प्रकाशित मिति : २०७६ श्रावण १२ आइतबार
काठमाडौं। नेपालमा वर्षातको पानी संकलन गर्न सामुदायिक उपयोगको लागि पोखरी बनाइएको स्मरण गराउदै सरोकारवालाहरुले यसलाई फेरी व्युताउन आग्रह गरेका छन। नेपालमा वर्षातको पानी संकलन गर्न घरघरमा बलेनी र पदालोको व्यवस्था गरिएको तथा टोलटोलमा पोखरी बनाइएकाले यस्ता मौलिक परम्परालाई पुनःजागृत गराउनु पर्ने आवश्यकता बिज्ञहरुले आग्रह गरेका छन।
ई. रामदिप साहले मनसुनी वर्षा तथा हिउँदमा पश्चिमी बायुका प्रभावले हुने वर्षाको पानीलाई घरघरमा र समुदायमा संकलन गर्ने प्रबन्ध गर्न सकियो भने देशभर देखिएको खानेपानीको संकटबाट सिंगो देशलाई मुक्त गर्न सकिने विश्वास व्यक्त गरे।आयोजक समितिका अध्यक्ष साहले आकाशबाट परेको पानी जमिन भिज्न नपाउदै ढल र नलबाट खोलामा पुग्ने ढंगले जसरी शहरी विकास भैरहेको छ, त्यसलाई परिवर्तन गरी बर्षाको पानी संकलन गरी शहर र बजारका मध्य तथा पृष्ठ भागमा तलाउ र पोखरी निर्माण गरी सौन्दर्यीकरण गर्न शहरी योजनाकारहरुलाई समेत यस सम्मेलनले अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।
स्मार्ट वासका सल्लाहकार तथा पूर्वमन्त्री ई.गणेश साहले खानेपानी, ऊर्जा र खाद्यान्नमा नेपालीहरु उपभोक्ता मात्र नभई घर वा जग्गा वा दुवै हुने व्यक्ति उत्पादक पनि बन्न सक्ने अवस्था रहेकोले यसलाई उपयोग गर्न आग्रह गरे। शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको लागि वर्षाको पानीको संकलन अपरिहार्य भैसकेको उनले बताए।ई. लक्ष्मीप्रसाद देवकोटाले भूकम्पले पानीको बर्षोदेखिको मुहानका स्रोतहरु छिन्नभिन्न पार्नुका साथै विकासको नाममा पहाडी क्षेत्रमा चलाइएको डोजर आतंकले कहि पानीको मुहान उधिन्ने र कही पुर्ने गरेकोले पहाडमा पानीको स्रोत सुक्दै गएकोलाई तत्काल रोक्नुपर्ने धारणा राखे।
नेपालमा ४ महिना वर्षाको कारण पानी अधिक हुने, ४ महिना सामान्य हुने र ४ महिना अभावै हुने भएकोले वर्षाको पानीको समुचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बिज्ञहरुले औल्याएका छन।घरको छानामा पर्ने पानीको सकलन,सामुदायिक प्रयोजनको लागि पोखरीको निर्माण र मर्मत संभार सहित पानी पुर्नभरण र मुहानसंरक्षणकालागि वन पोखरीको व्यवस्था गर्न सके पहिरो र बाढीको प्रकोप कम हुन गई तराईको डुवान समस्या पनि कम हुने उनको दाबी रहेको छ।
कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रमाकान्त दवाडीले खानेपानीका जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरु विकास गर्ने बताए। आयोजकले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र सहभागीहरुको छलफलबाट प्राप्त भएका निष्कर्षहरु नेपाल सरकारका सम्बन्धित निकाय, प्रादेशिक र स्थानीय सरकारहरुसमक्ष पनि पुर्याइने बताएको छ।बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौमा वर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने र पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायहरुलाई जागरुक बनाउने उद्देश्यले राजधानीमा जारी राष्ट्रिय सम्मेलन आइतबार सकिदैछ। स्मार्ट वास सोलुसन र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त आयोजना तथा खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोगमा हिजोदेखि सम्मेलन सुरु भएको हो। भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको छ।
सम्मेलनको व्यवसायिक सत्रमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, वर्षातको पानी संकलनबाट जलाधार तथा पारिस्थितिय चक्र आकाशे पानी संकलन प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तीय सहयोग, पानीको अभाव,जलवायु परिवर्तन र अनुकूलनसंग २५ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन्। सम्मेलनको अवधिमा वर्षाको पानी संकलन प्रविधिका बारेमा काम गरिरहेका संघ संस्थाहरुले उपयोगी प्रविधिका बारेमा अवलोकनकर्ताहरुलाई जानकारी गराउन प्रदर्शनी पनि गर्ने बताएको छ।सम्मेलन आयोजनाको निमित्त स्मार्ट वास सोलुसनका अध्यक्ष ई.रामदीप साहको अध्यक्षतामा विभिन्न प्रतिनिधिहरु रहेको एक आयोजक समिति गठन भएको छ। त्यस्तै सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको संकलन,छनौट र सम्पादन गर्न डा.गुणनीधि पौडेलको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति र स्मार्ट वाटर सोलुसनका अध्यक्ष ई. रामदीप साहको अध्यक्षतामा एक व्यवस्थापन समिति बनेको छ।
पृथ्वीको दुई तिहाई खण्ड पानीले ढाकेपनि त्यसको २.५ प्रतिशत पानीमात्र पिउनको लागि सुरक्षित पृथ्वीको दुई तिहाई खण्ड पानीले ढाकेपनि ९७.५ प्रतिशत अंश नुनिलो पानीले ओगटेको छ। बाँकी २.५ प्रतिशत पानीमात्र पिउनको लागि सुरक्षित रहेको छ। यसमध्येको ठूलो अंश १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबमा हिउँको रुपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतको रुपमा जमिनमुनि रहेको छ। अहिले विश्वको जनसंख्याको करिब १.३ प्रतिशतले आकाशे पानी संकलनबाटै घरायसी आवश्यकता पूरा गरेको र विकासोन्मुख मुलुकमा ग्रामीण क्षेत्रका २.४ प्रतिशत जनसंख्याले यस्तो वर्षातको पानी संकलनबाट पानीको आवश्यकता पूर्ति गरिरहेका छन। नेपालको ८८ प्रतिशत जनसंख्याबीच पाइप प्रणालीबाट खानेपानीको सुविधा पुगेको छ। जलवायु परिवर्तनका कारणले वर्षाको प्रवृत्तिमा हुन गएको परिवर्तन र मुहान संरक्षणमा भएको वेवास्ताका कारण खहरे प्रकृतिका खोला र नदीको पानीमा आधारित खानेपानी प्रणालीबाट हिउँदमा नियमित पानी आपूर्ति हुन सकेको छैन।
Source: hamrokura.com