महिला अधिकृतको महिनावारी पीडा : श्रीमानको बाइकमा बस्न पनि पाउँदिनथें

१४ माघ २०७५, सोमबार १३:४४
काठमाडौं : ‘महिनावारी भएको समयमा थोर बहुत छुवाछुत जहाँ पनि हुन्छ, मैले भोगेकी छु । मैले धारो छुन पाउँदिन थें, माइत हुँदा मात्र होइन, मैले विहे गरेर आइसकेपछि पनि धेरै समस्या झेलेकी छु । मैले महिनावारी भएको समयमा श्रीमान्को बाइकमा बस्न समेत पाउँदिनथें ।’
महिनावारी हुँदा एक जना महिला कतिसम्म पीडित हुन्छिन् भन्ने अरु तथ्य खोजिरहनु नै पर्दैन । महिनावारीको समयमा हुने यो समस्या सामान्य गृहिणी वा गाउँघरमा ढिकीजाँतो गर्ने महिलाको होइन । न त कुनै काल्पनिक पात्रको हो ।


पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत सुमन सिलवालले महिनावारी भएको समयमा आफूले भोगेको पीडा यसरी नै प्रस्तुत गर्नुभयो । उहाँको भोगाई सुनेर महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकका सहभागी एकैछिन त हेरेको हे-यै भए ।


महिनावारी हुँदा प्रयोग गर्ने कपडा पनि तत्काल धुनै पथ्र्यो रे ! तर अहिले समय नहुँदा पोका पारेर राख्न सम्म मिल्ने भएको छ रे !
‘समाज हिजो भन्दा अहिले अलि उदार हुँदै गएको छ । कुनै समय अति छुवाछुतको रुपमा हेरिने महिनावारीलाई प्राकृतिक प्रक्रिया हो भनेर विस्तारै बुझ्न थालेका छन् र समाजको बुझाईसँगै महिनावारीको बेला महिलाले झेल्नुपर्ने समस्या पनि कम हुँदै गएको छ ।’ उहाँले हिजो र आजमा आएको परिवर्तनलाई दाँज्दै भन्नुभयो ‘संस्कारकै रुपमा जरो गाडेर बसेको प्रथालाई एकैपटक परिवर्तन गर्न खोजेर पनि नसकिने रहेछ, यो क्रमिक रुपमा हुँदै जाने रहेछ ।’



हिजो श्रीमान्को बाइकको पछिल्लो सिटमा समेत बस्न नपाइने सिलवालले अहिले महिनावारी हुँदा प्रयोग गर्ने ‘मेन्स्ट्रुअल कप’ प्रयोग गर्नुहुन्छ । यो एक प्रकारको क्रान्ति नै हो । उहाँ यसबारेमा अरुलाई पनि भन्नुहुन्छ ।
‘अरुले सोध्छन् यो लगाउन गाह्रो हुँदैन ? म त भन्ने गर्छु, नाकमा टप लगाउन, कानमा रिङ लगाउन, आँखामा चश्मा लगाउन पनि त शुरुमा अफ्ठ्यारो नै हुन्छ नि ? हो यो कप लगाउन पनि सुरुमा गाह्रो नै हुन्छ तर विस्तारै बानी पर्दै जान्छ र यो एकदमै सजिलो हुन्छ, आर्थिक रुपमा किफायती पनि हुन्छ ।’
उहाँले आफ्ना हाकिमहरुलाई समेत यो कुरा सुनाउनु भएको छ । सिलवाल भन्नुहुन्छ ‘महिलालाई हिंसा गर्ने महिला नै हुन्छ भन्छन्, यो कुरा केही हदसम्म सत्य पनि होला । तर महिनावारीको समयमा गरिने विभेद हटाउन, महिनावारीका बिषयमा फैलाएको गलत धारणा हटाउन पुरुषको साथ जरुरी छ, यसैले म महिनावारीका बिषयमा पुरुष हाकिमहरुसँग पनि कुरा गर्छु ।’
महिनावारी स्वच्छता व्यवस्थापनको बिषयमा अहिलेसम्म विद्यालय तहको पाठ्यपुस्तकमा राम्रो सँग नसमेटिएको र समयको माग अनुसार समेट्दै जाने उहाँले बताउनुभयो । कक्षा ७ र ८ मा महिनावारी स्वच्छता सम्बन्धीको पाठ्यांश समेटिएको भए पनि महिनावारी सम्बन्धी विस्तृत रुपमा नसमेटिएको उहाँले जानकारी गराउनुभयो ।

 

Source : Wash Khabar