पानी बोक्ने टैंकरमा स्टिकर

काठमाडौं । उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जारी गरेकोे टैंकर सेवा संचालन सम्बन्धि निर्देशिका २०७३ अनुसार टैंकरबाट वितरण गरिने पानीलाई वर्गिकरण गरि स्टिकर टास्ने व्यवस्थालाई लागु गर्दै थप प्रभावकारी बनाएको छ ।

हालसम्म पिउन योग्य पानीको लागि निलो रङ्गका १४, उमालेर वा घरेलु विधिबाट प्रशोधन गरेर पिउन मिल्ने पानीकोे लागि हरियो रङ्गको १९१, पिउने बाहेकको प्रयोजनका लागि पहेलो रङ्गको  ५१ गरि कुल २५६ स्टिकर टासँेको बोर्डका सूचना अधिकारी योगेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।

यस्तै, १७० टैंकरहरुमा स्टिकर लगाउने काम पनि जारी रहको  उहाँले बताउनु भयो ।  बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर गत वैशाख ५ गतेबाट सुरु गरिएको सो अभियानले तिब्रता पाएको हो । पानी बोक्ने टैंकरहरुको उचित व्यवस्थापन गरि पिउन योग्य पानी बोक्ने र अन्य प्रयोजनका लागि पानी बोक्ने टैंकर छुट्याउन यो कदम चालिएको हो । पिउन योग्य र अयोग्य पानी उहि टैंकरबाट ढुवानी गर्दा पिउन योग्य पानी पनि दुषित भई मानव स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भएकोले यो कामको थालनी गरिएको हो ।  काठमाडौंबाट वितरण हुने पानी गुणस्तरयुक्त र स्वस्थ बनाउनु तथा जनचेतना अभिवृद्धि गर्नु यसको मुख्य उद्धेश्य रहेको बोर्डका सूचना अधिकारी बमले बताउनु भयो ।

Source: Khane Pani News

Link: Click Here