बोरिङ गर्न छाडे ढुङ्गेधारामा २४ सै घण्टा पानी

ललितपुर : ऐतिहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठले बोरिङ गर्न बन्द गरेको एक बर्ष भित्र ललितपुरको ढुङ्गे धारामा पानी बहने बताउनुभएको छ । सिथी नखः पर्वको अवसरमा ललितपुर महानगरपालिकाको वडा नं. १६ मा भएको कार्यक्रममा श्रेष्ठले ढुङ्गे धाराकै मुहानमा बोरिङ गरेकाले ढुङ्गे धाराहरु सुक्दै गएको बताउनुभयो ।

 

ललितपुर उपमहानगरपालिका रहँदाको अवस्थामा ६० वटा ढुङ्गेधारा रहेको ललितपुरमा महानगरपालिका भएपछिको क्षेत्रका ढुङ्गेधारा गणना गर्न बाँकी रहेको उहाँले बताउनुभयो । काठमाडौ उपत्यकामा ढुङ्गेधाराहरु बन्ने क्रम लिच्छविकालीन समय देखि नै शुरु भएको र मल्लकालीन समयमा धेरै बनेको उहाँले चर्चा गर्नुभयो । शाह वंशको समयमा भने ऐतिहासिक ढुङ्गेधाराहरु नासिन थालेको उहाँको भनाई थियो ।

‘शाह वंशको समयमा भीमसेन थापाको पालामा सुन्धारामा एउटा ढुङ्गेधाराको निर्माण भएको देखिन्छ ती बाहेक बनाउनुको साटो भत्काउने काम भन्दा अरु भएको इतिहास छैन‘ उहाँले भन्नुभयो ।

परम्परागत ढुङगे धारा संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम ललितपुर महानगरपालिकाको सम्पदा संरक्षण पुनः निर्माण केन्द्रले आयोजना गरेको हो ।

source: Washkhabar