काठमाडौंमा ई—ट्वाइलेट कि स्मार्ट

मानिसले औसतमा हरेक ३ घण्टामा पिसाव फेर्नु पर्ने भएकोले यस अनुपातमा सार्वजनिक शौचालय निर्माण गर्न सुझाव

चन्द्रमणि भट्टराई
चैत्र २८

काठमाडौँ । काठमाडौंका सार्वजनिक शौचालय, ई—ट्वाइलेट कि स्मार्ट, महानगरले छलफल शुरु गरेको छ । परम्परागत शौचालय व्यवस्थापन जनस्वास्थ्य र सहरी मापदण्ड अनुकुल नभएको चर्चाले दोहोरिँदै गुनासो आउने क्रम चलेकै बेला, सार्वजनिक निजी साझेदारी इकाइले यस्तो बहस चलाएको हो ।

खानेपानी र सरसफाइका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था गुथीसँगको सहकार्यमा अघि बढेको छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्मार्ट र ई ट्वाइलेटका भिन्नता र उपयुक्तताका आधारमा महानगरले सार्वजनिक शौचालय निर्माण गर्ने बताउनु भयो । पहुँच आधारमा उपयुक्त, सहरी मापदण्ड र सञ्चालन दिगोपनालाई आधार बनाएर हाम्रो काम अघि बढ्छ उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

अहिले काठमाडौंका सार्वजनिक शौचालय सञ्चालनमा गुनासै गुनासा छन् । उपभोक्ताहरु गुनासो गर्दै भन्छन् — सेवा सहज छैन, साह्र फोहोर छ, महिलामैत्री भएन, अपाङ्गमैत्री भएन । यता शौचालय सञ्चालक गुनानो गर्दै भन्छन् — शौचालयभित्रका धारा, विजुलीका बल्व, सावुन, टावेलजस्ता सवै सामान हराउँछन् । पानी सहज छैन । महिला शौचालयमा स्यानिटरी प्याड फालिदिन्छन् । पैसा तिर्दैनन् ।

सञ्चालक र उपभोक्ताको यी गुनासा कसरी समाधान गर्न सकिएला? गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य भन्नुहुन्छ — शौचालयलाई सेवाका रुपमा लिनुपर्छ । त्यहाँ व्यापारिक गतिविधिभन्दा सरसफाइ र स्वास्थ्यसँग सम्बन्धित सामाग्री विक्री वितरण गरेर आय आर्जन गरेर सञ्चालन व्यवस्थापन दिगो बनाउन सकिन्छ । उहाँका अनुसार अहिले सहरका मुख्य स्थानमा भएका शौचालयहरु सडक पेटीमा व्यापार गर्ने व्यापारीका सामान राख्ने र दिशा पिसाव गर्ने दुवै काममा बराबरी प्रयोग भएका छन् ।

सार्वजनिक शौचालयको गुणस्तर कायम गर्न पानी हुन जरुरी छ । शौचालयभित्र हावा आवतजावत गर्ने स्थान हुनुपर्छ, झोला वा कपडा झुण्ड््याउने ठाउँ हुनुपर्छ । मानिसले औसतमा हरेक ३ घण्टामा पिसाव फेर्नु पर्ने भएकोले यस अनुपातमा सार्वजनिक शौचालय निर्माण गरिनुपर्छ । विज्ञहरुले सुझाव दिएका छन् । यसकालागि कुशल व्यवस्थापन अर्थात् आवश्यक पूर्वाधारको उपयुक्त चाँजो मिलाइएको स्मार्ट शौचालय पहिलो आवश्यकता हो ।

यस प्रकारको शौचालय प्रयोग गर्ने बानी बसिसकेपछि स्वचालित अर्थात् मानिसलेभन्दा बढी प्रविधिले व्यवस्थापन गर्ने खालको शौचालय बनाउनु उपयुक्त हुन्छ । प्राविधिकहरुले काठमाडौंको सामाजिक संरचना, मानवीय आचरण र आवश्यकतालाई आधार बनाएर सुझाव दिएका हुन् । यसरी प्राप्त सुझाव महानगरको नीति निर्माणमा सहयोगी छन् । नागरिकसँग जनप्रतिनिधिले गरेका अपेक्षा पूरा गर्न यसलाई आधार बनाउन सकिन्छ । महानगरको सूचना प्रविधि समितिका संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोलको भनाइ छ । 

