आफै सफा हुने शौचालय बनाउने को हुन्, यी युवा ?

नेपालको पहिलो प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणमा जाँदा आफै सफा हुने शौचालयमा दिसा गर्नुभएको कुरा कहिलेकाहीं चुट्किला भन्ने शीलशीलामा सुन्नु भएकै होला ? यो कति हदसम्म सत्य हो वा हसाउने मसला बनाउन मात्र यसो भनिएको हो ? त्यो त भन्नेले नै जानुन् ।

त्यत्तिबेला सुनेको कुरा अहिले भने सत्य साबित भएको छ । त्यो पनि बेलायतमा होइन, नेपालमै । सुन्न, हेर्न, देख्न मात्र होइन, अबको केही समयपछि त तपाई आफैले प्रयोग गर्न पाउनुहुन्छ । यस्तो शौचालयमा दिसापिसाब गरेपछि मानिसले सफा गरिरहनु पर्दैन । शौचालय आफैले स्वचालित तरिकाले सफाइ गर्छ ।

 

आफै सफा हुने शौचालय बनाउने युवा हुन् डोल्पाका रबिन्द्र शाही । उहाँले आफै सफा हुने शौचालय बनाउन निक्कै मिहेनत गर्नुभएको छ । गैरसरकारी संस्थाको जागिर र पद त्याग्नु भएको छ । इन्टरनेटबाट डाटा संकलन गरी फिल्डको कर्मचारीले पठाएको तथ्यांक केलाएर प्रतिवेदन बुझाउन छाडेर स्टील कारखानामा स्टील काट्नु भएको छ ।

कुरा सन् २००४ तिरकै हो । उहाँ त्यत्तिबेलै देखि गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । डोल्पा सदरमुकाम दुनैमा सार्वजनिक शौचालय बनाउने विषयमा भेटघाटहरु हुन्थे । तर अन्त्यमा निष्कर्ष बिनै टुङ्गिन्थ्यो । सदरमुकाममा सार्वजनिक शौचालय बनाउने र स्रोत जुटाउने विषयमा पनि सरोकारवाला सबै सहमत हुन्थे तर निर्माण सम्पन्न भएपछिको व्यवस्थापनको कुरा आउँदा कोही सँग पनि उत्तम विकल्प हुँदैनथ्यो ।

ल्याप्को टेक्नोलोजिज प्रा.लि. का रबिन्द्र शाही ।

शौचालय बनाए पनि त्यसको सफाइ र रेखदेख कसले र कसरी गर्ने भन्ने विषयमा कुरा अड्किएपछि बैठक त्यत्तिकै सकिन्थ्यो । शौचालयको विषयमा कुरा गर्न भेला भएकाहरु तितरवितर हुन्थे ।

झण्डै १२ बर्ष यस्तै निष्कर्षविहीन छलफलमै वितेपछि एक दिन कुरै कुरामा ल्याप्को टेक्नोलोजिज प्रा.लि.का सञ्चालक रबिन्द्र शाहीले फ्याट्ट भनिहाल्नुभयो ‘हाम्रो ठाउँमा फोर्सले पानी आउँछ, त्यही फोर्सले आएको पानीले साट्सुट पखाल्ने सिस्टमको बनाऔं ।’

खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय डोल्पाका तत्कालीन प्रमुख रमेश मण्डललाई के झोंक चल्यो कुन्नि ल सम्झौता गरेर काम गरौं भन्न थाल्नुभयो । ठट्टै ठट्टामा भनेको यो कुरा रविन्द्रका लागि चुनौतीको पहाड बनेर खडा भयो ।

रविन्द्र भन्नुहुन्छ ‘२०१५ को कुरा हो, अलि फुर्सद भएको बेला यो विषयमा सोच आयो, कसरी आफै सफा हुने चर्पी बनाउने भनेर घोत्लिएँ, गुगलमा सर्च गरेर हेरें । गुगलमा त अनेक थरीका शौचालय देखें, तर यहाँ त हाम्रो माटो, हावापानी, मानिसको आचरण सुहाउँदो पनि हुनुप(यो । मैले विश्राम लिइन, अनि खोज्दै गएँ, अध्ययन गर्दै गएँ । त्यही निरन्तरको प्रयासको फल हो, अहिले दुई बर्ष लगाएर भएपनि डोल्पा जस्तो ठाउँमा स्वचालित शौचालय बनाउन सफल भएको छु ।’

