मेलम्चीको विकल्पबारे अध्ययन

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणमा कुनै गडबढी आएको अवस्थामा त्यसको विकल्पको रूपमा अन्य खोलाबाट दैनिक थप १७ करोड लिटर पानी ल्याउन अध्ययन सुरु गरेको छ ।

भक्तपुरको मुहान पोखरी, सिस्नेरी खोला र फर्पिङ क्षेत्रबाट प्राकृतिक प्रकोप अथवा मेलम्ची खानेपानीमा कुनै गढबड आएको बेला वैकल्पिक पानी आपूर्ति गरिनेछ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार महादेव खोलमा जापान सरकार, फर्पिङ क्षेत्रमा चीन र सिस्नेरीमा विभागले पूर्वअध्ययन गरिसकेको छ । ‘अध्ययन सुरु भइसकेको छ, त्यसलाई अन्तिम रूप दिन मात्र बांकी हो,’ उनले भने, ‘दैवीप्रकोपको बेला जे पनि हुन सक्छ, त्यो बेला प्रशस्त पानी चाहिन्छ ।’ उपत्यका खानेपानी व्यवस्थपान बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले विभिन्न मुहानहरूको अध्ययन सुरु भइसकेको बताए ।

 

महादेव खोलाबाट दैनिक २ करोड, सिस्नेखोलाबाट दैनिक १३ करोड र फर्पिङबाट दैनिक करिब २ करोड लिटर उत्पादन हुने उनले बताए । फर्पिङमा करिब २१ वटा डिपट्वेल निर्माण गरेर दैनिक पानी उत्पादन गरिने अध्ययन गरिसकेको भन्दै उनले केही दिन आएर अन्तिम अध्ययन गर्ने तयारी रहेको बताए । ‘यसअघि पटक–पटक चिनियाँ टोली आएर अध्ययन गरिसकेको छ, अब उत्पादन तिर लाग्छन्,’ उनले भने, ‘ललितपुर भैंसेपाटी क्षेत्रमा यो पानी वितरण गरिन्छ ।’ उक्त पानी भैंसेपाटीमा पानी प्रशोधन गरेर त्यहाँबाट सैबूक्षेत्रमा वितरण गरिने उनले बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण बेला नेपाल सरकार र चीन सरकारबीच उक्त पानी उत्पादनका लागि झन्डै १ अर्ब २५ करोड रुपैयाँ दिने सहमति भइसकेको उनले बताए । साथै, चन्द्रगिरीदेखि गोदावरीसम्मको क्षेत्रमा जमिनमुनि ठूलो पानीको भण्डार रहेकाले पानी निकाल्न चीनले सहयोग गर्ने सहमति भइसकेको पनि उनले जानकारी दिए । ‘यो क्षेत्रमा चुनढुंगा छ, मेलम्चीको आवश्यकता नै पर्दैन भन्ने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ,’ उनले भने, ‘तर, अन्तिम अध्ययन आउन बाँकी नै छ ।चिनियाँ राष्ट्रपतिले सम्झौता गर्नुअघि विभिन्न स्थानमा चिनियाँ प्राविधिक टोलीले ड्रिलबाट खनेर जमिनमुनिको पानीको अध्ययन गरिसकेको उनले बताए । ‘अब केही दिनमै पुनः टोली आउँदै छ, त्यसपछि कति पानीको मात्रा छ भन्ने भन्छन्, अहिलेचाहिँ भन्न सकिँदैन,’ उनले भने । त्यसैगरी महादेव खोलामा सानो ड्याम बनाएर त्यहाँको पानी भक्तपुर क्षेत्रमा वितरण गर्ने उनले बताए । ‘दैनिक २ करोड उत्पादन भए पनि भक्तपुरको ठूलो क्षेत्रलाई ओगट्छ,’ उनले भने, ‘यो कामलाई मन्त्रालयले अघि बढाइसकेको छ ।’
 
Source: Kantipur Daily, Falgun 7 2076

 

Go to top