सफा छैनन् शिक्षालयका शौचालय

काठमाडौं । काभ्रेको पनौतीका १८ वर्षीया आरजु श्रेष्ठ जस्तोसुकै आपत परेपनि शौच गर्न भने घरै पुग्छिन् । विद्यालयको शौचालय सास फेर्नै नसक्ने गरी फोहोर छ । उनी कक्षा बीचमै छोडेर घरै पुग्छिन् । नजिकै घर भएकाले उनी यसो गर्न सक्छिन् । टाढा हुनेहरू या त त्यही फोहोमा काम चलाउँछन् या त अलिक पर कतै गएर छेलिएर काम चलाउँछन् । 

 

इन्द्रेनीश्वर माविको कक्षा १२ मा पढ्ने आरजुलाई कहिलेकाहिँ स्कुल जानै नपरे हुन्थ्यो जस्तो लाग्छ । शनिबार बाहेकका अन्य सबै दिन उनी निकै कम पानी पिउँछिन् । दिनभरि पिसाब च्यापेरै उनी पढाइ गर्छिन् तर स्कुलको शौचालय प्रयोग गर्दिनन् । 

‘कहिलेकाहिँ दिसा पनि रोकिन्छ । कुसमयमा दिसा लाग्दा स्कुल जानै मन लाग्दैन । सञ्चो छैन भनेर घरैमा बस्छु । घर बस्दा पढ्न मन लाग्छ । शरीर पुरै हलुंगो भएको महसुस हुन्छ,’ आरजुले भन्छिन्, ‘घरको शौचालय आफैँ सफा गर्ने गर्छु । कतिपय साना भाइबहिनी शौचालयमा पस्न सक्दैनन् । शौचालयमा खुट्टा टेक्ने ठाउँ नै हुन्न ।’ 

 

आरजु त एक उदाहरण मात्र हुन् । नेपालको सरकारी विद्यालयमा पढ्ने आर्जुजस्ता धेरै विद्यार्थी शौच गर्ने समस्याकै कारण विद्यालय जाँदैनन् । विद्यार्थीहरूको भनाइअनुसार देशका अधिकांश सार्वजनिक शौचालय शौच गर्न लायक हुन्नन् । सार्वजनिक शौचालयको फोहोर व्यवस्थापन नाजुक छ । 

इन्द्रेनीश्वर माविमै कक्षा १२ मा पढ्ने १७ वर्षीया आल्साङ तामाङ पनि विद्यालयको शौचालय कम प्रयोग गर्छिन् । शौचालयको दुर्गन्धले पढाइमा समेत ध्यान जाँदैन । कहिलेकाहिँ उनलाई लाग्छ– घरको जस्तै सफा शौचालय विद्यालयको किन हुन नसकेको होला ¤ ‘स्कुलमा घरबाट ल्याएको खाजा समेत खान सकिँदैन, हामी अलिक पर गएर खाजा खान्छौँ, आल्साङ भन्छिन्, ‘खाजा खाए पनि पानी पिउँदैनौं, घर पुगेरमात्रै पानी पिउँछौं ।’

करिब ५५० जना विद्यार्थी पढ्ने उक्त विद्यालयमा १० वटा शौचालय छन् ती सबै फोहोर छन् । विद्यालयका प्रधानाध्यापक उमारुद्र बस्नेत शौचालय सफा गर्ने व्यक्ति खटाइएको भएपनि सोचेजस्तो सफा हुन नसकेको बताउँछन् । पानीको व्यवस्था भए पनि ससाना बालबालिकाले जथाभावि शौचालय प्रयोग गर्ने भएकाले पनि फोहोर हुने गरेको उनको भनाइ छ । साना केटाकेटीले शौचालय प्रयोग गर्न नजान्दा बढी फोहोर हुन्छ । सरसफाइको छुट्टै दरबन्दी नै राख्नुपर्छ भन्ने उनलाई लागेको छ । 

बनेपाको चैतन्य माध्यमिक विद्यालयको अवस्था उस्तै छ । कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा पनि ११ वटा शौचालय छन् । यस विद्यालयमा करिब ४०० विद्यार्थी छन् तर उनीहरू नाक थुन्दै फोहोर शौचालयमा पस्न बाध्य छन् । ‘पिसाब रोकेर बस्नै सकिँदैन, जस्तो फोहोर भए पनि गर्ने गरेको छु,’ एक विद्यार्थीले भने । 

धुलिखेलको पूर्ण सञ्जीवनि लङखनामाई माविमा कक्षा ६ मा पढ्ने १२ वर्षीय जीवनलाई पनि विद्यालयको शौचालय सफा लाग्दैन । उनलाई पनि सकेसम्म विद्यालयको शौचालयमा पस्न नपरे हुन्थ्योजस्तो लाग्छ । शौचालय फोहोर भएर गनाउँदा पढ्न मन नलाग्ने उनले बताए ।

