सप्तपाताललाई सर्वोच्चको साथ

असार २४, २०७६

काठमाडौँ — सार्वजनिक पोखरीलाई पुनर्जीवन दिने स्थानीयवासीको डेढ दशक लामो कानुनी संघर्षलाई सर्वोच्च अदालतले सहारा दिएको छ ।ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन माग गर्ने स्थानीय अगुवाहरूका पक्षमा सर्वोच्चले सोमबार आदेश दिएको हो ।

 

न्यायाधीशद्वय दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले पोखरीको जग्गाबाट बनेका विद्यालयसहितका भवन संरचना हटाउन माग गर्ने स्थानीयको रिटका पक्षमा आदेश गरेको हो । पोखरी अतिक्रमण गर्दै जाँदा सबभन्दा पछिल्लोपल्ट त्यसको जग्गा अतिक्रमण गरी नमुना मच्छिन्द्रनाथ स्कुल सञ्चालन हुँदै आएको छ । अब स्कुलको नाममा रहेको जग्गालाई सार्वजनिकमा परिणत गरी पोखरी बनाउन सकिने छ । स्थानीय अगुवाहरूका अनुसार पोखरी १४ रोपनीभन्दा बढी फैलिएको थियो । चारैतिरबाट मिचिएकाले हाल डेढ–दुई रोपनी जग्गा मात्र बचेको छ ।त्यहाँ पानी छैन, घाँस मात्र छ ।

पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका स्थानीय १६ वर्षदेखि अदालत धाउँदै थिए । तीमध्ये बढी खटिनेमा थिए ७४ वर्षीय पूर्ण स्थापित । कानुनी संघर्षमा खटिँदा मुद्दा छोड्न उनलाई धेरैले दबाब दिए । धम्की सहे । ऐतिहासिक महत्त्वको पोखरी अहिले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनेको छ । उनले भने, ‘अब पोखरी पुरानै स्वरुपमा बनाउन पहल गर्ने छौँ ।’स्थापितसहितका स्थानीयबासी पोखरीका पक्षमा उभिन थालेको २०६० सालदेखि हो जब विद्यालयले ‘डिपार्टमेन्ट स्टोर’ बनाउन खोज्यो ।

स्थानीयवासीले पोखरीको अतिक्रमण हुँदै आएको टुलुटुलु हेर्दै आएका थिए । लगनखेल–सातदोबाटोतर्फ अशोक स्तूपवरिपरिका जग्गा अतिक्रमण गर्नेमा सेनाको राजदल गण, ललितपुर जिल्ला अदालत, मालपोत, नापी, जिल्ला पशु कार्यालय, स्काउट भवनसहित थिए । ती कार्यालयले पनि जग्गा कित्ताकाँट गरिसकेका छन् । सरकारी कार्यालय र विद्यालय खुल्दासम्म स्थानीयले वास्ता गरेनन् ।पाटनका भूमिगत जलभण्डारमा पानी पुनः भरण गर्ने परम्परागत पोखरीमध्ये सप्तपाताल मुख्य मानिन्छ । यो पोखरी सहरका निम्ति खानेपानी ‘रिजर्भर’ ट्यांकी पनि हो । यहाँ पानी भरिसकेपछि पाटनभरिका ढुंगेधारा र इनार रसाउने विश्वास छ ।

सप्तपाताल पोखरी अर्को महत्त्व भनेको खुला सार्वजनिक स्थल हो । पोखरीमा पानी भर्न लेले टीकाभैरवमा मुहान बनाएर राजकुलो खनेर ल्याइएको थियो । सप्तपाताल अथवा पृथ्वीका तलतिर रहने ७ लोकमध्ये सबभन्दा तल्लो लोक हो, जसलाई नागलोक पनि भनिन्छ । रातो मत्स्येन्द्रनाथ र मीननाथ जात्रा सम्पन्न भएको खबर स्वर्गका देवता इन्द र पाताल लोकका नाग राजालाई पुर्‍याउन यही पोखरीको प्रयोग हुन्छ । पहिला लगनखेलमा ७ वटा पोखरी थिए ।‘सम्पदा जोगाउनु छ भने आत्तिनु हुँदैन । धैर्यले काम गर्नुपर्छ,’ स्थापितले अदालतको आदेशप्रति प्रसन्नता प्रकट गर्दै सोमबार राति कान्तिपुरसँग भने, ‘ढिलै भए पनि न्यायको जित भएको छ ।’
 
Source :Kantipur Daily

 

Go to top