छतको पानी सडकमा खसाल्नेलाई पाइप हटाउन ७ दिने समय

आकाशे पानीलाई संकलन गरेर पुन प्रयोग गर्न वा जमिनमुनि पठाउने विकल्पमा काम गर्न आग्रह

 चन्द्रमणि भट्टराई
जेठ २४

काठमाडौं । काठमाडौं महानगरको वडा नंं २ ले घरधनीलाई छतको पानी सडकमा खसाउने पाइप हटाउन ७ दिने समय दिएको छ । जेठ २१ गते वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरधनीका नाममा काट्नु भएको पत्रमा भनिएको छ — “तपाईको घरको छानाको पानी पाइप राखी सडकमा खसालिएको देखिएको र सो कारण सडक भत्किनुका साथै, बाटोमा हिँड्ने बटुवालाई समेत असुविधा हुने भएको हुँदा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र आफैं हटाउनु हुन जानकारी गराउँदछु ।” सोही पत्रबाट तोकिएको अवधिमा घरधनीले पाइप नहटाए, वडाले गएर पाइप हटाइदिने र यसरी हटाउँदा लागेको खर्च घरधनीबाट असुलउपर गरिने व्यहोरा उल्लेख छ ।

 

वडाध्यक्ष श्रेष्ठका अनुसार पहिलो चरणमा २३ जना घरधनीलाई पत्र काटिएको छ । यसपछि क्रमशः अरु घरधनीकोमा पुग्ने वडाको योजना छ । पहिलो चरणमा पत्र काटिएका घरधनीहरु सीमा गल्ली, खुर्सानीटार मार्ग, श्री मार्ग, सुजन मार्ग, शिवभक्त मार्ग, निश्चल मार्ग, कैलाश मार्गका घरधनी हुन् ।

वडाध्यक्ष श्रेष्ठलाई बुधबार कार्यकक्षमा भेट्दा उहाँ वडा सदस्य र कर्मचारीसँग आकाशे पानी व्यवस्थापनको तयारी गरिरहनुभएको थियो । तयारीकै क्रममा, आकाशे पानी सडकमा नखसाउनु भन्दै हुनुहुन्छ, अनि आकाशबाट परेको पानी के गर्ने भनेर केही विकल्प दिनुभएको छ? भनेर सोधिएको प्रश्नमा वडाध्यक्ष श्रेष्ठले भननुभयो — आकाशे पानी संकलन गरेर पुन प्रयोग गर्न सकिन्छ । यसो गर्न नसके कम्तीमा छतको पानी संकलन गरेर जमिनमुनि पठाए पनि जमिन पुन भरण हुन्थ्यो । हामीले वडाबासीलाई भनिरहेका छौं — आकाशबाट परेको पानी ढलबाट नदीमा नपठाउनोस् ।

काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन गर्न घरधनीलाई प्रोत्साहन गर्न, आकाशे पानी संकलन प्रणाली राख्ने घरधनीलाई नक्सापास दस्तुरमा १० प्रतिशत छुटेको व्यवस्था गरेको् छ । तर यो सुविधा लिन वडा नं. २ मा कोही पनि घरधनी आउनुभएको छैन । यसको पछाडि, घरधनीसम्म महानगरका नीतिगत व्यवस्थाको पर्याप्त पहुँच नभएको वा प्राप्त पहुँचप्रति महानगरबासीको ध्यान नगएको, घरधनीलाई नक्सापास सम्बन्धी व्यवस्थाका विषयमा परामर्शदाताले सही सूचना नदिएको वा परामर्शदाता आफैंं व्यवस्थाका विषयमा सचेत नभएको पक्षलाई महत्वका साथ हेर्न सकिन्छ ।

 

 

 

Go to top