स्मार्ट पार्किङ र इ–ट्वाइलेट योजना घोषणामै सीमित

शुक्रबार, ०१ असार २०७५, ०८ : ४८ |  हिमाल लम्साल  

काठमाडौं महानगरमा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना कागजमा नै सीमित भएको छ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना सार्वजनिक गरेको थियो।

 

जसअनुसार महानगरका सार्वजनिक स्थानहरूमा ५०-५० स्मार्ट सार्वजनिक शौचालय र इ–ट्वाइलेट निर्माण गर्ने उल्लेख छ । तर, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको एक वर्ष बित्न लाग्दा पनि काम सुरु हुन सकेको छैन ।सम्पदा अभियन्ता तथा स्थानीय गणपतिलाल श्रेष्ठले महानगरपालिकाले सस्तो लोकप्रियताको लागि नयाँ योजना घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले स्मार्ट सार्वजनिक शौचालय र इ–ट्वाइलेटको योजना अलपत्र रहेको बताए।

 

‘महानगरपालिकाले सस्तो लोकप्रियतका लागि आर्कषक नीति तथा कार्यक्रम ल्याउँछ । तर, कार्यान्वयनमा कहिल्यै ध्यान दिँदैन,’ उनले भने, ‘खुला र स्वच्छ प्रतिस्पर्धाबाट काम गर्न महानगरलाई कसले रोक्न सक्छ । कमिसनकै लागि र्याल चुहाउने प्रवृत्तिले निर्माणमा ढिलासुस्ती भएको हो ।’काठमाडौंका सार्वजनिक तथा विश्व सम्पदामा सूचीकृत स्थानमा सार्वजनिक पार्किङ तथा शौचालय नहुँदा आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आइरहेका छन् ।

‘काठमाडौंमा मनोरेल र स्मार्ट सिटी बनाउने भनेर ठुल्ठूला भाषण मात्रै गर्छन् । तर, सार्वजनिक स्थलमा शौच आउँदा कहाँ जाने भन्ने कसैले ख्याल गरेको देखिन्न,’ बानेश्वरका अमिन शाक्यले भने, ‘स्मार्ट सिटी मात्रै होइन मेयरसा’प, अब सार्वजनिक स्थलमा सहजै शौच गर्ने शौचालय चाहियो।’

काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने नीति तथा कार्यक्रमलाई व्यावहारिक रूपमा उतार्न समय लाग्ने बताए । ‘पर्याप्त तयारी नगरिकनै नीति तथा कार्यक्रम ल्याइन्छ,’ उनले भने, ‘नीति तथा कार्यक्रम ल्याएर मात्रै अध्ययन गर्ने प्रवृत्तिले नै ढिलासुस्ती हुने गरेको छ ।’ उनका अनुसार काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ र शौचालय निर्माण गर्ने योजनालाई प्रथामिकतामा राखेर अध्ययन गरिरहेका छौं।

 

काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना सार्वजनिक गरेको थियो । तर, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको एक वर्ष बित्न लाग्दा पनि काम सुरु हुन सकेको छैन।

‘स्मार्ट शौचालय निर्माणका लागि दुई पटक टेन्डर गरिसक्यौं । तर, काम गर्न सक्ने ठेकेदार कम्पनी आएकै छैनन्,’ उनले भने, ‘आगामी साउनभित्र केही मापदण्ड फेरबदल गरेर फेरि टेन्डर प्रक्रिया गर्नेछौं ।’

उपत्यकाको अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न भन्दै महानगरले स्मार्ट पार्किङको योजना अघि सारेको थियो । नीति तथा कार्यक्रममा न्युरोडको धर्मपथ र टेकुमा स्मार्ट सवारी पार्किङ बनाइने योजना छ । काठमाडौं महानगरपालिका सार्वजनिक तथा निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले स्मार्ट पार्किङबारे अध्ययन भइरहेको दाबी गरे । ‘स्मार्ट पार्किङको अध्ययन भइराखेको छ । अबको केही समयभित्रै डिजाइन तयार पारेर ठेक्का प्रक्रिया अगाडि बढाउनेछौं,’ उनले भने, ‘पहिलो चरणमा ¥याम मोडेलको स्मार्ट पार्किङ बनाइनेछ । जसमा एक सय ५४ चारपांग्रे सवारीसाधन पार्किङ गर्न सकिनेछ ।’

