पानीमा पनि भ्याट

श्रावण ११, २०७५प्रशान्त माली

ललितपुर — गोदावरीबाट पानी लिएर आएका टयांकरहरू टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी टयांकरसँग कर उठाउँछन् ।

त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो टयांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ ।

 

अर्थात् ठूलो टयांकरले १ सय ५०, नाम नखुलेको करसहित भ्याटबापत् १९ रुपैयाँ ५० पैसा जोडेर कुल १ सय ६९ रुपैयाँ ५० पैसा बुझाउँछन् । सरकारले अत्यावश्यक वस्तु भनी पानीमा भ्याट छुट दिएको छ । वस्तु तथा सेवाको मूल्यमा हुने अभिवृद्धिमा लाग्ने कर नै भ्याट हो । तर, गोदावरी नगरपालिकाले भने पानीमा पनि भ्याट लगाउने गरी ठेक्का दिएको हो । गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी दाबी गर्छन्, ‘पानीमा शुल्क लिएको होइन । निकासी कर लिएका हौं ।’

उपत्यकामा सातदोबाटो, स्वयम्भू, कीर्तिपुर, बालाजु, जोरपाटी र मातातीर्थ गरी टयांकर व्यवसायीका ५ समूह छन् । अन्यत्र कर लगाइएको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले पानीमा कर लगाएका छैनन् ।

खानेपानी उद्यमी तथा व्यवसायी संघ सातदोबाटोले नगरपालिकाले कुन विषयमा कर लगाएको भन्नेबारे स्पष्ट नभएको भन्दै विरोध जनाएको छ । उनीहरूले बुधबार जिल्लामा टयांकर ठप्प पारे । संघका अध्यक्ष उज्ज्वल शाक्यले भने, ‘यो पानीको कर हो कि सवारी कर अस्पष्ट भयो ।’ नगरपालिकाले सानो/ठूलो गाडी तोकेर कर लिएको छ । उनले भने, ‘नगरपालिकाले मनोमानी ढंगबाट पानीमा भ्याट लगाएको छ ।’

ठेक्का चापागाउँस्थित ओजस निर्माण सेवाले यस वर्षका लागि ४० लाख २५ हजार रुपैयाँमा पाएको छ । ठेकेदारले टौखेल र ठैबमा ढाट राखेर टयांकरले पानी ओसारेको प्रत्येकपटक कर लिने गरेको छ । खानेपानी महसुल निर्धारण आयोगले टयांकरको पानीको मूल्य निर्धारण गरेको छ ।

‘स्थानीय सरकारले निर्णय गरेपछि कुनैमा पनि भ्याट लगाउन पाइन्छ, यसबारे छलफल गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी व्यवसायीलाई पटकपटक आग्रह गरियो । कोही आएनन्,’ गोदावरीका प्रशासकीय अधिकृत मरासेनी भन्छन्, ‘अहिले निर्णय गरेपछि विरोधमा उत्रिएर केही हँुदैन ।’ खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी व्यवसायीले भने नगरपालिकाले कर लगाउनेबारे बसेको बैठकमा आफूहरूलाई एकपटक पनि नबोलाएको बताएका छन् । खानेपानी व्यवस्थापन बोर्डका इन्जिनियर बोधराज दाहाल भन्छन्, ‘गोदावरीले कर लगाउनेबारे हामीसँग केही समन्वय गरेको छैन ।’

खानेपानी संघका अनुसार गोदावरी नगरपालिकामा ११ वटा पानीका स्रोत छन् । गोदावरी क्षेत्रमा ८ वटा छन् । बर्खामा दैनिक न्यूनतम ५ सय र हिउँदमा ७ सय टयांकर आवतजावत हुन्छन् । नगरपालिकाले तोकेको दरमा कर उठाएमा २ करोडभन्दा बढी उठ्छ । स्रोतको पानी मूल्य निधारण गर्न ठैब दमाईंटारस्थित सिद्धि विनायक वाटर सप्लायर्स र अमूल्य पानी सप्लायर्ससँग सल्लाह गरिएको थियो ।

सिद्धि विनायक वाटर सप्लायर्स सञ्चालक जीवनप्रकाश थापा भन्छन्, ‘सुरुमा स्रोत पानीको कर निर्धारण गर्न गोदावरीमा पुगेका थियौं ।’ उनले अमूल्यका सञ्चालक रविन सिलवालले आफू उपत्यकाबाहिर गएको बेला ढुवानीको कर लगाउन र ८ जना स्रोत व्यवसायी मिलेर लिने गरी सेटिङ मिलाएको आरोप लगाए । ‘अन्तमा आफूले यो कुरा थाहा पाएपछि बाहिरिए,’ उनले भने, ‘पानीमा कर लिन दिनु हुँदैन ।’

अमूल्यका सञ्चालक सिलवालले थापाको आरोप गलत भएको दाबी गरे । ‘ढुवानी शुल्क लिनेबारेमा नगरपालिकासँग कुरा भएको छैन,’ उनले भने, ‘स्रोतको मूल्य निर्धारणबारेमा मात्र छलफल भएको हो । जसको प्रतिवेदन नगरपालिकामा बुझाइएको छ ।’

प्रकाशित : श्रावण ११, २०७५ ०८:२०

Source: Kantipur Daily