आकाशे पानी संकलन र व्यवस्थापन गर्ने संकल्पसहित राष्ट्रिय सम्मेलन सम्पन्न

१३ श्रावण २०७६, सोमबार

न्युजअफ नेपाल, काठमाडौं । नेपालमा बर्षाको समयमा उत्पन्न हुने बाढी पहिरो डुवान जस्ता समस्या र हिउँदमा पर्ने खानेपानीको चरम संकटलाई निवारण गर्ने एकमात्र दिगो र भरपर्दो उपाय आकाशे पानीको संकलन र व्यवस्थापन भएकोले यस क्षेत्रमा गम्भीरतापूर्वक तत्काल काम थाल्न तीनै तहका सरकारलाई अनुरोध गर्दै काठमाडौंमा आयोजित “जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन” विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

 

सम्मेलनले सात बूँदे संकल्प प्रस्ताव पनि पारित गरेको छ । जसमा वर्तमानमा देखिएको खानेपानीको संकट निवारण ,पानीजन्य विपद् न्यूनीकरण तथा परिस्थितिय चक्र(इकोसिस्टम) संरक्षणका कालागि बर्षातको पानीको संकलन र व्यवस्थापन अपरिहार्य रहेकोले बर्षाको पानी संकलनका प्रयास र कार्यक्रमहरुलाई तीव्रदरमा बढाउनुपर्ने, वर्षातको पानी संकलन र व्यवस्थापनमा भएको नेपालको मौलिक ज्ञान,अभ्यास र परम्परालाई पुनर्जीवित गर्दै त्यसलाई उपयुक्त प्रविधिद्धारा समृद्ध बनाउनु पर्ने, बर्षाको पानी संकलन गरी खानेपानीको व्यवस्थापन सहित बहुउद्देश्यीय उपयोगितामा काम गर्न निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने, बर्षाको पानी संकलन र व्यवस्थापनमा ज्ञान र अनुभव आदानप्रदान गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्नुपर्ने, वर्षाको पानी संकलन र उपयोगितामा त्यसको गुुणस्तरमा ध्यान दिनुपर्ने, यससम्बन्धमा भएका नीति नियम र कार्यक्रमहरुको कार्यान्वयन तदारुकतासाथ गरेर आम नागरिकलाई लाभान्वित बनाउन सबल अनुगमन र मूल्यांकन पद्धतिको विकास गर्नुपर्ने, बर्षाको पानीको संकलन र व्यवस्थापनमा काम गर्न स्थानीय निकायलाई अग्रसर गराउनुपर्ने र उनीहरुलाई उपयुक्त प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्नुपर्ने,खानेपानीको उचित व्यवस्थापनमा कोरियाले हासिल गरेको ज्ञान र विकास गरेको प्रविधि नेपालका लागि पनि उपयोगी भएकोले स्मार्ट ग्रीड अवधारणाको अबलम्बनमा ध्यान दिनु पर्ने जस्ता विषयहरु समेटिएका छन् ।

सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै खानेपानी मन्त्री बिना मगरले सरकारले खानेपानीको आपूर्तिमा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र संविधानले प्रदत्त गरेको स्वच्छ खानेपानीको अधिकार जनतालाई प्रदान गर्न बर्षातको पानीको संकलन र व्यवस्थापनले निकै सघाउ पुग्ने बताउनुभयो ।उहाँले नेपालका शहरी क्षेत्रको संरचना बर्षातको पानी तर्काउने ढंगले निर्माण गरिएकाले पानी जमीनमा पुनर्भरण हुन नपाएर स्रोतहरु सुक्ने तथा छोटो समय परेको पानीबाट समेत बाढी,पहिरोका समस्या देखिने गरेको बताउनुभयो । पानीकै अभावका कारणले आवश्यक सरसफाईमा ध्यान नपुगेकोले नेपालमा जातिय तथा महिनाबारी हुँदा महिलाहरुलाई समेत पारिवारिक विभेद हुने गरेको बताउनुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री गणेश साहले यस सम्मेलनले बर्षातको पानी संकलन र व्यवस्थापनमा ज्ञानको बृद्धि गराएको बताउनुभयो । २ दिने सम्मेलनमा ३० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए । सम्मेलनमा नगरपालिकाका निर्वाचित प्रमुखहरुको सहभागिताले पानीको संकट भोगेका नगरपालिकाले संकट टार्नका लागि बर्षातको पानी घरघर र समुदायमा उपयोग गर्ने कार्यक्रम तर्जुम गर्न सघाउने पनि बताउनुभयो । कार्यक्रममा भएको युवा वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीहरुको सहभागिताले नयाँ पुस्तालाई बर्षातको पानीको संकलन र व्यवस्थापनमा पर्याप्त ज्ञान पुगेको दावी पनि उहाँले गर्नुभयो ।

समापन समारोहमा स्मार्ट वासका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले सम्मेलनको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । जलस्रोत,ऊर्जा तथा सिंचाई मन्त्री बर्षामान पुनबाट शनिवार समुद्घाटन भएको यस सम्मेलनमा शनिवार र आइतबार एक एक वटा प्लेनरी सेसन सम्पन्न भएका थिए भने आइतबार ४ वटा समानान्तर सेसन, स्थानीय निकायका प्रतिनिधिहरु सहभागी भएको नगरपालिका विशेष शत्र पनि सञ्चालन भएको थियो । सम्मेलन स्थलमा बर्षाको पानी संकलन र व्यवस्थापनमा कार्यरत विभिन्न संस्था र निजी क्षेत्रले १० वटा प्रदर्शनी कक्ष पनि राखेका थिए ।सम्मेलनमा खानेपानीको क्षेत्रमा कार्यरत नेपाल सरकारका निकाय,विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु तथा कोरिया,श्रीलंका र बंगलादेशका सहभागीहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।मन्त्री विना मगरले सम्मेलनका अवसरमा भएको पोष्टर प्रतियोगितामा प्रथम हुने लाई पुरस्कृत गर्नुको साथै कार्यपत्र प्रस्तोता,आयोजक र सहयोगी संस्थाहरुलाई प्रमाणपत्र पनि प्रदान गर्नुभएको थियो ।

Source: newsofnepal.com

 
 

Go to top