विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना

साबित्री राजभण्डारी, काठमाडौ : काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशेपानीको संकलन गरी सरसफाइ र पिउनका लागि प्रयोग गरिरहेको छ ।

विद्यालयको ४ वटा भवनको छानाबाट पानी संकलन गरी शिशु देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी र शिक्षक गरी झण्डै ३ हजार जनाले आकाशेपानी प्रयोग गर्दै आएको हो । जेनेभा सरकारको आर्थिक तथा गुठी संस्थाको प्राविधिक सहयोगमा विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलन प्रविधि जडान गरिएको हो ।

 

आकाशे पानी संकलनका लागि २५ हजार क्षमताका दुई वटा अण्डरग्राउण्ड ट्याङ्की निर्माण गरिएको छ । विद्यालयको छानोबाट पाइपको माध्यम हुँदै -यापिड स्याण्ड फिल्टरबाट छानिएपछि भण्डार ट्याङ्कीमा पानी जम्मा हुन्छ । ट्याङ्कीमा जम्मा भएको पानीलाई मोटरबाट तानेर विद्यालयको छानोमा राखिएको ओभरहेड ट्याङ्कमा जम्मा गरिन्छ र त्यहाँबाट धारा धारामा पठाइन्छ ।

विद्यालयका प्राचार्य हेरम्बराज कँडेलका अनुसार चारवटा भवनको ४ सय २८ बर्गमिटर क्षेत्रफलबाट पानी संकलन हुन्छ । विद्यालयमा पानीको व्यवस्था भएपछि सरसफाइमा सुधार आएको र ट्याङकरको पानी खरिद गर्नु नपरेको उहाँले बताउनुभयो ।

सञ्चालन हुन थालेको एक बर्षपछि उद्घाटन

 

आकाशेपानी संकलन प्रविधि सम्पन्न भएको एक बर्षपछि आज उदघाटन गरिएको छ । सन् २०१६ को जुलाई १५ मै सम्पन्न भएपनि आज मात्र उद्घाटन गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले आकाशेपानी संकलन प्रविधिको उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि समेत रहेका सचिव उपाध्यायले सिंहदरबार भित्रको पानी खेर गइरहेको र कुनै पनि कम्पनीले संकलन गरेर बेच्ने प्रस्ताव ल्याए स्वीकृत गरिने बताउनुभयो । उहाँले ठाउँ अनुसार पानीको गुणस्तर फरक हुने भन्दै आकाशे पानी पिउनका लागि उपयुक्त हुने बताउनुभयो । ‘भाइ बहिनीहरु आकाशे पानी पिऔं, चाउचाउ, मःमः, पिज्जा, त्यागौं, हेर्नुहोस् तपाईको अनुहार कसरी टल्किदो रहेछ ।’ स्कुलका छात्रछात्रालाई आग्रह गर्दै सचिव उपाध्यायले भन्नुभयो ।

यस्तै काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले आकाशेपानी पानीलाई संकलन गरी प्रशोधनका अन्य उपाय समेत अपनाइएकाले  पिउनका लागि सुरक्षित रहेको बताउनुभयो ।

बर्षातको पानी पुनर्भरण हुन नपाउँदा जमिनमुनि पानीको सतह घट्दै गएकाले आकाशे पानी संकलन गर्दा रिचार्ज अर्थात पुनर्भरण हुने संयन्त्र पनि राख्नुपर्ने बताउनुभयो । ‘वर्षातको पानी संकलन गरेर पुनर्भरण गरेको खण्डमा यस प्रकारको पानीको सतह माथि आउने सम्भावना रहन्छ, तसर्थ घर बनाउँदा नयाँ मापदण्ड अनुसार केही प्रतिशत भूभाग छोड्नुपर्ने नियम कडाईका साथ लागु गर्नुपर्दछ’ उहाँले बताउनुभयो ।

कार्यक्रममा International Rainwater Harvesting Alliance का President Han Heijnen ले आकाशेपानी संकलनको पूर्वाधार संरक्षण र उपयोगको जिम्मेवारी विद्यालयलाई दिइएकाले विद्यालयले संरक्षण र संबद्र्धन गर्दै दिगो उपयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँँडेलले ५० हजार लिटरको ट्याङ्कीबाट बार्षिक साढे ५ लाख लिटर पानीको आपूर्ति भएको जानकारी गराउनुभयो।

Source: WASH Khabar

Link: http://washkhabar.com/news/1768