पशुपतिमा १० मोबाइल र एक घुम्ती शौचालय सञ्चालनमा ल्याइँदै

सोमबार, १६ बैशाख २०७६, १५ : ४१ |

पशुपति क्षेत्र विकास कोषमा सञ्चालनमा ल्याउनको लागि राखिएको मोबाइल शौचालय । तस्बिरः श्याम राई


पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाको लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। एनआइसी एसिया बैंक र एभरेस्ट बैंक लिमिटेडको सहयोगमा शौचालय सञ्चालन गरिन लागिएको हो।

पशुपतिनाथ मन्दिरमा आएका श्रद्धालु भक्तजन तथा अवलोकन गर्न आउनेको सुविधाको लागि मोबाइल शौचालय सञ्चालनमा ल्याउन लागिएको कोषका सूचना अधिकारी प्रेमहरी ढुंगानाले बताए। ‘यहाँ आउने दर्शनार्थीको सुविधाका लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय कोषमा आइसकेको छ,’ उनले भने, ‘सबै प्रक्रियागत काम सकाई १० दिनमा शौचालय सञ्चालनमा ल्याउँछौँ।’

उनका अनुसार एनआइसी एसिया बैंकले किनेको घुम्ती शौचालय करिब १२ लाख लागत परेकोे छ। एभरेस्ट बैंक लिमिटेडले करिब १७ लाख रूपैयाँ लागतमा १० मोबाइल शौचालय खरिद गरेको छ। १५ दिनअघि ल्याइएको यी शौचालय एनआइसी एसिया बैंकले कोषलाई हस्तान्तरण गरे पनि एभरेस्ट बैंक लिमिटेडले उक्त शौचालय अझै कोषलाई हस्तान्तरण नगर्दा सञ्चालनमा केही ढिलाइ हुने उनले बताए।

पशुपति मन्दिर परिसरमा सार्वजनिक शौचालयको समस्या भएकाले यी शौचालय प्रयोगमा आइसकेपछि धेरै भक्तजनलाई शौचको लागि सुविधा मिल्ने उनको अनुमान छ।

‘यो इन्डियन मोडलको मोबाइल शौचालय हो। भक्तजनले राम्रोसँग प्रयोग गरे धेरै टिकाउ हुन्छ,’ उनले भने, ‘दिगो रूपले टिकाउका लागि भक्तजनकै प्रयोगमा भर पर्छ। यस क्षेत्रमा पहिलो पटक प्रविधिको ट्वाइलेट सञ्चालनमा ल्याउन लागिएको छ।’

चार महिनाअघि लक्ष्मी बैंक लिमिटेडको सहयोगमा अशक्त, अपांगताको लागि विद्युतीय टेम्पो ल्याइएको थियो। अहिले पनि यो टेम्पो मन्दिर परिसरमा सञ्चालन भइरहेको छ।

यस्तो हुन्छ मोबाइल शौचालय
पशुपति मन्दिर क्षेत्रमा राख्न लागिएका मोबाइल र प्रविधियुक्त घुम्ती शौचालय अन्य शौचालयको तुलनामा केही फरक छन्। झट्ट हेर्दा नै स्मार्ट लाग्ने सो शौचालय गुडाएर एक स्थानबाट अर्को स्थानसम्म पु-याउन सकिने छ।

उक्त शौचालयमा शौच गरिसकेपछि हातले पानीको प्रयोग गर्नु पर्दैन। पानीको प्रयोग गर्नका लागि खुट्टाले पम्प थिचेपछि पानी फल्स हुनेछ। पुरुष र महिलाको लागि छुट्टाछुट्टै शौचालयको लागि व्यवस्था गरिने छ। कोषका अनुसार उक्त शौचालयले लिकुइत बनाउने साथै फोहोर डिस्चार्ज गर्ने भएकाले शौचको पानी बगैचामा समेत प्रयोग गर्न मिल्छ। सर्वसाधरणले निःशुल्क रुपले  प्रविधि युक्त मोबाईल शौचालय र घुम्ती शौचालय प्रयोग गर्न पाउने कोषले जनाएको छ।

कुन–कुन स्थानमा राखिन्छ?
कोषका अनुसार मोबाइल र घुम्ती शौचालय मन्दिर क्षेत्रभित्र जुत्ता राखिने ठाउँमा, शव जलाउने घाटमा, मन्दिरबाट बाहिर निस्किने ठाउँमा राखिने छ। गुडाउन मिल्ने हुँदा जहाँ बढी भीडभाड हुन्छ, त्यस्तो क्षेत्रमा पनि राख्न सकिने छ। तीज, शिवरात्री, जस्ता पर्वमा बढी यो शौचालय प्रयोग गरिने छ ।  यी पर्व बाहेकका दिनमा ६ वटा शौचालय दैनिक प्रयोगमा ल्याइने छ। कोषले पहिलो पटक सञ्चालनमा ल्याएको प्रविधियुक्त शौचालयको प्रयोगपछि आउने दिनमा अपांगमैत्री शौचालय पनि सञ्चालनमा ल्याउने योजना बनाएको कोषले जनाएको छ।

 

Source : Nagarik News