शौच गर्न सास्ती !

माघ १७, २०७५प्रशान्त माली


काठमाडौँ — शौचालय नभएका होइनन् । राजधानीमा यत्रतत्र छन्, भएर के गर्ने ? भित्र पस्नै नसकिने । कुपन्डोल–त्रिपुरेश्वर–कलंकी राजधानीको व्यस्त सडक हो । झन्डै ५ किमि लामो सडकमा सार्वजनिक शौचालय छैन । ४ वटा पेट्रोल पम्प छन् । कुनैमा पनि उपभोक्तालाई लक्षित गरेर शौचालय व्यवस्थापन गरिएको छैन ।
खुलामञ्चको छेउमा रहेको सर्वजानिक शौचालय ।


रत्नपार्क, भृकुण्टीमण्डप, पुरानो बसपार्क, हनुमानढोका दरबार क्षेत्रलगायत स्थानमा शौचालय छन् । तर व्यवस्थापन कामै नलाग्ने । काठमाडौंका पूर्वमेयर केशव स्थापितको पालामा सार्वजनिक/निजी साझेदारी मोडेलमा बनेका अन्य शौचालय पनि छन् । ललितपुरको जावलाखेल, लगनखेल, मंगलबजार, पाटन ढोकालगायत स्थानमा छन् । झट्ट हेर्दा राजधानीमा सार्वजनिक शौचालयका भवन देखिन्छन् । व्यवस्थापन मात्र कमजोरी भएको शौच विज्ञहरूको ठहर छ । उनीहरू नयाँ शौचालय बनाउन जग्गाको अभाव रहेको पनि बताउँछन् ।

काठमाडौं महानगरपालिकाको नयाँ ४२ वटा शौचालय बनाउने योजना छ । सडक विभागले जग्गा उपलब्ध नगराएको भनी वर्षौंदेखि राजधानीवासीलाई समस्यामा राख्दै आइरहेको छ । अहिले जनप्रतिनिधि र कर्मचारीको ध्यान शौचालय व्यवस्थापन गर्नतर्फ भन्दा नयाँ बनाउनेतिर बढी छ । शौचसम्बन्धी जानकार प्रकाश अमात्य भन्छन्, ‘शौचालय निर्माण गर्नु ठूलो कुरो होइन, भएका शौचालय व्यवस्थापन गरेर चलाउनु चुनौती हो ।’

उनले महानगरले चाहेमा सरकारी कार्यालय, व्यापारिक भवन र होटेल/रेस्टुरेन्ट सञ्चालकसँग सम्झौता गरेरपनि शौचालय सञ्चालनमा ल्याउन सकिन्छ । ‘यसतर्फध्यान गएको छैन,’ उनले भने, ‘शौचालयको नाममाराजनीति हुनु भएन ।’

नेपाल आयल निगम विक्रेता विनियमावली, ०६५ को दफा ७ मा भने विक्रेताको बिक्रीस्थलमा कार्यालय, बिक्रीकक्ष, पिउने पानी वा ट्युबवेल र शौचालयको व्यवस्था हुनुपर्ने मापदण्ड छ । एक हजार लिटरको पानी ट्यांकी राख्नुपर्ने पनि कानुनी व्यवस्था छ । तर, प्राय: पम्प सञ्चालकले बाध्यताले जेनतेन सञ्चालन गर्दै आइरहेको देखिन्छ । पम्प राजधानीमा एक सय ३५ वटा छन् ।

काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शौचालयबारेमा समितिले अध्ययन गरिरहेको बताइन् । ‘भर्खर समिति गठन भएको छ,’ उनले भनिन्, ‘पम्पमा सञ्चालित शौचालयको अनुगमन गरी मापदण्डमा ल्याइनेछ ।’ उनले शौचालय नि:शुल्क र सशुल्क गरी दुई प्रकारमा छुट््याउन जरुरी रहेको बताइन् । ‘स्मार्ट शौचालय निर्माण गर्न ठाउँ, ढाँचा प्रस्ताव तयार गर्ने र सञ्चालन कार्यविधि गर्न २ वटा कार्यदल बनेर काम अगाडि बढिरहेको छ,’ उनले भनिन् ।

