खानेपानी र सरसफाइका कार्यक्रमलाई व्यवहारिक बनाउन छलफल

 २०७६-०४-०७ 

बिहान उठ्ने बित्तिकैका समस्यामध्ये खानेपानी र सरसफाइलाई बिकास र सहरी आचरणसँग अन्तरसम्बन्धित बनाउनु पर्नेमा जोड

काठमाडौं । सहरी जीवनका आवश्यकीय सुबिधामध्ये खानेपानी र सरसफाइलाई बिहान उठ्ने बित्तिकैको पहिलो समस्याका रुपमा प्रस्तुत गर्दै महानगरले अघि सारेका यस सम्बन्धि नीतिलाई व्यवहारिक बनाउने बिषयमा सहरी योजना आयोगले सोमबार छलफल गरेको छ । पूर्व वातावरण मन्त्री गणेश शाह, आयोगका उपाध्यक्ष सरोज बस्नेत, गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यसहितको छलफलमा आउँदो शनिबार र आइतबार काठमाडौंमा आयोजना हुने राष्ट्रिय आकाशे पानी सम्मेलनमा सरोकारवालासँग गर्नु पर्ने छलफलका बिषयमा पनि कुराकानी भयो ।

छलफलमा आयोगका उपाध्यक्ष बस्नेतले भन्नुभयो — काठमाडौंको जमिनमुनि पानीको सतह घट्दै गएको महानगरलाई अनुभूति छ । यसको सन्तुलन बिग्रिन नदिन ‘रिचार्ज काठमाडौं’ कार्यक्रम सञ्चालन गर्नेछौं । यसमा सतहको पानी जमिन मुनि पठाउने काम हुनेछ । त्यस्तै समुदायमा आधारित आकाशे पानी संकलन बिधि जडान गर्ने नीतिबमोजिम पानीको अभाव भएका समुदायमा यस्तो प्रबिधि जडान गर्नेछौं । छलफलका क्रममा पूर्वमन्त्री गणेश शाहले — होटल, हस्पिटल, स्कूल र हाउजिङ् (फोर यच) सबैभन्दा बढी पानी चाहिने ठाउँ हुन् । ती ठाउँमा आकाशे पानी संकलन कार्यलाई प्राथमिकता दिनुपर्छ । उहाँले — पानीलाई बिकास व्यवस्थापनको अभिन्न अङ्ग बनाउने बिषयमा उपत्यकाका स्थानीय तहको एउटै कार्यक्रम हुनु पर्नेमा जोड दिनुभयो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बितरण गर्ने पानीको ५० प्रतिशत भाग भूमिगत छ । डिप बोरिङ्बाट निकालिने यस प्रकारको पानीले काठमाडौंको प्राकृतिकपनलाई असन्तुलित बनाउँदै लगेको छ । छलफलका क्रममा गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले भन्नुभयो — राष्ट्रिय आकाशे पानी सम्मेलनको एउटा सत्रमा बिगतका नीति किन कार्यान्वयनका जटिलता बिश्लेषण हुनेछ । काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन प्रणाली जडान गर्नेलाई नक्सा पास दस्तुरमा १० प्रतिशत छुट दिएको थियो तर त्यो सेवा लिने कोही आएनन्? कारण के हो? समीक्षा गर्ने बेला आएको छ । अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा सम्मेलनले स्पष्ट नीतिगत तथा कार्यक्रम निर्धारण गर्न सक्नुपर्छ ।

