मापदण्ड नहुनु, सञ्चालन क्षमता र प्रतिस्पर्धा नहुनु” काठमाडौंमा सार्वजनिक शौचालय सञ्चालनका चुनौती


निर्माण जस्तो पनि र जसरी पनि हुन्छ तर कसरी चलाउने भन्ने कुरो चाहिँ मुख्य हो

चन्द्रमणि भट्टराई
माघ ११

काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्नु ठूलो कुरो होइन, भएका शौचालय चलाइ राख्नु र आवश्यक परेका ठाउँमा शौचालय हुनु चाहिँ मुख्य कुरो हो । शुक्रबार महानगरको सभा कक्षमा सम्पन्न सार्वजनिक शौचालय सम्बन्धि प्रस्तुतीकरणपछि, सहभागीहरुबीच मत निर्माण भएको छ । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्न उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीको संयोजत्वमा गठित अधिकार सम्पन्न समितिले आयोजना गरेको बिज्ञहरुको प्रस्तुतीकरणपछि यस्तो मत निर्माण भएको हो ।

प्रस्तुतीकरणपछि धारणा राख्दै उपमेयर श्रेष्ठ खड्गीले — अब सार्वजनिक शौचालय निर्माण गर्दा तथा व्यवस्थापन र सञ्चालन गर्दा निःशुल्क र सशुल्क गरी दुई प्रकारमा छुट््याउन जरुरी रहेको बताउनुभयो । स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्न ठाउँ पहिचान गर्ने, ढाँचा प्रस्ताव तयार गर्ने र सञ्चालनका लािग कार्यविधि तयार गर्ने २ वटा कार्यदल बनेकार काम भइरहेको छ । ती कार्यदलले प्रतिवेदन दिनु अघि आयल निगमले सञ्चालन गरेका पेट्रोल पम्पमा शौचालय सञ्चालनको अवस्था र सम्भावनाका बिषयमा काम गर्छौ, उपमेयरको भनाइ थियो ।

महानगरमा सार्वजनिक शौचालय सञ्चालनका लागि नीतिगत व्यवस्था तयार गर्ने आफ्नो प्राथमिक काम रहेको बताउँदै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आवश्यकताका आधारमा ढाँचा र ठाउँ एकिन गरिने बताउनुभयो । त्यस क्रममा सुविधायुक्त शौचालय निर्माण अहिलेको आवश्यकता रहेको बताउँदै वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले समाजले स्वीकार गर्न सक्ने प्रविधिमा जाने धारणा राख्नुभयो ।

सो अवसरमा प्रस्तुतीकरण गर्दै गुथीका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले — शौचालय व्यवस्थापन गर्न सोच परिवर्तन गर्नुको विकल्प नरहेको टिप्पणी गर्नुभयो । संसारमा धेरै प्रकारका शौचालय अभ्यासमा छन् । सुविधा सम्पन्न ठाउँमा परम्परागत र परम्परागत बस्तीमा सुविधा सम्पन्न शौचालय पनि छन् । हामी कस्तो प्रकारको प्रविधि ल्याउन र चलाउन सक्छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण प्रश्न हो, उहाँको भनाइ थियो । त्यागिएको मलमुत्र खाल्टोमा जम्मा हुने, नालीबाट ढलमा पठाउने र दिशालाई प्रशोधन गरेर मल बनाउने, पिसाबलाई प्रशोधन गरेर पुनःप्रयोग गर्न मिल्ने पानीमा रुपान्तरण गर्ने प्रविधि आइसकेका छन् । तर शौचालयलाई व्यवस्थापन गर्न न नीति छ, न संयन्त्र । अनि कसरी काम हुन्छ? उहाँको प्रश्न थियो । सार्वजनिक शौचालय सञ्चालनका लागि नीति नभएर, भएका कामको सुपरीवेक्षण नभएर, शौचालय सञ्चालन गर्न जो पनि अगाडि नआउने भएकाले खराव अवस्था भएर पनि सार्वजनिक शौचालय चलिरहेको उहाँको टिप्पणी थियो ।

यस समितिले महानगर क्षेत्रमा स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि अवस्था विश्लेषण गर्न गएको आइतबार २ वटा कार्यदल गठन गरेको छ । “अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति” ले गठन गरेको कार्यदलले विज्ञहरुको धारणा बुझ्न यस प्रकारको छलफल चलाएको हो ।

Source: Kathmandu Online

Go to top