पानी झर्दैन, मिटर चढिरहन्छ

१४ साउन २०७६ ०६:०९:००

काठमाडौं : कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान अन्नपूर्ण टोली त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं।उपभोक्ता महसुल बुझाउन फाट्टफुट्ट आइरहेका थिए। उनीहरूको एउटै गुनासो थियो, ‘धारामा पानीको थोपो झर्दैन, पैसा भने महिना दिन तिर्नैपर्छ नत्र जरिबाना लाग्छ।

 

धारामा पानी नआए पनि काठमाडौं उपत्यकाबासीले महसुल तिर्नुपर्छ। ‘सातामा एकचोटि पानी आउँछ तर त्यो पनि ठेगान हुँदैन,’ काठमाडौं–२१ भोटेबहालका सानोभाइ डंगोलले भने, ‘मेलम्ची आउँछ कि भन्ने आसमा पैसा तिर्न आएको।’ उनले पानी नआए पनि आफूले नियमित महसुल तिररहेको बताए।‘मेलम्चीको कुरा सुन्दासुन्दै बूढो हुने भएँ। एक दिन त कसो नआउला,’ उनले भने, ‘मेरा पालामा नआए पनि छोराछोरीको समयमा आउला नि। उनीहरुका लागि भए पनि तिरिदिनुपर्‍यो।’

किनेर खानुपर्ने बाध्यता

कलंकी मन्दिरका लभप्रसाद दाहालले महिनाको १० हजारको पानी किनेर खानुपर्ने बाध्यता सुनाए। उनले ट्यांकरको पानी किनेर खाइरहेका छन्। ‘महिनाको तीनपटकसम्म ट्यांकरको पानी किन्छु। एक ट्यांकरको २ हजार पाँच सय तिर्छु’, उनले भने, ‘धारामा पानी नआए पनि महिनाको ५७० रुपैयाँ महसुल तिरिरहेको छु। पिउन त जारको पानी किन्नैपर्‍यो। एक जारले तीन दिन पनि पुग्दैन।’थापाथली शाखाका भेटिएकी काठमाडौं–१४ कंलकी घर भएकी भवानी दाहालको समस्या अर्कै पाइयो। उनी विदेश गएका बेला घरमा दुईपटक पानीको मिटर चोरिएको बताइन्। केयूकेएलका कर्मचारीले मिटर राख्न तारन्तार थर्काउने गरेको दाहालले गुनासो सुनाइन्। ‘मिटर हाल्ने भए हाल्नुहोस् नत्र ९ हजार जरिबाना लाग्छ भन्दै थर्काउँछन्,’ उनले भनिन्, ‘चोरेर खाँदैनैाँ नि, बाहिर गएको बेला चोरियो त के गर्ने ? ’

 

बाढीका कारण कंलकीमा १५ दिनदेखि खानेपानी आपूर्ति ठप्प छ। ‘१५ दिन जति भयो, धारामा पानी आएको छैन,’ उनले भनिन्, ‘पाइप नै बाढीले बगाएर लगेको छ। त्यो बनाउन भन्दा कर्मचारी त मलाई थर्काउँछन्।’

पानी नआए पनि जरिबाना

काठमाडौं १२ बह्मटोलका रत्नबहादुर श्रेष्ठले महिनाको ४÷५ पटक मात्रै पानी आउने गरेको बताए। ‘पानी नआए पनि पैसा लिइहाल्छन्, नतिरे जरिबाना तिर्नुपर्छ,’ उनले भने। उनले एक हजार ७ सय रुपैयाँ महसुल बुझाए। छिमेकीले ठूलाठूला मोटर राखेर तानिदिएका कारण आफ्नो घरमा पानी नआएको उनको भनाइ छ। ‘मेरा घर लास्टमा छ, अरूले मोटरले तान्छन्, मेरोमा पानी आइपुग्दैन। बिल तिर्न भने म महिनावारी आइरहन्छु,’ उनले भने।कतिपय स्थानमा सडक र ढल खन्दा पाइप भाँचिएका छन् भने कतिपय ठाउँमा मेलम्ची पाइप बिछ्याउने क्रममा पाइप चुँडिएका छन्। काठमाडौं–१२ टेकुका धर्मनारायण महर्जनको घरको धारामा एक महिनादेखि एक थोपा पनि पानी झरेको छैन। उनका अनुसार समरुबहाल, हिनाखाः चोल्खुलगायतका क्षेत्रमा एक हजार घरपरिवार खानेपानीबाट वञ्चित छन्। महर्जनले पटकपटक केयूकेलसमक्ष गुनासो पनि राखे। तर सुनुवाइ भएको छैन। ‘अब बुधबारसम्म बन्छ भनेका छन्, तर त्यसको ठेगान छैन,’ उनले भने। उनका अनुसार बाढीले खानेपानीको पाइप बगाइदिएको छ।

