दस दिनमा पानी

 केयूकेएलको कार्यालय दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । वैकल्पिक व्यवस्था हुन नसक्दा खानेपानीको समस्या थपिँदै गएको छ । भक्तपुर — जगाती, बासिकचा क्षेत्रका बासिन्दाले गाग्री भर्न नपाएको तीन महिना बित्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा २ दिन वितरण गर्दै आएको पानी तीन महिनादेखि ठप्प भएको स्थानीयको गुनासो छ । भक्तपुर नगरका अधिकांशले ट्यांकरको भरमा पानीको उपभोग गर्दै आएका छन् ।

 

भक्तपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेन्द्र खायमलीका अनुसार लिवाली आवास विकास आयोजनामा ६ सय १० घरधुरी अवस्थित छ । जसमध्ये आयोजनामा निर्मित करिब १ सय ३० घरधुरीमा मात्र खानेपानीको पाइप लाइन बिच्छ्याएको छ ।पाइप लाइन बिच्छाइएको स्थानमा समेत ९/१० दिनको एकपल्ट पानी आउँछ । बाँकी घरधुरीका बासिन्दा ट्यांकरको पानी किनेर उपभोग गरिरहेका छन् । नगरक्षेत्रभित्र पानीको स्रोत नहुँदा खानेपानीको हाहाकारको अवस्था रहेको वडाध्यक्ष खायमली बताउँछन् । ‘नगरको मुख्य चुनौती खानेपानीको व्यवस्थापन भएको छ,’ उनले भने, ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडले लिवाली क्षेत्रमा पाइपसमेत बिछ्याउन सकेको छैन ।’

नगरपालिकाले आवास क्षेत्र आयोजना गर्दा पानीलाई प्राथमिकमा राख्न नसक्दा स्थानीय बासिन्दाले ट्यांकरमा भर पर्नुपरेको उनी स्विकार्छन् । पाइप बिच्छ्याएको ठाउँमा समेत पानी वितरण गर्न छोडेको उनको गुनासो छ । भक्तपुर नगरक्षेत्रका बासिन्दा दिनहुँ पानीको समस्या बोकेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नगरपालिका धाउँछन् । स्थानीयको डेलिगेसनको सम्बोधन गर्दै भक्तपुर नगरपालिकाले गत जेठबाट नगरको १० वटै वडामा पालैपालो ट्यांकरबाट पानी वितरण थालेको स्यानिटेसन शाखाका वडा निरीक्षक रामकृष्ण प्रजापतीले बताए । नगरपालिकाले रोटेसनका आधारमा टोलटोलमा दैनिक १० वडामा १२ ट्यांकर पानी वितरण गर्दै आएको जनाएको छ ।

नगर क्षेत्रभित्रको पानीको समस्या समाधान तथा व्यवस्थापनका लागि नगरपालिकाले ५ वटा डिपबोरिङ गर्ने कार्य गरेको र आकाशेपानी संकलन तथा प्रशोधन प्रणाली लागु गरेको भक्तपुर नगरप्रमुख सुनिल प्रजापतीले बताउँछन् । भक्तपुर १ वडामा र ख्वपः इन्जिनियरिङ कलेजमा आकाशेपानी संकलन तथा प्रशोधन प्रणाली सुरु भएको उनले बताए । खानेपानीको समस्या समाधानका लागि मेलम्चीको पर्खाइमा रहेको समेत नगरप्रमुख प्रजापती बताउँछन् ।केयूकेएलको कार्यालय दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । खानेपानीको वैकल्पिक व्यवस्था हुन नसक्दा दिन प्रतिदिन खानेपानीको समस्या थपिँदै गएको केयूकेएल भक्तपुर शाखाले जनाएको छ । ‘दैनिक ८० लाखदेखि एक करोड लिटर खानेपानीको माग छ,’ केयूकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालयले भने, ‘३० देखि ३५ लाख लिटर मात्र वितरण गर्ने सामर्थ छ ।’

दैनिक ३५ देखि ४० प्रतिशत उपभोक्तालाई मात्र पानी वितरण गरेको उनले बताए । खानेपानीको वैकल्पिक व्यवस्था गर्न नसक्दा ७, ८ दिन बिराएर उपभोक्तालाई पानी वितरण गर्दै आएको उनले बताए । केयूकेएल भक्तपुर शाखाले भक्तपुर, सूर्यविनायकको ५ र ६ वडाका केही भाग, चाँगुनारायणको ५, ७ र ८ वडाका केही उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको जनाएको छ ।केयूकेएलले नगरकोट मुहानपोखरी र मध्यपुर थिमि बोडेबाट खानेपानी वितरण गर्दै आएको छ । केयूकेएल भक्तपुर शाखाले बोडेबाट दैनिक १५ लाख लिटर र नगरकोट मुहानपोखरीबाट करिब २० लाख लिटर पानी वितरण गर्दै आएको प्रमुख हिमालयले बताए । आपूर्ति कम र माग बढी भएकाले खानेपानीको समस्या अत्यधिक बढी भएको केयूकेएल भक्तपुरले जनाएको छ ।

भक्तपुरमा पानीको माग बढ्दै गएपछि खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर (पीटीडी) को समन्वयमा डिपट्युबवेल निर्माण गरेको जनाएको छ । दूधपाटीस्थित केयूकेएलकै जग्गामा पीटीडीले प्रतिसेकेन्ड ४ लिटर पानी डिपट्यूबवेल र सल्लाघारीस्थित प्रतिसेकेन्ड ६ लिटर पानी निकाल्ने गरी ट्युबवेल खनेको छ । दुवै स्थानको पानी परीक्षण एवं फिल्टर प्लान्टको तयारीमा रहेको र ५ महिनाभित्र सञ्चालन हुने हिमालयले बताए ।केयूकेएलले तीन महिनादेखि जगाती क्षेत्रमा पानी वितरण गर्न नसके पनि महसुस उठाउन नछोडेको भक्तपुर ७ वडाका वडाध्यक्ष उकेश कवांले बताए । ‘बिग्रिएको ठाउँमा मर्मतसमेत गरेको छैन, पाइप त्यतिकै अलपत्र छोडेको छ,’ उनले भने । जगाती क्षेत्रलगायत स्थानमा डिपबोरिङको पाइप बिग्रिएको र मर्मतको क्रममा भएकाले नियमित पानी वितरणमा ढिलाइ भएको केयूकेएल भक्तपुरले जनाएको छ ।

उपभोक्ताले भने पाँच दिनमा वितरण हुँदै आएको पानी चार महिनायता दस दिनसम्म पनि नआएको गुनासो गरेका छन् । ‘दैनिक ट्यांकरको पानी किन्नुपरेको छ,’ भक्तपुर नगरपालिका ९ च्याम्हासिंहका रोजित प्रजापतीले भने, ‘चुनावअघि खानेपानीलाई मुख्य एजेन्डा बनाउने जनप्रतिनिधिले स्थानीयको समस्यालाई सम्बोधन गरेको छैन ।’ ट्यांकरमा वितरण गरेको पानीले भक्तपुरवासीको तिर्खा नमेटिने उनी बताउँछन् ।

Source: Kantipur Daily, 13th August, 2019

https://www.kantipurdaily.com/national/2019/08/13/156566655606076530.html