चक्रपथ विस्तार गर्नुअघि कलंकी क्षेत्रमा २ र चाबहिलमा एउटा शौचालय थियो । कलंकी उपत्यकाबाहिर जिल्लाबाट काठमाडौं प्रवेश गर्दा पुगिने पहिलो स्थान हो । यहाँ धेरै टिकट बुकिङ स्थान छन् । शौचालयको बिजोग छ । कलंकी नजिकैको नारायणी पेट्रोल सेन्टरमा दिसा बस्न मिल्ने शौचालय छैन । पम्प परिसरमा महिला, अपांगमैत्री लेखिएको शौचालय छ । तर, भित्र केही व्यवस्थापन गरिएको छैन । महिला उपभोक्ता जान खोजेमा कर्मचारीले साँचो छैन भन्ने गरेका छन् । त्यही नजिकैको मातादेवी आयल स्टोरको शौचालयमा महिला/पुरुष लेखिएको छैन ।

दैनिक भक्तजनको घुइँचो लाग्ने स्वयम्भू क्षेत्रमा सर्वसाधारण झाडीमा जान बाध्य छन् । साझा पेट्रोल पम्प सानोभर्‍याङ, सिटी ट्रेडिङ बालाजुमा उपभोक्ताले देख्ने गरी शौचालयको व्यवस्थापन गरिएको छैन । हामा पेट्रोल पम्प चक्रपथमाभने अन्य पम्पमा भन्दा व्यवस्थापन राम्रो छ । पानीको व्यवस्थापन छैन । हामाका सञ्चालक जीवनराज भण्डारीले सित्तैमा पाएको भन्दै जथाभावी गर्ने गरेकाले पानीको व्यवस्थापन गर्न नसकेको बताए । ‘शौच गरिसकेपछि धारा खुल्लै छोडेर जाने गर्छन्,’ उनले भने, ‘यहाँ शौच गर्न स्वयम्भूदेखि सीतापाइलासम्मका बटुवा आउने गरेकाले पनि राम्रो व्यवस्थापन गर्न नसकिएको हो ।’

नयाँ बसपार्क बालाजुका ४ शौचालयमा पानी र फिनेलको व्यवस्था गरिएको छ । स्नानको पनि व्यवस्था छ । एउटा अपांगमैत्री पनि छ । बिहान ४ देखि बेलुका ८ बजेसम्म खुल्ने गरेको छ । सञ्चालक पंकज मल्ल भन्छन्, ‘ठेक्का लिएपछि जोकोहीले पनि कर्तव्य निभाउनुपर्छ ।’ प्रहरी कल्याण कोषद्वारा सामाखुसीमा सञ्चालित महालक्ष्मी फ्युल सेन्टरले पनि शौचालयको राम्रो व्यवस्था गरेको छ ।

काठमाडौं महानगरमा वार्षिक २.५ प्रतिशतले वृद्धि हुने गरी खुल्ला मञ्चको शौचालय सञ्चालकले ०७३ देखि वार्षिक २५ लाख ९९ हजार ९ सय ९२ रुपैयाँ, रत्नपार्कस्थित शौचालय सञ्चालकले ४७ लाख रुपैयाँ बुझाउने गर्छन् । कोटेश्वरस्थित शौचालयबाट ०७५ जेठमा एक लाख २० हजार र शंखपार्कस्थित शौचालय सञ्चालकले साउनमा ७९ हजार ९ सय ५० र रत्नपार्कस्थित अर्को शौचालय सञ्चालकले ०७४ साउनमा ७ लाख रुपैयाँ बुझाएका थिए ।
पुरानो बसपार्कको लथालिंग शौचालय ।
राजस्व उठे पनि व्यवस्थापन नीति नहुँदा लथालिंग भएको शौचसम्बन्धी जानकार अमात्य बताउँछन् । उनले पम्प सञ्चालक सबैलाई समेटी कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने बताए ।
उपमेयर श्रेष्ठले कार्यविधिका लागि दुईवटा कार्यदल बनिसकेको बताइन् । ‘१५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेका छौं,’ उनले भनिन् ।

ललितपुर महानगरपालिकाले भने शौचालयलाई व्यवस्थापन गर्ने जनाएको छ । सुरुवातमा मंगलबजारस्थित पर्यटकीय स्तरको शौचालय व्यवस्थापन गर्न लगत इस्टिमेटसहितको योजना तयार पारेको छ । सामान्यतया शौचालयमा पिसाब, दिसा र स्नान गर्न क्रमश: ५, १० र ७० रुपैयाँ लिने गरिएको छ ।
प्रकाशित : माघ १७, २०७५ ०८:२४

Source : Kantipur Daily