‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

बुधबार, ३० जेठ २०७५, १८ : ३० |  रोहित राई


केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार परिसरमा रिचार्ज पिट निर्माणको तालिम लिदै डकर्मीहरु । तस्बिर:नागरिक

धरान– क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै जाने र सतहमा बाढी, भुकटान जस्ता विपत्ति न्यूनीकरण गर्न धरान उपमहानगरपालिकाले रिचार्ज पिट(खाल्डो)विना घरनक्सा पास नगर्ने कडा नीति लागु गरेको छ।

 

धरानजस्तो तीब्र शहरीकरण भइरहेको ठाउँहरु क्रंक्रिटका घर एवं भौतिक संरचनाहरुले ओगट्दा बर्षातको पानी जमिन मुनि जान नपाई ड्रेनमार्फत खोलामा पुग्ने र त्यसले बाढीको रुप लिएर घर, जग्गा बगाउने एवं कटान गर्नेजस्ता विपत्ति निम्त्याउने गरेको वातावरणविदहरुको भनाई छ । ‘अब अण्डर ग्राउण्ड वाटर रिचार्ज पिट विनाको घरनक्सा पास नै हुदैन । पहिला पनि थियो, तर अब कडाई गरिन्छ, र अनिवार्य हुन्छ,’ धरान उपमहानगरपालिकाका घरनक्सा शाखा प्रमुख बालकृष्ण कार्कीले भने । उनका अनुसार बर्षातमा धरान सधै खहरेको बाढीले जोमिखमा पर्छ । यहाँका खहरे हुदै बगेर गएको पानीले दक्षिणको इटहरी, पकली, बक्लौरीलगायत ठाउँ पनि बाढीको प्रकोप र डुबानमा पर्ने गरेको छ ।
क्रंक्रिटले जमिन मुनि पानी सोसिन नदिई पानीको स्रोत रित्याउने र जमिनको तापक्रम पनि बढाउछ । ‘नयाँ घरले अण्डर ग्राउण्ड वारट रिचार्ज पिट(पुर्नभरण खाल्डो) अनिवार्य बनाउनुपर्छ, यसले जमिनमुनिको पानीको स्रोत सुक्न दिदैन,’कार्कीले भने,‘रिचार्ज पिटमार्फत बर्षातको पानी, घरमा प्रयोग गरिएको पानी जमिन मुनि जादा रुखविरुवा हराभरा भइरहन्छ, पानीको स्रोत, ढुंगे धारा, कुवा पनि सुक्दैन ।’ साउद एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडिज(सियास)ले पानी श्रृंखलामार्फत निरन्तर पहल गरेपछि धरानले रिचार्ज पिटको अवधारणालाई नीतिगतरुपमा नै लागु गरेको हो । सियासले धरानमा जलवायु परिवर्तन, वातावरण संरक्षण र पानीको स्रोत सुक्न नदिन पानी श्रृंखलामार्फत सरोकारवालाहरुमाझ निरन्तर अन्र्तक्रिया र छलफल गराइरहेको छ।

खानेपानी समस्या(संकट) समाधान गर्न एसियाली विकास बैंकको ऋण तथा अनुदानमा खानेपानी आयोजना सञ्चालन भइरहेको धरानको लागि रिचार्ज पिट अति आवश्यक छ । आयोजनाले चारकोसे जंगलमा जमिन मुनिको पानी बोरिङ गरेर नगरबासीलाई वितरण गर्ने भएकोले रिचार्ज नगरे भुमिगत पानीको स्रोत सुक्ने चेतावनी वातावरणविदहरुले दिदै आएका छन् । उपमहानगर पनि यसमा सहमत छ । ‘हामीले त जमिन मुनिको पानी बोरिङ गरेका छौ, रिचार्ज गर्ने हो भने वाटर टेवल सुक्दै जान्छ । त्यो टेवललाई माथि उठाउन पनि पिट अनिवार्य बनाउनुपर्छ,’उनले भने ।

सियासका अनुसन्धानकर्ता कस्तुपराज न्यौपाने धरानका पक्की घरहरुले निलो छाना राखेर आकाशे पानीलाई पाइपमार्फत ड्रेनमा पुर्याउन गर्छन् । यसले सामान्य अवस्थाभन्दा छिटो आकाशे पानी ड्रेन हुदै खहरे खोलामा पुगेर बाढीको रुप लिने गरेको उनको भनाई छ । ‘क्रंक्रिट घर र निलो छानाबाट पाइपले थोरै पानी पर्दा पनि छिटो बगेर ड्रेन हुदै खोलामा पुग्छ, र बाढीकोरुप लिन्छ,’न्यौपानेले रिचार्ज पिटको फाइदाबारे भने,‘आकाशे पानी वा घरभित्रको पानी जमिनमुनि खसाउन सक्दा बाढीको प्रकोप कम हुन्छ, जमिन भित्रको पानीलाई पनि भरण गर्ने भयो । पानी जमिन मुनि जादा चिस्यान बढेर बोटविरुवा हराभरा हुन्छ, भुई चिसो भएर अहिले जस्तो तापक्रम पनि बढ्न दिदैन ।’

