उल्टो छाताले खानेपानीमन्त्रीलाई दियो सुल्टो ज्ञान

१३ श्रावण २०७६, सोमबार ०९:२७

काठमाडौ : ‘अक्षर सुल्टो पार्दा छाता उल्टो हुँदोरहेछ, छाता सुल्टो बनायो फेरि अक्षर उल्टो हुँदोरहेछ, एकैछिन त म अल्मलिएँ । मैले पो हेर्न नजानेको हो कि भनेर फेरि हेरें, फेरि उस्तै देख्छु । अनि बनाएकै यस्तै रहेछ भनेर त्यसभित्र अर्थ खोज्न थाले ।

 

यो भनाई आकाशेपानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलनको समापनको क्रममा खानेपानीमन्त्री बिना मगरले व्यक्त गर्नुभएको हो । भएको के रहेछ भने स्मार्ट वाटर सोलुसन्स्ले प्रकाशन गरेको मुखपत्र मन्त्री मगरलाई थमाईएछ । उक्त मुखपत्रको आवरणमा आकाशेपानी संकलनलाई व्याख्या गर्ने किसिमको बिम्ब कोरिएको थियो । जहाँ छातालाई उल्ट्याउँदा त्यसमा पानी थेग्रिएको चित्र थियो ।

एकैछिनको मन्थनपछि उहाँले निष्कर्ष निकाल्नु भएछ । हो वास्तवमा हाम्रा विकास संरचना यस्तो हुनुपर्ने हो । तर अहिले सुल्टो छाता जस्तै बनेका छन् । पानी पर्छ तर जमिनले सोस्न पाउँदैन र छाताबाट पानी तर्के जस्तै क्षणभरमा ढल मार्फत खोलानालामा पुग्छ ।‘मैले निक्कै बेर सोचें, छाता उल्टो पार्दा बर्षातको पानी जम्मा हुन्छ, हामीले सुल्टो छाता जस्तो पूर्वाधार बनाउँदा पानी तैरिरहेको छ । अब हामीले तैरिने होइन कि पानी पुनर्भरण हुने अर्थात जमिनले पानी सोस्ने खालको बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

आकाशेपानी संकलन गरी खानेपानी तथा घरायसी प्रयोजनका लागि उपयोग गर्ने वर्तमान परिप्रेक्ष्यमा अति नै समय सापेक्षा र उपयोगी हुने उहाँको धारणा थियो । खोला बेसीमा बग्ने तर बस्ती नै पहाडको थुम्कोमा हुने भएकाले खानेपानी सुविधा पु्याउन धेरै गाह्रो भईरहेको समयमा आकाशेपानी संकलन गरी प्रयोग गर्ने बिषय उत्तम विकल्प हुने उहाँले बताउनुभयो ।उहाँले भौगोलिक तथा आर्थिक कठिनाईका कारण कतिपय बस्तीमा खानेपानी सुविधा पु्याउन मन्त्रालयलाई टाउको दुखाईको बिषय भएको बेला आकाशेपानी संकलनलाई व्यापक बनाईनुपर्ने उहाँले बताउनुभयो ।

सम्मेलन आयोजकले सम्मेलनको निष्कर्ष सहित ७ बुदे सुझावपत्र खानेपानीमन्त्री बिना मगरलाई बुझाएको छ । मन्त्री मगरले यसको परिपालनाका लागि सबैको दायित्व उत्तिकै रहेको बताउनुभयो ।सम्मेलनमा ३८ वटा संघसंस्थाको प्रत्यक्ष संलग्नता रहेको र सम्मेलन पूर्ण रुपमा सफल भएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रामदिप शाहले जानकारी दिनुभयो । दुई दिनसम्म चलेको सम्मेलनमा ६ वटा सत्रमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनको समापन खानेपानीमन्त्री बिना मगरले गर्नुभयो ।

 

Source:WASH Khabar