 

महानगरका प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्ले, मानिसहरु कस्तो खालको शौचालय प्रयोग गर्न चाहन्छन्? अध्ययन गरेर निर्णयमा पुग्नु पर्ने बताउनुहुन्छ भने, वातावरण र जनस्वास्थ्य संस्था इन्फोका कार्यकारी निर्देशक विपिन डंगोल भन्नुहुन्छ — शौचालय व्यवस्थापन गरेर मात्र हुँदैन । शौचालयबाट उत्पादन भएको फोहोर पानी र दिशा व्यवस्थापन गर्ने विधि नबनुञ्जेल, एकातिरबाट फोहोर बटुलेर अर्कोतिर थुपार्नु बाहेक केही प्रगति नहुने बताउनुहुन्छ । उहाँका अनुसार काठमाडौं उपत्यकामा दैनिक, दिशा (शौचालय सफा गर्ने) ओसार्ने ४० वटा ट्रकले शौचालयको फोहोर ओसारेर खोलामा फालिरहेका छन् भने, ढलबाट निष्कासन हुने फोहोर पनि खुल्ला स्थान वा नदीमा मिसिएको छ । जनस्वास्थ्य, वातावरण र सहरी सभ्यताका कोणबाट यो अस्वभाविक दृश्य हो ।

सार्वजनिक शौचालयको व्यवस्थापन व्यक्तिले निर्वाध बाँच्न पाउने अधिकारसँग जोडिएको छ, यति मात्र होइन, यसको व्यवस्थापन सहरी सभ्यताको सूचक पनि हो, त्यसैले यसको प्रभावकारिता बढाउन लगानी र सहभागिता बढाउनु पर्छ । विल गेट्स फाउन्डेसनका कार्यक्रम अधिकृत डा रोशनराज श्रेष्ठको धारणा छ । यसलाई व्यवस्थापन गर्न नीतिगत मार्ग दिगो प्रभाव राख्ने खालको हुनुपर्छ, यो कामको नेतृत्व महानगरले गर्न सक्छ, उहाँको विश्वाश छ ।

काठमाडौंको शौचालयको व्यवस्थापनलाई कमजोर देख्ने, इन्टरनेशनल रेन वाटर हार्भेस्टिङ् एलायन्सका अध्यक्ष हान हेन्जनेन भन्नुहुन्छ — म २०३९ सालमा पहिलो पटक नेपाल आउँदा काठमाडौंको चक्रपथ भित्रै पानी प्रशोधन स्थलहरु थिए । समय वित्दै जाँदा यसको संख्या र गुणस्तर बढ्दै जानु पर्नेमा अहिले शुन्यतामा पुगेको छ । यो सरसफाइ अवस्थाको सूचक हो ।

अहिले सहरका मुख्य स्थानमा भएका शौचालयहरु सडक पेटीमा व्यापार गर्ने व्यापारीका सामान राख्ने र दिशा पिसाव गर्ने दुवै काममा बराबरी प्रयोग भएका छन्

अहिले काठमाडौंमा भएका सार्वजनिक शौचालय परम्परागत रुपमा सञ्चालित छन् । उचित व्यवस्थापनको अभावमा उपभोक्ताहरु यसको प्रयोग गर्नुभन्दा केही समय दिशा पिसाव रोकेर घरमै पुँगू भन्ने अवस्थामा छन् । अर्कोतिर व्हिल चेयरको प्रयोगकर्ता, दृष्टिविहिनजस्ता शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु शौचालयसम्म पुग्नै सक्दैनन् । शौचालय फोहोर भएकाकारण महिलाहरुलाई झनै सास्ती छ । त्यसैले पनि सार्वजनिक शौचालय सञ्चालनको विद्यमान अवस्थामा सुधार आउन जरुरी छ । यसमा महानगरले अघि बढाएको वहसले व्यवहारमा कस्तो परिवर्तन ल्याउला, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।