‘स्मार्ट पार्किङ’ बनाउन धर्मपथमा एक रोपनी ११ आना र टेकुमा सात रोपनी जग्गा उपलब्ध गराउने महानगरले जनाएको छ । महानगरपालिकाले आर्थिक वर्ष ०७४–७५ को नीति तथा कार्यक्रममा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ समावेश गरिएको छ । महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरले स्मार्ट पार्किङ उच्च प्राथमिकतामा राखेको बताए । ‘उपत्यकामा जताततै अव्यवस्थित पार्किङले सवारीसाधन अस्तव्यस्त देखिएको छ ।

त्यसैले नीति तथा कार्यक्रममा नै स्मार्ट पार्किङको योजना अघि सारेका छौँ,’ उनले भने, ‘स्मार्ट पार्किङको डिजाइन भइरहेको छ । छिट्टै डिजाइन तयार पारेर निर्माण कार्य अघि बढाइनेछ ।’ महानगरका प्रवक्ता कार्कीले समयमै डिजाइन तयार भएर काम अघि बढेमा धर्मपथमा ६ महिनाभित्रै पार्किङ स्थल तयार हुने दाबी गरेका छन् । ‘स्मार्ट पार्किङस्थल बनेसँगै सडकमा हुने अनधिकृत पार्किङ हट्नेछ,’ उनले भने, ‘सवारी आवागमनमा समेत सहज हुनेछ ।’ महानगरपालिकाले न्यूरोडको धर्मपथमा अटोमेटेड रोटरी पार्किङको प्रस्ताव गरेको छ ।

उक्त पार्किङमा १ सय ५४ वटा सवारीसाधन पार्किङ गर्न सकिनेछ । विद्युतीय लिफ्टको आधारमा सवारीसाधन तला–तलामा पार्किङ गर्न सकिनेछ । सवारीसाधन एक आपसमा रोटेड गरेर तलमाथि गर्न सकिनेछ । प्रवक्ता कार्कीले उपत्यकामा व्यवस्थित पार्किङ नहुँदा धेरै समस्या देखिएको बताउँछन् ।

‘जनताले पनि सडकमा जथाभावी पार्किङ गर्नुभएन,’ उनले भने, ‘महानगरले स्मार्ट पार्किङ बनाउने योजना अघि बढाइसकेको छ ।’ पार्किङस्थल बनेसँगै कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्कलगायत स्थानमा हुने अनधिकृत पार्किङमा कमी आउने दाबी गरे । नीति तथा कार्यक्रममा भित्रि सहरका लागि तयार पारिने बृहत्तर यातायातअनुरूप निर्देेशित हुने उल्लेख गरिएको छ ।

महानगरभित्रको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन ट्राफिक नियमको कडाईका साथै कार्यान्वयमा जोड दिइनेछ । त्यसैगरी अनियन्त्रित र अव्यवस्थित पार्किङ व्यवस्थालाई सुधार गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । अहिले पनि बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । नियम मिचेको देख्दादेख्दै पनि ट्राफिक प्रहरीले भने कारबाही गर्ने गरेको छैन । वागबजार क्षेत्रमा सडकमै गरिएको पार्किङले हिँडडुल गर्न समस्या भएको पैदलयात्रु हरिश्याम अमात्यले बताए।

‘बागबजारमा अस्तव्यस्त पार्किङले खुट्टा टेक्ने ठाउँ समेत हुँदैन,’ उनले भने, ‘सवारीसाधनसँग ठोक्किँदै हिँड्नुपर्ने बाध्यता छ ।’ उपत्यकामा सडकपेटी छेकेर गरिने पार्किङले आउजाउ गर्न निकै समस्या भएको यातायात अधिकारकर्मी रामबहादुर थापा बताउँछन् । ‘सडकपेटी गाडी नै गाडीले भरिएका हुन्छन्, कहिलेकाहीँ त खुट्टा टेक्ने ठाउँ समेत हुँदैन,’ उनले भने, ‘अनधिकृत पार्किङ गरेका सवारीसाधन ट्राफिक प्रहरीले पनि नदेखेजस्तो गरिरहेका हुन्छन् ।’

