महानगरपालिकाकै शौचालयको ढल सीधै विष्णुमतिमा

२६ असार २०७५, मंगलवार १५:२१

      काठमाडौ : काठमाडौ उपत्यकाभित्रका नदीनालाहरुमा हरेक हप्ताको शनिबार सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएको त पाँच बर्ष भइसकेको छ । तर कानुन कार्यान्वयन गराउने निकाय काठमाडौ महानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको ढल समेत सीधै नदीमा मिसाइएको छ ।

काठमाडौं महानगरपालिका १३ टंकेश्वरमा रहेको सार्वजनिक शौचालयको ढल सीधै विष्णुमतिमा मिसाएको पाइएको हो । पुरुषको चार र महिलाको दुई गरी ६ वटा शौचालयको दिसापिसाब ढल मार्फत सीधै विष्णुमतिमा पठाउने गरिएको छ ।

विष्णुमति किनारमा बनाएको सार्वजनिक शौचालय (पछिल्तिरको भाग)

 

‘खै शुरु देखि नै यस्तै रहेछ, यहाँ सबैभन्दा त पानीको समस्या छ, पानी ड्रमका ड्रम जम्मा गरेर राख्नुपर्छ । अहिले त बर्षातको पानी संकलन गरेर समस्या समाधान गर्दै आएका छौं, वैशाख जेठमा त पानीको साह्रै समस्या हुन्छ’ शौचालय सञ्चालकले ढलको भन्दा पनि पानीको समस्या दर्शाए ।

 

शौचालय सफा गर्न जोहो गरिराखेको पानी

केही समय पहिलेसम्म टंकेश्वर संरक्षण समाजले सञ्चालन गर्दै आएको सार्वजनिक शौचालय अहिले अरुले नै सञ्चालन गर्ने गरेको र महानगरपालिकाले शौचालय बनाउँदा नै ढल विष्णुमतिमा लगेर मिसाएको समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

घिल्तिरबाट शौचालय (पृष्ठभूमिमा विष्णुमति)

‘महानगरपालिकाले खोलाको दुवैतिर ढल विछ्याउने भनेको छ । अब ढल विछ्याउँदा शौचालयको ढल पनि त्यसमा जडान गर्ने होला ? ढल निर्माण गर्दा शौचालय नै भत्काउनुपर्ने अवस्था पनि आउन सक्छ, अब ढल विछ्याएपछि यो समस्या समाधान हुन्छ कि भन्ने हामीले आशा गरेका छौं’ अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्थानीय बासिन्दा भने ढल खोलामा मिसाउँदा खोला गन्हाउने मात्र नभई पानीको अभावमा शौचालयको दुर्गन्धले वरिपरि बस्नै नसकिने 
बताउँछन् ।

 

Source: Wash Khabar

 

 

 

 

Go to top