‘सरले पढाएको केहि पनि बुझिँदैन । जतिखेर पनि ट्वाइलेट गनाइरहन्छ, हाम्रो कक्षा ट्वाइलेटकै छेउमा छ, धेरै गनाउँछ,’ उनले भने ‘हामी त हातको औँलाले नाक समातेर बस्छौं ।’  

प्रधानध्यापक राजेश श्रेष्ठले विद्यालयमा ससाना बालबालिकाहरू बढी भएकाले शौचालय बढी फोहोर हुने बताउँछन् । उक्त विद्यालयमा करिब ३०० विद्यार्थी छन् । फोहोर शौचालयका कारण छात्राले बढी समस्या भोग्नुपर्छ । उनले छात्राहरू पढाइ छोडेर घर जाने गरेको समेत बताए । 

फोहोर शौचालयले छात्राहरू बढी समस्यामा पर्ने गरेको छ । यसले गर्दा उनीहरूका स्वास्थ्यमा पनि समस्या पर्ने गरेको छ । सरकारी विद्यालयका शौचालय सफा गर्ने उचित व्यवस्था गर्न जरुरी रहेको वातावरण इन्जिनियर डा. नवराज खतिवडा बताउँछन् । विद्यार्थीलाई सरसफाइका लागि शिक्षा दिने विद्यालयकै शौचालय फोहोर हुनु उचित रहेको डा. खतिवडाको भनाइ छ ।  दिसापिसाब च्यापेर बस्दा स्वास्थ्य समस्या सिर्जना हुने भएकाले शौचालय बनाएरमात्रै नपुग्ने र शौचालय सफा राख्ने विषयमा समेत अभियान चलाउन जरुरी रहेको उनको भनाइ छ । उनले शौचालयमा महिला र पुरुषमा भेदभाव रहेको पनि बताए । 

सुविधायुक्त शौचालय बनाउन जरुरी रहेको डा. खतिवडाको भनाइ छ । शौचालयको संख्यामा बढी जोड दिएकाले संख्यासँगै सरसफाइमा पनि सबैको ध्यान जान जरुरी रहको उनले बताए । 

काठमाडौं विश्वविद्यालयका भिजिटर प्रोफेसर सूर्यमान शाक्य बितेका पाँच वर्षको तुलनामा शौचालय विस्तारमा धेरै सुधार देखिए पनि सरसफाइमा कमी देखिएको बताउँछन् । चेतना अभावका कारण सरकारले बनाइदिएको शौचालयमा धान, कोदो, आलु, मकैलगायत अन्नहरू राख्ने गरेको पाइएको समेत शाक्यले बताए । यस विषयमा समेत सबै गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ । 

काठमाडौं विश्वविद्यालयका विभागीय प्रमुख डा. विभूति रञ्जन झाले शौचालय भए पनि सरसफाइतिर कसैको ध्यान जान नसकेको बताए । उनले अपांगता अनुकूल शौचालय बन्न नसक्दा अपांगता भएका व्यक्तिहरूले पीडा भोग्नु परेको पनि उनको भनाइ छ ।   

छात्राको छुट्टै समस्या

पानी नभएको, फोहोर र अव्यवस्थित शौचालयका कारण छात्राहरूले अलग्गै समस्या भोग्नुपर्छ । बनेपाको चैतन्य माविमा कक्षा ११ मा पढ्ने एक छात्रा महिनावारी भएको बेलामा स्कुल जान सक्दिनन् । पढाइमा पनि मन नजाने, पटकपटक शौचालय धाइरहनु पर्ने तर शौचालय फोहोर हुने कारणले आफू समस्यामा पर्ने गरेको उनको भनाइ छ । ‘सामान्य अवस्थामा त पस्न नसकिने शौचालयका महिनावारी भएका बेला कसरी पस्न सकिन्छ ?,’ ती छात्राले प्रश्न गरिन् ।

महिनावारीका समयमा बढी सफाइ आवश्यक पर्छ, पानी चाहिन्छ । स्यानिटरी प्याड फेर्नुपर्छ । शौचालय राम्रो ढोका भएको सुरक्षित हुनुपर्छ । आवश्यकता अनुसारको शौचालय नहुँदा छात्राहरु मर्कामा पर्छन् अनि उनीहरू विद्यालय नै आउँदैनन् । धेरै विद्यालयहरूको समस्या उस्तै छ । 

Source: The Himalayan Times

Link: http://ehimalayatimes.com/samaj/19245

Go to top