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी निरीक्षक विदुरकुमार थापा भित्रि सहरका व्यापारीले अन्डरग्राउन्ड पार्किङ नै भाडामा प्रयोग गरेकाले समस्या भएको बताए । ‘केही व्यापारीले अन्डरग्राउन्ड पार्किङस्थललाई कमाइ खाने भाँडो बनाइरहेका छन्,’ उनले भने, ‘जसले भित्रि क्षेत्रमा पार्किङ स्थल अभाव भइरहेको हो।’

यस्तो छ महानगरले प्रस्ताव गरेको शौचालय

काठमाडौं महानगरपालिकाले प्रस्तावित गरेको आधुनिक शौचालय रोटोमोल्डिङ प्रविधिमा आधरित हुनेछ । सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख काफ्लेका अनुसार अत्याधुनिक शौचालय टिकाउ र मजबूत हुनुका साथै सूर्यबाट आउने हानिकार यूभी विकिरणहरूबाट सुरक्षित छ ।

‘आधुनिक प्रविधिमा आधारित शौचालय एक सय १० किलोग्रामको हुनेछ । जुनसुकै सार्वजनिक स्थलमा समेत राख्न सकिनेछ,’ उनले भने, ‘शौचालयमा पानीको ट्यांकीको साथसाथै फोहोर संकलन गर्ने टयांकी समेत हुनेछ ।’ उक्त शौचालय एक सय १० किलोग्रामको हुनेछ । त्यसैगरी फोहोर ट्यांकीको क्षमता दुई सय ९० लिटरको हुनेछ । उक्त शौचालयमा सौर्य ऊर्जाबाट चल्ने बत्ती तथा भेन्टिलेसन पुरुषहरूको लागि युनिरल पनि जडान गरिएको हुन्छ । हात हुने, बेसिन ट्वाइलेट पेपर स्टयान्ड ऐना लगायतका सामग्री हुनेछ।

पर्याप्त स्रोत साधन छैन : ट्राफिक

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकामा सवारीसाधन पार्किङ गर्ने स्थल नभएकाले जथाभावी सडकमा नै पार्किङ हुने गरेको बताउँछन् । ‘उपत्यकामा सवारीसाधन संख्या बढेकोबढ्यै छ, पर्याप्त पार्किङ स्थल नै छैन,’ उनले भने, ‘जथाभावी पार्किङ गर्नेलाई जरिवाना रकम कम हुँदा अनधिकृत पार्किङ बढेको हो ।’ उनका अनुसार अनधिकृत पार्किङ गर्नेलाई एक हजार रूपैयाँ जरिवाना गर्न सकिन्छ ।

‘जहाँ खाली देख्यो, त्यही पार्किङ गर्ने समस्या देखिएको छ,’ उनले भने, ‘ट्राफिक नियमअनुसार सडकमा पार्किङ गर्न पाइँदैन । तर, पर्याप्त पार्किङस्थल नहुँदा समस्या भइरहेको छ ।’
जभाभावी पार्किङ गर्ने २९ हजार चालक कारबाहीमा

महानगरीय ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ६ लाख ३९ हजार ६ सय ११ सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५ सय ३३, जथाभावी पार्किङ गर्ने २९ हजार ८० र मापसे गरी सवारी चलाउने २८ हजार आठ सय ९६ कारबाहीमा परेका हुन् ।

महाशाखाले आर्थिक वर्ष २०७२ ट्राफिक नियम उल्लंघन गर्ने पाँच लाख ४८ हजार सात सय ७० सवारी चालकलाई कारबाही गरेको थियो । महानगरीय ट्राफिक प्रहरीसँग जथाभावी पार्किङ गरिएका सवारीसाधन उठाउने पर्याप्त र्याकर समेत छैन । काठमाडौं महानगरपालिकासँग भने अनधिकृत रूपमा पार्क गरेका मोटरसाइकल उठाउने दुईवटा गाडी छन् । महाशाखासँग चारपांग्रे सवारी उठाउने एउटा ¥याकर मात्रै छ । ट्राफिक प्रहरीसँग अनधिकृत रूपमा पार्किङ गरिएका चारपांग्रे सवारी उठाउने ¥याकर नभएकाले ‘ह्विल लक’ गर्दै आइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

source: Nagarik News

 

Go to top