उपत्यका डुबान : पोखरी मासिँदा बस्तीमै ताल

असार ३०, २०७६

ललितपुर — हरेक वर्ष बर्खामा कुपण्डोल, कुमारीपाटी, जावलाखेल क्षेत्र डुबानमा पर्छ । कहिलेकाहीं सडकमा अत्यधिक पानी जम्ने कारणले यातायात घण्टौं अवरुद्ध हुने गरेको छ ।

 

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र र महापाल चोकको अवस्था त्योभन्दा दयनीय छ । प्रायले जनसंख्या वृद्धिसँगै मल्लकालीन र राणाकालीन ढल फेर्न नसक्नु यसको प्रमुख कारण ठान्छन् । वास्तविकता अर्कै छ । जल सम्पदासम्बन्धी ज्ञान र स्थानीय आवश्यकताको बेवास्ता गरेर विदेशी सिकोमा डिजाइन गरिएका ह्युमपाइपराख्नु समस्याको मुख्य जड भएको बुद्धिजीवी बताउँछन् ।पानी विज्ञ पद्मसुन्दर जोशी भन्छन्, ‘पाटन उपत्यकाका तीनमध्ये सबभन्दा पुरानो व्यवस्थित सहर मानिन्छ । यहाँ पुर्खाले बस्ती डुबान पर्नबाट बचाउन राजकुलो र ठाउँ ठाउँमा पोखरी बनाएका हुन् । बर्खाको पानी कुलो हुँदै पोखरीमा जम्मा हुन्थे । पछिल्लो समय राजकुलो र पोखरी मासिए । महानगरले मल्लकालीन स्टिमको बेवास्ता गरी ह्युमपाइप बिछ्याइए । यसले पानी पोखरीमा जानबाट रोकेपछि समस्या निम्त्याएको हो ।’

 

उनका अनुसार पुल्चोक, जावलाखेल क्षेत्रको पानी पले स्वाँ पोखरीमा जम्मा हुन्थ्यो । पोखरी मासेपछि सिधै कुपण्डोलमा बग्दा त्यहाँ जलमग्न हुने गरेको हो । पाटन अस्पताल क्षेत्रबाट बग्ने पानी कुमारीपाटीस्थित तः पोखरीमा जम्मा हुन्थ्यो । १४ रोपनीमा फैलिएको पुखु अहिले ४ आना पनि छैन । पोखरीसँग जोडिएका कुलो पनि मासिसकेको छ । सातदोबाटो, बटुकभैरव, महालक्ष्मी स्थान क्षेत्रको पानी सप्तपाताल र न्हु पुखुःमा जम्मा हुन्थ्यो । ‘तर, पोखरीमा जम्मा हुनुपर्ने पानी सिधै मंगलबजार आउँदा दरबारक्षेत्र जलमग्न हुने गरेको हो,’ उनले भने ।
 
कुनै बेला लगनखेलमा ७ वटा पोखरी थिए । अहिले ललितपुर जिल्ला अदालत अगाडिको न्हुँ पोखरी, राजदल गण परिसरको कमल र लगनखेल अशोक स्तूप उत्तरपट्टिको सप्तपाताल पोखरी मात्र बाँकी छन् । त्यतिबेला जग्गा २ सय ५ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको थियो । अशोक स्तूप वरिपरिका जग्गा अतिक्रमण गर्नेमा सेनाको राजदल गण, ललितपुर जिल्ला अदालत, मालपोत, नापी, जिल्ला पशु कार्यालय, स्काउट भवन पनि छन् ।
लगनखेलस्थित लगः पुखुमा वडा र प्रहरी कार्यालय, प्रयागपोखरीमा खेलकुद कार्यालय र विद्यालय भवन ठडिइसकेका छन् । यसले सातदोबाटो क्षेत्रबाट आउने पानी यी पोखरीमा जम्मा हुन नपाउँदा सिधै दरबार क्षेत्रमा आउने गरेको छ । पाटन बर्खामा निरन्तर डुबान परेको चार दशक बित्यो । पाटन क्षेत्रमा पञ्चायतकालमा विश्व बैंकको सहयोगमा भण्डारी विल्डर्सले ८ देखि १२ इन्चका हिमपाइप बिछ्याएको थियो । पाइपमा किचेन, आकासे पानी मात्र नभई निकास पनि बग्थ्यो ।
 
पाइपमा निकास बगेपछि पानी सिधै पोखरीमा जम्मा गर्न नमिल्दा पनि पाटनमा डुबान पर्ने गरेको उनले बताए । अहिले बर्खाको भेल सजिलै बगाउन ठूलो पाइप आवश्यक पर्छ तर बर्खाबाहेक अन्य समयमा निकास, किचेन र बाथरुमको पानी पठाउँदा ठूलो पाइपमा थिग्रिई जाम हुने समस्या छ । यसका लागि सानो पाइप नभई हुँदैन । पाटनको अहिलेको मुख्य समस्या यही हो । जोशी भन्छन्, ‘राजकुलो र पोखरीलाई जीवन्तता दिनु नै समस्याको समाधान हो ।ह्युमपाइपअघि राणाकालीन र मल्लकालीन ढल थियो । यी दुवै ढल मान्छे हिंड्न मिल्ने जति ठूलो हुन्थे । टोल सुधार समिति अध्यक्ष वदन राजोपाध्याय च्यासलमा उत्खनन गरेमा अहिले पनि भेट्न सकिने बताउँछन् । पाटन मिखा बहालका ६४ वर्षीय कुलाल डंगोलसँग १२ वर्षको उमेरमा साथीभाइसँग मिलेर ढलभित्र पसेर हिले माछा मारेका अनुभव छ ।
 
डंगोलका अनुसार पाटन क्षेत्रबाहिरका अधिकांश भाग खेतबारी र खुला चौर थियो । पानी पर्दा कतिपय पानी त्यहीं सोसेर जान्थ्यो । मंगलबजार भीसमेन मन्दिर–स्वठ–बंगलामुखीमा ठूलो राणाकालीन ढल थियो । मान्छे निहुरेर जान मिल्थ्यो ।‘निरन्तर सफा गर्दा कतिपय पुरियो,’ उनले भने ।
ललितपुर महानगरपालिका सहरी विकास महाशाखा प्रमुख रुद्रप्रसाद गौतम भन्छन्, ‘निकास र बर्खाको पानी एउटै पाइपमा पठाउन बाध्य हुनु पाटनमा जलमग्न हुनुको मुख्य कारण हो ।’ उनले ठूलो पाइप राख्दा फोहोर थिग्रिने समस्या र नराख्दा बर्खामा जलमग्न हुने समस्या रहेको बताए ।‘अहिले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा आयोजना कार्यान्वय निर्देशनायल (पीआईडी) र महानगरबीच ढल व्यवस्थापन गर्ने विषयमा सम्झौता भइसकेको छ,’ उनले भने, ‘सम्झौताअनुसार ढल लगनखेल थटी टोल हुँदै बंगलामुखीसम्म २ दशमलव ८ किमि दूरीमा बन्नेछ ।’ उनले करिब ४८ लाख रुपैयाँ लागतमा ढल बन्न लागेको बताए । अहिले नगरको ढल पाटन दरबार स्क्वायर क्षेत्रको महापाल चोक र मंगलबजार भएर वाग्मतीमा मिसिने गर्छ ।
 
Source: Kantipur Daily