सात बुँदे सुझाव जारी गर्दै आकाशेपानी संकलन सम्बन्धी दुइ दिने राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौ १३ साउन ।

आकाशेपानी संकलन सम्बन्धी दुइ दिने राष्ट्रिय सम्मेलन राजधानीमा भब्यतापुर्वक सम्पन्न भएको छ ।समापनको क्रममा खानेपानीमन्त्री बिना मगरले आकाशेपानी संकलन गरी खानेपानी तथा घरायसी प्रयोजनका लागि उपयोग गर्ने वर्तमान परिप्रेक्ष्यमा अति नै समय सापेक्षा र उपयोगीे धारणा भएको बताएकी छिन् । खोला बेसीमा बग्ने तर बस्ती नै पहाडको थुम्कोमा हुने भएकाले खानेपानी सुविधा पु्याउन गाह्रो भईरहेको समयमा आकाशेपानी संकलन गरी प्रयोग गर्ने बिषय उत्तम विकल्प हुने उनले बताइन् ।

भौगोलिक तथा आर्थिक कठिनाईका कारण कतिपय बस्तीमा खानेपानी सुविधा पु्याउन मन्त्रालयलाई टाउको दुखाईको बिषय भएको बेला आकाशेपानी संकलनलाई व्यापक बनाईनुपर्ने मन्त्री मगरको धारणा थियो । आयोजकले सम्मेलनको निष्कर्ष सहित ७ बुदे सुझावपत्र खानेपानीमन्त्री बिना मगरलाई बुझाएको छ । मन्त्री मगरले यसको परिपालनाका लागि सबैको दायित्व रहेको बताइन् । सम्मेलनमा ३८ वटा संघसंस्थाको प्रत्यक्ष संलग्नता रहेको र सम्मेलन पूर्ण रुपमा सफल भएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रामदिप शाहले जानकारी दिए । दुई दिनसम्म चलेको सम्मेलनमा ६ वटा सत्रमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनको समापन खानेपानीमन्त्री बिना मगरले गरिन् ।

सुझावहरु 

१. मानिसको जीविकोपार्जन उकास्न, पानीको समस्या र यससँग सम्बन्धित सेवाहरु प्रवाह गर्न र पानीको समस्याहरु समाधान गर्न आकाशेपानी संकलन एउटा गतिलो विकल्प हो । त्यसैले नेपालमा आकाशेपानी संकलनको प्रबद्र्धन गर्न जरुरी छ ।

२. निम्न क्षेत्रहरुमा मानिसको सोचमा व्यापक परिवर्तन हुन जरुरी छ ।

— आकाशेपानी घरेलु कामका लागि मात्र नभई खानेपानी र अन्य कामका लागि बहुउपयोगी छ भन्ने धारणाको विकास हुनुपर्ने । खानेपानीको व्यवस्थापन, र पर्यावरणीय सन्तुलनका लागि पनि यो महत्वपूर्ण छ ।

— आकाशे पानी संकलनको काम घरायसी, सार्वजनिक तथा संस्थागत सबै तहहरुमा प्रबद्र्धन गर्नुपर्छ ।

— आकाशेपानी संकलनलाई ग्रामीण क्षेत्रमा मात्र सीमित राख्नु हुँदैन । यसको आवश्यकता अझ शहरी क्षेत्रमा बढी छ र गरिब तथा धनी दुवैका लागि समान एवं लाभदायी छ ।

— आकाशेपानी संकलनको व्यवस्थापन, संरक्षण, पानीको गुणस्तर, विपद व्यवस्थापनका मुद्दाहरुलाई पनि जोड दिनुपर्छ ।

३. विभिन्न अध्ययनहरुले आकाशेपानी संकलन गर्न सकिन्छ र यसको आवश्यकता पनि छ भन्ने दर्शाएको छ ।

— अहिले आकाशेपानी संकलनको बिषयमा जे थाहा छ, त्यो भन्दा बढी प्रविधिहरुको प्रयोग गरी आकाशेपानी संकलनको कामलाई बढावा दिनुपर्छ ।

— आकाशेपानी संकलनको सुविधा प्रदान गर्दै आएका नीजि क्षेत्रहरुलाई आकर्षित गर्न व्यापारिक हिसाबले पनि यो क्षेत्र उत्तम छ भन्ने अवस्था सिर्जना गर्नुपर्छ । यसका लागि विशेष सहुलियत प्रदान गर्नुपर्छ ।

— अन्तराष्ट्रिय सहकार्यमा जोड दिने र आकाशेपानीको क्षेत्रमा सफलता हासिल गरिसकेका अनुभवी राष्ट्रहरुको घटना अध्ययनबाट केही सिक्ने, सिकाउने ।

४. आकाशेपानीलाई जुनसुकै काममा प्रयोग गर्दा पानीको गुणस्तरमा ध्यान दिनुपर्छ । यसकारण पानीको गुणस्तर व्यवस्थापनका लागि अनुगमन अति जरुरी छ ।

५. आकाशेपानी संकलन सँग सम्बन्धित नीति, नियम, निर्देशिकाहरुलाई सरकारले अद्यावधिक गर्ने, अनुगमन गर्ने र कार्यान्वयन गर्ने, आकाशेपानी संकलन सम्बन्धी सबै तहको सरकारको भूमिकालाई पनि स्पष्ट पार्नुपर्छ ।

६. आकाशेपानी संकलन प्रति जनचेतना जगाउन विशेष सचेतना अभियानहरु सन्चालन गर्नुपर्छ । आकाशेपानी संकलनको बिषयलाई पाठ्यक्रममा समेत समावेश गर्नुपर्छ ।

७. नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणालाई अनुशरण गर्नुपर्छ । अहिलेको नयाँ सूचना र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ । अझ काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधानका लागि कोरियन विशेषज्ञता र अनुभवको प्रयोग गरी पहल गर्न सकिन्छ ।

सम्मेलनको पहिलो दिन ३ सय भन्दा बढी र दोस्रो दिन २ सय भन्दा बढीले सहभागिता जनाएका थिए । सम्मेलनमा ३८ वटा संघसंस्थाको प्रत्यक्ष संलग्नता रहेको र सम्मेलन पूर्ण रुपमा सफल भएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रामदिप शाहले जानकारी दिनुभयो । दुई दिनसम्म चलेको सम्मेलनमा ६ वटा सत्रमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनको समापन खानेपानीमन्त्री बिना मगरले गर्नुभयो ।

Source: Businesspati Media Pvt. Ltd.

 

Go to top