शौचालय बिनाको सहर

वैशाख २१, २०७६रमा बस्याल


प्राचीन कालको कुरै नगरौं, मध्ययुगमै पनि सार्वजनिक शौचालय ज्यादै कम हुन्थे । १९ औं शताब्दीको सुरुवातमा युरोपका केही ठूला सहर पेरिस, बर्लिन, लन्डन, फ्याङ्कर्फटमा शौचालय बनाइएका थिए । औद्योगिक युगको सुरुवातपछि सन् १८५१ मा लन्डनको क्रिष्टल प्यालेसमा सबैभन्दा पहिलो 'फ्लस' गर्ने सार्वजनिक शौचालय बनाइयो ।

जर्ज जेनिङ्गस नामका प्लम्बर अथवा स्यानिटेसन इन्जिनियरले यसको निर्माण गरेका थिए । त्यसै वर्ष लन्डनमा विभिन्न देशका औद्योगिक क्रियाकलापहरूको विशाल प्रदर्शनी भएको थियो । त्यसमा आउने पाहुनाका निम्ति त्यो शौचालय बनाइएको रहेछ । पछि अंग्रेजको शासनकालमा यस्ता आधुनिक शौचालयहरू भारतका ठूला रेलवे स्टेसनमा पनि व्यापक रूपमा बनाइए ।

विकासको क्रमसँगै कतिपय मुलुकमा व्यापारिक सहरहरू विस्तार हुँदै गए । कलकारखाना/उद्योगधन्दाको तीव्र विस्तारका कारण दूषित पानी र वायु प्रदूषण आदिले विभिन्न रोग देखापर्न थाले । त्यसपछि सरसफाइमा ध्यान दिन लागियो । आधुनिक सुविधायुक्त शौचालय बन्न थाले ।

औद्योगिक युगपछि पनि धेरै समयसम्म शौचालयहरू पुरुषका लागिमात्र उपयुक्त हुने किसिमले बनाइन्थे ।
बेलायतमा महारानी भिक्टोरियाको शासनकाल -सन् १८३७-१९०१) सुरु भएपछि बल्ल महिलाको निम्ति पनि शौचालय बन्नुपर्छ भन्ने महसुस हुनथाल्यो । पहिले नै निर्माण भैसकेको लन्डनजस्तो सहरमा सार्वजनिक शौचालय बनाउने ठाउँ अभाव थियो । त्यहाँ भूमिगत शौचालयहरू बनाइए । ती महिला-मैत्री हुन सकेनन् ।

बरोबर आपराधिक गतिविधि हुनेहुँदा महिलाहरू असुरक्षित महसुस गर्थे । उनीहरूका लागि छुट्टै शौचालय थिएन । सन् १८७७ मा अमेरिकाको म्यासाचुसेट्स राज्यमा पहिलोपटक महिला कामदारहरूलाई कारखानामा काम लगाउँदा अनिवार्य रूपमा उनीहरूका लागि छुट्टै शौचालय बनाउनुपर्ने कानुन पारित भयो, जसमा आराम गर्ने कोठासमेत हुनुपथ्र्यो ।

हाम्रो मुलुकमा आधुनिक सार्वजनिक शौचालय भर्खरमात्र महसुस हुनथालेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सार्वजनिक स्थानमा यस्ता शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन् । यस अघि पनि यस्ता योजना कति बने होलान् ! दसौं लाख जनसंख्या भएको काठमाडौंमा पचास/साठीवटा सार्वजनिक शौचालय छन् । त्यसमा पनि प्रयोग गर्नलायक कति छन्, महानगरपालिकालाई नै जानकारी छैन । सरकार तथा अन्तर्राष्ट्रिय समुदायले ग्रामीण क्षेत्रमा आधारभूत सरसफाइको निम्ति आधुनिक शौचालयको कुरा गर्छन् ।

जनसंख्याको अत्यधिक चाप भएको प्राचीन सुन्दर सहर भने दिन-प्रतिदिन दुर्गन्धित बन्दै गएको छ । अधिकांश ढलहरू थुनिएका छन् । महाराजगन्ज देखिको ढल मिसिएर आउने टुकुचा वर्षेनि पुरिँदै गएर भरिइसकेको छ । वषर्ायाममा तीन मिनेटमात्र दर्केपानी पर्‍यो भने सारा ढल सडकमा बग्दै घर-घरमा छिर्न थाल्छ । कतिपय स्थानमा त टुकुचामाथि नै घरहरू बनाउन दिइएको छ । काठमाडौंबासीको अनुरोध महानगरपालिकालाई पहिले बन्दढलहरू खुलाओस् भन्ने छ ।

हाम्रा सार्वजनिक स्थलहरूमा महिला-मैत्री शौचालय बन्नुपर्छ । साबुन, पानी, बत्ती, टिस्यु पेपरजस्ता सुविधाका अतिरिक्त शौचालयको भित्रपट्ट िढोकामा महिलाको हातेझोला अड्काउने हुक या किला पनि चाहिन्छ । यो सानो तर महत्त्वपूर्ण सुविधा सार्ककै अन्य मुलुकका विमानस्थल, होटल, रेष्टुरेन्टका शौचालयमा पाइन्छ ।

हाम्रो विमानस्थलको शौचालय जाँदा हातेझोला कता राखौंजस्तो हुन्छ । यो नमिठो अनुभव मेरोमात्र होइन होला । महिला पर्यटकलाई समेत ध्यानमा राखेर शौचालयमा यस्तो सुविधाको व्यवस्था गरिनुपर्छ । नेपालका पाँचतारे होटल बाहेक अन्यत्रका शौचालयमा यो सुविधा पाइँदैन । यसका लागि ठूलो खर्च पनि लाग्दैन । भएका पूर्वाधारको स्तरोन्नति नगर्ने हो भने सरकारले स्मार्ट नारा रट्नुको तात्त्विक अर्थ छैन ।

मानव अधिकारवादी संस्थाएम्नेस्टी इन्टरनेसनलले महिला र विद्यालयका छात्राका लागि विशेष सुरक्षित शौचालय हुनुपर्छ भन्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सार्वजनिक शौचालय गोप्य, सुरक्षित र लिङ्ग, उमेर, शारीरिक अवस्था -अपाङ्गता, बिरामी) आदिलाई सुविधा पुग्ने किसिमको हुनुपर्छ । सुरक्षाको दृष्टिकोणबाट पनि शौचालयका ढोकाहरू भित्रबाट सजिलै खोल्न र
बन्द गर्न मिल्ने हुनुपर्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बढी सुरक्षित मानिन्छ ।

सरकारले विभिन्न सहरमा महिला-मैत्री शौचालय निर्माण गर्न ढिला भैसकेको छ । शौचालय अभावमा कतिले असहज रूपमा जथाभावी शौच गरिरहेको देखिन्छ । उपत्यकाको मध्य सहरमा पनि यही अवस्था छ । झाडीका कुनाकाप्चा, खोलाकिनार, तथा सडक छेउलाई नै मानिसले विकल्पका रूपमा प्रयोग गरिरहेका छन् । सहरमा सार्वजनिक शौचालय नै नबनाई सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य पुरा भए पनि देशको इज्जत रहला र !
प्रकाशित : वैशाख २१, २०७६ ०८:१७

Source: Kantipur Daily