 

मिस्त्रीलाई रिचार्ज पिट तालिम


घर बनाउन डिजाइनमै अनिवार्य अण्डर ग्राउण्ड वाटर रिचार्ज पिट(पुर्नभरण खाल्डो) राख्नुपर्ने नीति ल्याएपछि धरान उपमहानगरपालिकाले यहाँका डकर्मी(मिस्त्री)हरुलाई तालिम दिएको छ । अघिल्लो पटक उपमहानगरका प्राविधिक र घरनक्सा डिजाइन गर्ने कन्सल्टेन्सीका प्राविधिकहरुलाई जमिन मुनि पानी कसरी पठाउने भनेर प्रशिक्षण दिइएको थियो । उपमहानगर र खानेपानी व्यवस्थापन बोर्डले सोमबार भने ३० भन्दा बढी घर निर्माणमा प्रत्यक्ष संलग्न हुने डकर्मीहरुलाई रिचार्ज पिट बनाउने तालिम दिएको हो।

रिचार्ज पिट बनाएपछि धरानका डकर्मीहरु

 

सियासको व्यवस्थापनमा भएको तालिममा उनीहरुलाई रिचार्ज पिटको महत्व र आवश्यकताबारे बुझाउनुका साथै केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा रिचार्ज पिट निर्माण गरेर नै व्यवहारिकरुपमा सिकाइएको थियो । ‘पहिला नर्मल खालको मात्र खाल्डो बनाइन्थ्यो, अब भने जमिन र घरको अवस्था हेरेर बनाइन्छ,’प्रशिक्षकसमेत रहेका घरनक्सा प्रमुख कार्कीले भने,‘धरानको लागि, वातावरणको लागि यो अतिमहत्वपुर्ण कदम हो ।’ सियासका अनुसन्धानकर्ता न्यौपाने पनि धरानजस्ता क्रंक्रिटका घरहरु बढ्दै गएको सहरमा रिचार्ज पिट अनिवार्य गर्नुपर्ने बताउछन्।

 

तालिम समापनमा पुगेकी उपप्रमुख मञ्जु भण्डारी(सुवेदी)ले डिजाइनमा नै रिचार्ज पिट भएपनि अनिवार्य लागु हुने बताइन् । साथै उनले डकर्मीहरुले नै घरधनीलाई पनि रिचार्ज पिटको महत्वबारे सम्झाएर अनिवार्य बनाउनुपर्ने वातावरण सृर्जना गर्न आग्रहसमेत गरिन् । घरनक्सा शाखा प्रमुख कार्कीका अनुसार धरानमा ४१ हजार हाराहारीमा पक्की घर निर्माण भएका छन् । बसाई सरेर आउनेको संख्या पनि बढीरहेकोले विस्तारै जमिनलाई क्रंक्रिटले छोप्दै लगेकोले जमिन मुनिको स्रोत रिचार्ज हुन नपाउने चिन्ता पनि बढ्दो छ।
 


कसरी बन्छ रिचार्ज पिट ?


पुर्नभरण(रिचार्ज) पिट बनाउदा घरको जगभन्दा २ मिटर टाढा बनाउनुपर्छ । पिटको लागि २ मिटर गहिरो खाल्डो खन्नुपर्छ भने १ मिटर लम्बाई र १ मिटर चौडाई हुनुपर्छ । करिब २ क्युबिक मिटर आयतन रहने खाल्डोमा १ हजार वर्गफिट क्षेत्रफलसम्म भएको घरको छतको पानी हाल्न सकिने प्राविधिकहरु बताउछन् । छतको क्षेत्रफल बढेसँगै पिटको पनि लम्बाई र चौडाई बढाउनुपर्ने हुन्छ ।
    खाल्डो खनिसकेपछि भुईमा ढुंगा, ग्रावेल(गिटी), मोटो वालुवा क्रमशः मुनिबाट राख्नुपर्छ । त्यसमाथि जमिनको सतहसम्म इटाको पर्खाल लगाउने र भित्रबाट प्लस्टर गर्नुपर्छ । छतको पानीलाई पाइपको माध्यमबाट रिचार्ज पिटमा पुर्याएर ढकनी लगाउनुपर्छ । यो पुर्नभरण संरचनामा प्रदुषित पानी जान दिनु नहुने र बर्षा लाग्नुभन्दा पहिला सफा गरे सहजरुपमा पानी जमिन मुनि पुग्ने प्राविधिकहरु बताउछन्।

 

Source : Nagarik News