डोल्पाकै सफलताले उहाँलाई काठमाडौको स्वयम्भुमा स्वचालित शौचालय बनाउने अवसर प्राप्त भएको छ । काठमाडौमा बन्ने शौचालय अझ अत्याधुनिक र सुविधा सम्पन्न हुने उहाँले दाबी गर्नुभएको छ ।

यसका लागि काठमाडौ महानगरपालिका, खानेपानी तथा ढल निकास विभाग र ल्याप्को टेक्नोलोजिज प्रा.लि.बीच त्रिपक्षीय काम भइरहेको छ ।

शौचालयको विशेषता

आफै सफा हुने शौचालयको धेरै विशेषता छन् । आफै सफा हुने देखि मानिस आफैले सफा गर्न चाहेमा पनि सफा गर्न सकिने जस्ता विशेषता शौचालयमा राखिएको छ ।
शुरुमा मानिस शौचालयमा छिर्ने वित्तिकै फ्लस सिस्टमबाट थोरै पानी चर्पीको प्यान सेटमा पोखिन्छ । यसले प्यान सेट भिजाउने काम मात्र गर्छ । तपाईले दिसा गर्दा लगाउने समय तथा पिसाब गरेको समयको आधारमा शौचालय आफैले फ्लस गर्छ ।

यदि तपाई आफैले शौचालय सफा गर्न चाहनुहुन्छ भने त्यो सुविधा पनि रहेको छ । तपाई आफैले सफा गर्नुभयो भने शौचालय आफैले प्लस गर्दैन, यसबाट पानीको खपत कम गर्न सघाउ पुग्छ ।

शौचालयको सबैभन्दा राम्रो विशेषता त शौचालय आफैले आफैलाई सफा गर्ने हो । यो शौचालय पचास जना व्यक्तिले प्रयोग गरेपछि शौचालयको चारैतिरको भित्ता र सिलिङ पनि आफैले सफा गर्छ । ‘सबैभन्दा महत्वपूर्ण कुरा त यो छ कि पचास जना मानिसले प्रयोग गरेपछि यसले मानिस छ छैन हेर्छ र मानिस भित्र नभएको बेला सबैतिर सफा गर्छ’ शाहीले भन्नुभयो ।

स्वचालित शौचालयको अवधारणा

चलनचल्तीकै शौचालय बनाउँदा फोहोर हुने, सफा गरिरहनुपर्ने र अन्त्यमा प्रयोग विहीन हुने सम्भावना धेरै हुन्छ । यसको सट्टामा स्वचालित शौचालय भए शुरुमा लागत अलि बढी भएपनि आर्थिक रुपमा फिफायती, रेखदेख गरिरहनु नपर्ने र सधैं सफाइ गर्न मानिसको जरुरत नपर्ने उहाँको भनाइ छ ।

‘अब बन्ने स्वचालित शौचालयमा सफा गर्न, पानी हाल्न, पैसा उठाउन मानिस चाहिने छैन । शौचालयको ढोकामा कोइन छिराउने ठाउँ हुनेछ । त्यहाँ कोइन हाल्नसाथ ढोका खुल्नेछ । दिसापिसाब गरेर निस्केपछि शौचालय आफै सफा हुनेछ ।’

शौचालयमा पानी कम हुँदै गएपछि पानी ढुवानी गर्ने ट्यांक्कर वालालाई पनि सिस्टमबाटै एसएमएस् जानेछ । एसएमएस पाएपछि पानी ल्याएनर हाल्ने दायित्व ट्यांकरवाला अर्थात व्यवस्थापन पक्षको हुनेछ ।

यस्तो शौचालयको कम्तीमा २० बर्ष टिकाउ हुने उहाँको दाबी छ । ल्याप्को टेक्नोलोजिज प्रा.लि.का सञ्चालक शाहीले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

source: Wash Khabar