स्वचालित शौचालय

काठमाडौं । नेपालमा पहिलो पटक आफैँ चालु हुने ‘स्वचालित’ नामक विद्युतीय शौचालय सञ्चालनमा आएको छ । डोल्पाका ३५ वर्षीय युवा इन्जिनियर रविन्द्र शाहीले दुई वर्ष लगाएर स्वचालित शौचालय तयार पारी सञ्चालनमा ल्याएका हुन् ।

करिव १२ लाख रुपियाँको लागतमा तयार भएको उक्त स्वचालित शौचालयले सरसफाइको काम समय समयमा सबै आफैँ गर्छ । शौचालय प्रयोगकर्ताले शौच गरेको केही बेरमा शौचालय आफैले सफा गर्छ । यस्तो शौचालय सरसफाई गर्न नसक्ने बालबालिका र वृद्धवृद्धाका लागि उमयोगी हुने युवा इन्जिनियर शाहीले बताए । 

उनले इन्टरनेट हेरेको भरमा ख्यालख्यालमै त्यस्तो शौचालय बनाउने निर्णय गरे । शाहीले विस्तारै खोजी गर्दै जाने क्रममा दुई वर्षमा विद्युतीय शौचालय निर्माण गर्न सफल भएको बताए । उक्त शौचालयका निर्माण गर्नको लागि सरकारबाट ९ लाख ८५ हजार अनुदान पाए । बाँँकी रकम आफैले जुटाए ।  

समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोतर गरेका इन्जिनियर शाहीले डोल्पाबाटै एसएलसी पास गरेका थिए । अध्ययनकै क्रममा उनले एउटा गैरसरकारी संस्थामा जागिर पाएका थिए । ‘शौचालय सरसफाइ गर्नुपर्ने जागिर भएकाले पटकपटक शौचालय फोहोरको टिकाटिप्पणी आउने गथ्र्याे । त्यसैबेला मान्छेले सफा गरिराख्नै नपर्ने शौचालय बनाउने सोच बनाएको थिएँ,’ उनले भने ‘इन्टरनेटमा सर्च गरेर हेर्दा बनाउन सकिन्छ जस्तो लागेपछि आफैँमा इन्ट्रेस्टिङ पनि हुँदै गयो । टुक्राटुक्रा जोड्दै जाँदा स्वचालित शौचालय तयार गर्न सफल भएँ ।’ 

उक्त विद्युतीय शौचालय दैनिक तीन सय जनाले प्रयोग गर्न सक्छन् । शौचालय जुनसुकै स्थानमा पनि राख्न सक्ने उनले बताए । उनले अब नयाँ मोडलको शौचालय बनाउने निर्णय गरेका छन् । दैनिक एक हजार जनाभन्दा बढीले सार्वजनिक स्थलमा शौचालय प्रयोग गर्न सक्ने नयाँ प्रविधिको शौचालय बनाउने तयारीमा लागेको शाहीले बताए । 

उनका अनुसार अब बन्दै गरेको नयाँ मोडेलको विद्युतीय शौचालय अपांगता अनुकूल, बालमैत्री, वृद्धवृद्धामैत्री सबैले सजिलै प्रयोग गर्न मिल्ने खालको हुनेछ । महिला र पुरुष दुवैको लागि बराबर संख्यामा शौचालय बन्ने भएकले यसमा राज्यको पनि सहयोगको आवश्यक पर्छ । झण्डै १६ लाख रुपियाँको लागतका उक्त नयाँ मोडलको शौचालय तयार हुने उनले बताए । उक्त शौचालय दैनिक १२ सय जनाले शौचालय प्रयोग गर्न मिल्ने उनको भनाइ छ । 

Source: The Himalayan Times

Link: http://ehimalayatimes.com/samaj/19247