'छाउ बार्न' धामीकै दबाब

गाउँले आफूकहाँ हेराउन आएका बेला धामी काम्दै गरेकी शान्ता कठायत । अन्नपूर्ण

बिहीबार, साउन ५, २०७४ | दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुनुहुन्छ । गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् । आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो ? अब घरमा छाउ बार्नू ।'

गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन् । माताको उपचार गर्ने एउटै मन्त्र छ । उपचारका लागि आउनेलाई उहाँ ‘छाउ बार्न' सुझाव दिनुहुन्छ । गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन् । महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझावअनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन् ।

गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा गाढेको छ । बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत छैनन् । बरु गाउँका धामीझाँक्रीले भनेबमोजिम नै छाउ बार्न तयार छन् । स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ । सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाइ नै मुख्य कारण देखाउँदै आएका छन् । अनि उपचार मन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन् । धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ ।

गाउँलेले माताको रूपमा पुकार्ने शान्ताको घरमा पुग्दा केही मान्छे पनि आइपुगे । बच्चा बिरामी भएपछि उपचारको खोजीमा उनीहरू त्यहाँ पुगेका थिए । माताले अक्षता र भेटी राख्न भनेपछि उनीहरूले सोहीअनुसार गरे । माता केही बेरमै धामी काम्नुभयो । सोही क्रममा उहाँले भन्नुभयो, ‘अरू सबै राम्रो छ तर घरमा छुइछाइ भएको रहेछ । घरमा महिला पाखा सरेका बेला होस पुर्‍याउनू, अबदेखि छाउ बार्नू ।'

धामीले भनेपछि उनीहरूले पनि सोहीअनुसार गर्ने बाचा गरे । अभिभावकको भनाइअनुसार बच्चालाई रुघाखोकीसँगै ज्वरोको समस्या थियो । तर, माताले छाउ बार्नू भन्दै सुझाव दिएपछि उनीहरू त्यहाँबाट फिर्ता भए । स्थानीय बासिन्दाका अनुसार गाउँका धामीले जे समस्या पर्दा पनि छुइछाइकै कारण देखाउने गरेका छन् ।

आफूलाई अप्ठ्यारो वा समस्या पर्दा गाउँले स्थानीय पादुकास्थान मन्दिरका महन्त (पुजारी) देवीनाथ योगीको शरणमा जान्छन् । महन्तले दिएको सुझावअनुसार नै उनीहरूले समाधानको कसरत पनि गर्दै आएका छन् । छाउपडीबारे धारणा बुझ्न खोज्दा उहाँले आफ्नो कहानी सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘केही वर्षपहिला खाना खाने बेला मेरो हात थालसम्म पुगेन, हातै रोकियो भने मुन्टो पनि पछाडि फर्कियो । त्यो खाना छाउ भएकी केटीले पकाएकी रहिछ, देउताले थाहा पाएर त्यो खाना खानै दिएनन् ।'

 

"धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण छाउ बार्ने संस्कारले जरा गाढेको छ ।"

 

छाउ भएकी महिलाले छुइछाइ गर्दा यस्तो भएको उहाँको दाबी थियो । तर, क्यामेरा देखेपछि विस्तारै उहाँले छाउपडीप्रतिको आफ्नो धारणा भने बदल्नुभयो । स्थानीयका अनुसार उहाँ पनि उपचारका लागि पुग्दा छुइछाइ भएकाले समस्या भएको बताउने गर्नुहुन्छ । गाउँमा सबैले मान्ने पुजारीले भनेका कुरामा पनि सबैले विश्वास गर्छन् । मन्दिरमा लसपस हुँदा देउता रिसाउने बताउने उहाँले भन्नुभयो, ‘यो पहिलेदेखिको चलन हो, अब विस्तारै बदल्नुपर्छ । भान्सा र पूजाकोठामा त समस्या होला, अब घरकै अन्य कोठामा सुताउँदा हुन्छ ।'

स्थानीय शिक्षक भुवन शाहीका अनुसार गाउँका धामीझाँक्रीको सोच परिवर्तन नभएसम्म छाउगोठबाट महिलालाई घरभित्र ल्याउन मुस्किल छ । ‘सबैले धामीको विश्वास गर्छन्, सानो समस्या पर्दा पनि उनीहरूकै शरणमा पुग्छन्', शाहीले भन्नुभयो, ‘भैंसीले दूध नदिँदा पनि धामीकहाँ हेराउने चलन छ, धामीले छाउ बार्नू भन्ने मन्त्र मात्र फुक्छन् ।'

गाउँका धामीको धारणा परिवर्तन नहुँदासम्म छाउपडीको कुप्रथा अन्त्य गर्न सम्भव नहुने शिक्षक शाही बताउनुहुन्छ । सर्वसाधारणको हालसम्म पनि धामीप्रति विश्वास रहेकाले अब धामीलाई नै छाउपडीविरुद्धको अभियानमा सामेल गराउनुपर्ने उहाँको सुझाव छ ।

ग्रामीण क्षेत्रमा धामीझाँक्रीका कारण पनि छाउपडीले जरा गाढ्दै गएको छ । महिला तथा बालबालिका कार्यालय दैलेखकी प्रमुख अनिता ज्ञवालीले धामीलाई नै छाउपडी उन्मूलन अभियानको नेतृत्व दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँलेले धामीलाई नै विश्वास गर्छन्, अब धामीलाई नै यसबारे बुझाउन जरुरी छ । धामी नै छाउपडीविरुद्ध लागे भने अभियान आधा सफल हुन्छ, आधा छाउगोठ नै भत्किनेछन् ।'

Source: The Annapurna Post

Link: http://annapurnapost.com/news/75675