यी बिषयलाई सम्बोधन गर्न काठमाडौं महानगरले नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैको निरन्तरता चालु आर्थिक बर्षको नीतिमा — खानेपानी र सरसफाइसँग सम्बन्धित समस्यालाई व्यवस्थापन गर्न क्षेत्रगत कार्यक्रमबीच अन्तरसम्बन्धित बनाएर सञ्चालन गर्ने नीति अघि सारेको छ । गएको महिना सम्पन्न ५ औं नगरपरिषद्को बैठकबाट स्वीकृत बार्षिक नीति तथा कार्यक्रममा यस मुद्दालाई जलबायु परिवर्तन, भौतिक पूर्वाधार, फोहोरमैला व्यवस्थापन र बिपद् व्यवस्थापन जस्ता क्षेत्रसँग जोडेको छ । स्वीकृति नीतिबमोजिम आर्थिक बर्ष २०७६÷०७७ का कार्यक्रम सञ्चालन हुँदा — जलबायु परिवर्तनका समस्या समाधान गर्न रिचार्ज काठमाडौं, बिपद् व्यवस्थापनअन्तर्गत समुदायमा आकाशे पानी संकलन गर्ने बिधि अबलम्बन गर्ने, खानेपानी तथा सरसफाइ नीति महानगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लगायत नीति अबलम्बन गरिने भएको छ । यस नीतिमा भनिएको छ — महानगरभित्र खानेपानी वितरण प्रणालीलाई सुदृढ गरी महानगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने नीति लिइनेछ । यसका लागि परम्परागत पानीको श्रोतको संरक्षण, सम्बर्धन र प्रबर्धन गरिनेछ । साथै महानगरपालिकाको सुखा क्षेत्रमा पानी वितरण गर्न स्थानीय स्तरका क्लब तथा उपभोक्ता समितिसँग सहकार्य गरी पानीको पहुँच बृद्धि गरिनेछ । काठमाडौं महानगरपालिकालाई पूर्ण सरसफाईतर्फ उन्मुख गराइनेछ । सार्वजनिक शौचालयहरुमा आम जनताको पहुँच बृद्धि गरिनेछ । यससँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ब्यबस्थापनलाई सुदृढीकरण गर्न महानगरपालिकाको भूमिकालाई थप प्रभावकारी बनाउने कुरा उल्लेख छ ।

खानेपानी तथा सरसफाइ सम्बन्धि अन्य केही मुख्य व्यवस्थाहरु

समुदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशे पानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिईनेछ । उक्त कार्यको लागि साझेदारी स्वरुप महानगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिनेछ । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र ब्यबस्थापन निर्देशिकालाई अन्तिम रुप दिई कार्यान्वयनमा लगिनेछ । हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, स्तरोन्नति गर्ने कार्यको शुरुवात् गरिनेछ । प्राथमिकताको आधारमा थप सार्वजनिक शौचालयहरु निर्माण तथा सञ्चालन गरिनेछ । सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच बृद्धि गर्न रेष्टुरेन्ट, सपिङ्ग मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाहरुका शौचालयहरुसमेत प्रयोग गर्न सक्ने ब्यबस्थाका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । सेप्टिक ट््याङ्क सफाई सेवा प्रदायकलाई नियमन गर्ने र दिशाजन्य लेदो ब्यबस्थापनको लागि आवश्यक पूर्वाधारको क्रमिक विकास गरिनेछ । सहरी पूर्वाधार बिकास नीतिमा — काठमाडौं महानगरपालिकाको सतह ढल तथा फोहोर पानी ढलको हालको अवस्थाको सूक्ष्म अध्ययन गरी सुधारको लागि बृहद गुरुयोजना तयारीलाई अगाडी बढाइनेछ । काठमाडौंका विभिन्न क्षेत्रमा बर्षेनी हुने डुबानलाई नियन्त्रण गर्न विभिन्न उपायहरुको खोजी गरी कार्यान्वयनमा लैजान पहल गरिने कुरा उल्लेख छ ।

वातावरण तथा विपद ब्यबस्थापन नीति ः

“स्वच्छ हावा, स्वस्थ जीवन” लाई साकार पार्न वायु प्रदुषण नियन्त्रण, फोहरमैला व्यवस्थापन, पानी र फोहर पानी व्यवस्थापन, खुल्ला स्थान र हरियाली व्यवस्थापन र उर्जा तथा जलवायु परिवर्तन सम्बन्धि एकीकृत कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइनेछ ।

जलवायु परिवर्तन अनुकूलन नीति ः

जमिनमुनिको पानीको सन्तुलित सतह कायम गर्न रिचार्ज काठमाडौं अभियान सञ्चालन गरिनेछ । मौसम परिवर्तनबाट हुनसक्ने प्रतिकुलताको सामना गर्न काठमाडौ उपत्यकालाई ग्रीन तथा इनर्जी इफिसियन्ट सिटीका रुपमा रुपान्तरण गर्न आगामी आर्थिक बर्षमा काठमाडौंको सहरी पारिस्थितिकीय प्रणाली तथा जैविक विविधता सम्बन्धमा बृहद छलफल तथा अध्ययन गरी दीर्घकालिन रणनीति तयार गरिनेछ ।

Source: Kathmandu Online

 

Go to top