‘खानेपानी कार्यालयकै धारामा पानी छैन’

केयूकेलको बौद्ध महाकांल कार्यालयमा रहेको शौचालयकै धारामा पानी छैन। यहाँ आउने उपभोक्ताको गुनासो पनि उस्तै छ। ‘पानी नै आउँदैन, पैसामात्र तिर्नुपर्छ,’ उनीहरूको साझा गुनासो हो। बौद्धमा रहेको एक कार्यालयले त सात वर्षदेखि महसुल नतिरेको पाइयो। ती कार्यालयका दुई व्यक्तिहरू महसुलबारे बुझ्न आउँदा थाहा पाए, सात वर्षदेखि महसुल जरिबानासहित ९० हजार पुगेको थियो।

मिटर छैन कार्यालयमा

नयाँ धारा जडानका लागि होस् या पुरानै उपभोक्ता, मिटर जडानका लागि महाकांल पुग्छन् तर कर्मचारी भन्छन्, मिटर नै छैन। उपभोक्ताको प्रश्न हुन्छ– मिटर कहिले आउँछ त ? ‘एक महिनापछि आउनुहोला, त्यतिबेलासम्म आउँला कि मिटर पनि,’ कर्मचारीले रेडिमेड जबाफ दिन्छन्। दुई जना युवा मिटर जडानका लागि बुझ्न प्रशासन फाँटमा पुगे। उनीहरूले त्यहाँ रहेका कर्मचारीलाई सोधे, ‘मिटर छ कि सर ? ’

प्रशासन प्रमुखले १०÷१२ वटा मिटर रहेको बताए। तर छेउमै रहेका दुई कर्मचारीले मिटर छैन भन्दै प्रमुखलाई उल्टै सोधे, ‘तपाईंले मिटर देख्नुभएको छ ? एउटा पनि मिटर छैन।’ अर्का कर्मचारीले भने, ‘पानीपोखरी कार्यालयमा मिटर आएका छन्, अहिले परीक्षणका क्रममा छन्, एक महिना पछि यहाँ आइपुग्लान्।’ मिटर नभएको बताउने कर्मचारीले पानीपोखरीमा पनि मिटर नरहेको दाबी गरे। उनले उपभोक्तालाई भने, ‘एक महिनापछि आउनुहोला, भए प्राविधिकले जडान गरिदिन्छन्।’ उपभोक्ताले पानीको मिटर जोड्नु अनिवार्य हुन्छ तर खानेपानी कार्यालयमै मिटर नपाइने समस्या भने सधैंको उस्तै छ।

पैसा तिरेर पनि सुबिस्ता छैन

केयूकेलमा पैसा तिरेर सुबिस्ता नरहेको उपभोक्ताले गुनासो गरे। ‘पैसा तिरे पनि सुबिस्ता छैन। पैसा मात्र लिन्छ,’ भोटेबहालका सानोभाइ डंगोलले भने, ‘पानी आउँदैन, ट्युबेलको पानी प्रयोग गर्नुपर्छ। किनेर पानी खानुपर्छ।’ पानी नआउने भए कि महसुलमा छुट दिनुपर्‍यो होइन भने उपभोक्तासँग लुट्ने काम भइरहेको छ,’ उपभोक्ताको भनाइ छ।गुर्जुधाराका रमेश लम्सालले पानी व्यवसायीको प्रभाव परेर काठमाडौंको खानेपानी समस्या समाधान नभएको बतााए। उनले मेलम्ची नआउनु प्रमुख कारण नै ट्यांकर व्यवसाय भएको दाबी गरे। ‘उनीहरुको प्रभावमा परेर नेताहरु नै मेलम्ची ल्याउन चाहँदैनन्,’ उनले भने।

Source: Annapurna Post

Go to top