खेलमैदानका शौचालय लथालिंग

पुस ३, २०७५प्रशान्त माली
ललितपुर — खेलमैदान अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व सहभागी हुनेमध्येको स्थान हो । खेल चलिरहेका बेला शुल्क तिरेर मैदान प्रवेश गर्ने दर्शकलाई शौचालयको सुविधा हुनु अत्यावश्यक हुन्छ ।

 

तर राजधानीका अधिकांश खेल मैदानमा शौचालय नै छैनन् भने केहीमा नाम मात्रका । कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेटमैदानमा हाल एभरेस्ट प्रिमियर लिग (ईपीएल) चलिरहेको छ । आयोजकका अनुसार खेल हेर्न दैनिक करिब २ हजार दर्शक आउँछन् ।

खेलका समयमा मैदान प्रवेश गर्न टिकट दर एक सय तोकिएको छ । विद्यार्थीका लागि ५० प्रतिशत छुट छ । तर, शुल्क तिरे पनि दर्शक खुला स्थानमा शौच गर्न बाध्य छन् । आईसीसीका आयोजक आमिर अख्तरले खेलमैदानमा शौचालय मात्र नभई पानीको पनि समस्या भएको बताए ।

‘बिग्रेको पानीको पाइप पटकपटक फेरिसकेका छौं,’ उनले भने, ‘ट्यांकर पानी खरिदमा मात्र ३/४ लाख खर्च भइसक्यो ।’ उनले राजनीतिक दलका नेताका लागि भने कोटाअनुसार भीभीआईपी कक्षको टिकट नि:शुल्क मिलाउन दबाब आउने गरेको बताए । ‘आवश्यक सुविधा व्यवस्थापन गर्न कहीं कतैबाट आवाज उठ्दैन,’ उनले भने, ‘दैनिक भाडा भने २५ हजार बुझाउनुपर्छ ।’ उनले सबै समस्याको जड राजनीतिक नियुक्तिलाई दिए ।

परिषदको संरक्षकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्षमा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सदस्य सचिव केशवकुमार विष्ट छन् । परिषद् सदस्य सचिव विष्टले शौचालय बिग्रेको बारे आफूलाई जानकारी नभएको बताए । ‘आयोजक टिमले गत र यस वर्षको भाडा बुझाएको छैन,’ उनले भने, ‘त्यसैले पनि शौचालयबारेमा गुनासो गर्न आँट नगरेको होला ।’

कीर्तिपुर खुला दिसामुक्त क्षेत्र हो । मैदानको दक्षिणपट्टिको पुरुष छिर्ने शौचालयमा ताला लगाइएको छ । महिला शौचालय झारपातले ढाकिसकेको छ । भीभीआईपी शौचालय पनि बन्द छ । खुला रहेको एउटा साँघुरो कोठा छ । जहाँ दुइटा कोठा बनाएर महिला/पुरुष लेखेर जनतेन सञ्चालन गर्दै आइरहेको छ ।

ललितपुरबाट म्याच हेर्न आएका ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णलाल महर्जन भन्छन्, ‘विदेशी खेलाडी समेत आउने कीर्तिपुर खेल मैदानको १५ वर्षअघिको समस्या अहिले पनि उस्तै छ ।’ उनले पानी पिउन समेत डराउनुपर्ने अवस्था रहेको बताए । काठमाडौं झोछेँकी रूपरेखा शाक्य भन्छिन्, ‘शौचालय नहुँदा पुरुषभन्दा महिला बढी समस्यामा छन् । सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ ।’

काठमाडौंको सानो गौचरनस्थित फुटबल खेल मैदानको शौचालय (तल) । तस्बिर : प्रशान्त/कान्तिपुर

कीर्तिपुर खेल मैदानमा शौचालय व्यवस्थित नभएको भनी गुनासो बढेपछि आइतबार कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का, १० नम्बर वडाध्यक्ष अमन महर्जन, शौच सम्बन्धी जानकार प्रकाश आमात्यलगायतको टोली निरीक्षणमा पुगेको थियो ।

कीर्तिपुर नगरपालिकाकी कार्यवाहक प्रमुखसमेत रहेकी खड्काले फाइनल खेललाई लक्षित गरी समस्या समाधान गर्ने उपाय निकालिने दाबी गरिन् । ‘शौचालय व्यवस्थित गर्न नगरपालिकाले सक्दो सहयोग गर्छ,’ उनले भनिन् । कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष महर्जनले ‘कम्तीमा ३/४ वटा शौचालय बनाउन जरुरी’ भएको बताए । जावलाखेल फुटबल मैदानको शौचालयको पनि हालत उस्तै छ ।

मैदानको दक्षिणपश्चिम कुनाको शौचालयभित्र पिसाब जमेको छ । हात धुने बेसिन बिग्रेको छ । जडान गरिएको धारामा टुटी छैन । प्यान फालिएको छ । महिला/पुरुष शौचालय पहिचनाको कुनै संकेत छैन । शौचालयको दुर्गन्धले वरिपरिका होटल व्यवसायीलाई समेत असर पुगेको छ । नेपाली राष्ट्रिय टिमका डिफेन्डर विराज महर्जन भन्छन्, ‘शौच गर्न परे होटेल/रेस्टुरेन्ट जानुपर्ने बाध्यता छ ।’ उनले परिवारका सदस्य म्याच हेर्न आउँदा शौचालयले बढी पिरोल्ने गरेको बताए ।

जावलाखेल युथ क्लबका अध्यक्ष कुलभाइ केसीले भने, ‘सर्वसाधारण पनि शौच गर्न आउने गरेकाले व्यवस्थापनमा समस्या’ भएको बताए । उनले खेलाडीका लागि हलमा छुट्टै शौचालय भएको दाबी गरे । ‘मैदानको शौचालय मर्मत गर्ने योजनामा छौं,’ उनले भने, ‘यो इमेन्जर्सीका लागि मात्र खुला गर्ने हो ।’
नक्सालस्थित सानो गौचरन खेल मैदानको शौचालय अझ नाजुक छ ।

दुर्गन्धले भित्र प्रवेश गर्न सक्ने स्थिति छैन । शौचालय अपांगमैत्री पनि छैन । सानो गौचरन युवा क्लबका अध्यक्ष विराट शाहले निजी संस्थाले शौचालय बनाउने आश्वासन दिएकाले व्यवस्थित नगरेको जनाए । उनले ‘यही माघमा आधुनिक शौचालय बनाउने योजना क्लबको रहेको’ दाबी गरे ।
प्रकाशित : पुस ३, २०७५ ०७:४९

Source: Kantipur Daily