बार्ने चलन ग्रामिण भेगमा बढी भएकोले यसलाई अभियानकै रुपमा जनचेतना जगाउनुपर्ने बताए । “यस्तो बेलामा पुजाआजा गर्न नहुने भनिन्छ तर घाँस दाउरा जस्तो शारीरिक परिश्रम पर्ने काम भने गराइन्छ । सोचमा परिवर्तन आवश्यक छ,” उनले भने ।

गुथि, वाटर एड, एन्फो, एक्सन अगेन्स्ट हङ्गर, युके एडको आयोजनामा भएको कार्यक्रममा नेपालमा बनेको सेफ्टी स्यानटरी प्याड सबैलाई निशल्क वितरण गरिएको थियो ।

Source: Esamata

Link: http://esamata.com/news/170528c/