आजदेखि १८ औं राष्ट्रिय सरसफाई सप्ताह सुरु पर्यटकीय क्षेत्रलाई पनि सफा राखिने

काठमाडौंः आजदेखि देशभर सरसफाई सप्ताह सञ्चालन भएको छ । यस पटक मनाउन लागिएको १८ औ सरसफाई सप्ताहको नारा ‘खुला दिसा मुक्त गर्नुछ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ स्थानीय नेतृत्व’ भन्ने तय गरिएको छ ।

सफाई सप्ताहमा खुल्ला दिसा मुक्त क्षेत्रको विकास, खानेपानी र आफ्नो वरपरको क्षेत्रको सरसफाई, पर्यटकीय क्षेत्रको सरसफाईका विषयमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले जानकारी दिए ।

२०२० सम्ममा काठमाडौंका खोलालाई दिसामुक्त बनाउने गरी काम गरिरनेको बताउँदै भट्टले यस सप्ताहको अभियानले खुला दिसा मुक्त नेपाल बनाउने राष्ट्रिय अभियानलाई साकार पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सरसफाई सप्ताहको पुर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रमका बारेमा जानकारी गराउँदै भट्टले ७५ जिल्ला मध्ये ३८ जिल्ला खुला दिसामुक्त घोषित भएको र १० जिल्ला प्रकियामा रहेको जानकारी दिए । देशलाई खुला दिसामुक्त क्षेत्र बनाउन स्थानीयकै भूमिका महत्वपूर्ण भएकाले लामो समयपछि भएको स्थानीय तह निर्वाचनले यसलाई प्रभावकारी कार्यान्वयनका लागि सहयोग पुग्ने विभागको विश्वास छ ।

सरकारले २०१७ को अन्त्य सम्ममा सबै नेपालीको पहुँचमा आधारभूत स्तरको खानेपानी तथा सरसफाई सेवा पुर्‍याउने लक्ष्य राखेको छ । आधारभूत सरसफाई भन्नाले सुरक्षित चर्पीमा सबै नेपालीको पहुँच हुनु र न्युनतम व्यक्तिगत सरसरफाई कायम हुनु हो । बोलिचालीको भाषामा यसलाई ‘एक घर एक शौचालय र साबुनपानीले हात धुने वानी’ भन्ने बुझाउँछ ।

आधारभूत स्तरको सरसफाई सुविधा वृद्धि गर्नेक्रममा भने नेपालले सन्तोषजनक प्रगति गरेको छ । सन् ८० को दशममा छ प्रतिशत नेपालीको घरमा मात्र शौचालय रहेकोमा सन २०१० मा यो संख्या ४३ प्रतिशतमा पुगेको थियो ।

अहिले चर्पीको संख्या वृद्धि गर्नेभन्दा पनि खुला दिसामुक्त क्षेत्रको संख्या बढाउने योजना अनुसार २०१७ भित्रमा पूरै नेपाललाई नै खुला दिसामुक्त क्षेत्र बनाइने र शौचालय प्रयोग गर्नेको संख्या सतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ । अहिले करिब ९१ प्रतिशत घरधुरीका नेपालीले आधारभूतस्तरको शौचालयको प्रयोग गरिरहेका छन् ।

कार्यक्रममा सहभागी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले सरसफाई र पानीको सम्बन्ध एकअर्काको परिपुरक रहेकाले दुवैलाई सँगै लैजानुपर्ने बताए । अर्यालले भने–‘सरसफाईका लागि पानी चाहिन्छ । अनि स्वच्छ पानीका लागि सरसफाई अनिवार्य भएकाले पानी र सफाईंका कुरालाईसँगै लैजानुपर्छ । यो अभियानलाई हामी यसै अनुसार अघि बढाउँछौं ।’

बस्ती रहेको क्षेत्र र पर्यटकीय क्षेत्रलाई पनि सँगसँगै सफाई गर्दै अघि बढ्ने योजना विभागको छ । ढल नभएका क्षेत्रमा ढलको विकास गर्ने, खोलानालामा ढल मिसाउने परिपार्टी बन्द गर्ने, खुल्लास्थानका पर्यटकीय क्षेत्रलाई पनि खुलादिसापिसाब मुक्त क्षेत्र बनाउने गरी काम गर्ने सरकारी तयारी छ ।

के के हुँदैछ सरसफाई सप्ताहमा ?

एक हप्ते सरसफाई सप्ताहमा सबैलाई सरसफाईका क्रियाकलापमा सहभागी गराउने खानेपानी तथा सरसरफाई विभागले जनाएको छ ।
जसअन्तर्गत निम्न कार्यक्रम हुनेछन्:

जेठ २२ गते–आफूबस्ने ठाउँ वरपर र आफ्नो कार्यालय रहेको क्षेत्रमा सरसफाई गर्न विभागले सबैलाई आग्रह गरेको छ । आफ्नो क्षेत्रलाई आफैंले सफाई गर्नसके सरसफाई अभियान सफल हुने विभागको ठहर छ ।

जेठ २४ गते बनेपामा महिलावारी सम्बन्धी अन्र्तक्रिया आयोजना गरिएको छ । अन्र्तक्रियामा महिलामा हुने प्राकृतिक मासिक चक्र महिनावारी र स्वास्थ्य तथा सरसफाईका विषयमा छलफल हुनेछ ।

जेठ २६ गते–लेदोजन्य फोहोरको व्यवस्थापनका लागि छलफल हुनेछ । ढलको व्यवस्थाभएका ठाउँमा यसको समस्या नभएपनि छरिएर रहेका बस्तीमा लेदोजन्य (दिसाजन्य) फोहोर व्यवस्थापनमा समस्या भएकाले यो वर्ष सात प्रदेशमा लेदोजन्य फोहोरको व्यवस्थापनको नमुना कार्यक्रम सञ्चालन गरिने र यसको व्यवस्थापनका लागि सरसफाई सप्ताहमा छलफल गरिने विभागका महानिर्देशक तेजराज भट्टले बताएका छन् ।

जेठ २८ गते– सार्वजनिक सौचालय र यसको प्रयोगका विषयमा छलफल गरिनेछ । छलफलमा लामो दूरीका यातायात व्यवसायी, चालक, टान्पोर्टमा काम गर्ने कर्मचारीलाई बोलाएर सौचालय भएको ठाउँमा मात्र यात्रुलाई ओरार्न लगाउने, खुल्ला ठाउँमा दिसापिसाव गर्नाले वातावरण प्रदूषण हुने कुराको जानकारी गराउने विभागको योजना छ ।

Source: Tour Khabar

Link: Click Here

Go to top