आकाशेपानीबाट जमिन ‘रिचार्ज’ गरिँदै

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आकाशेपानी संकलन गर्न सुरु गरेको छ । गोंगबु आवास क्षेत्रको डबलीमा आकाशेपानी संकलन गर्न खाडल बनाएर संकलन थालिएको हो । यसरी संकलन भएको पानी पाइपबाट २४ फिट गहिरो इनार (रिचार्ज वेल) मा खसालिन्छ ।

इनारमा पनि विभिन्न तह पार गर्दै पानी जमिनमा पुग्छ । इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा घर बनाउँदा प्रयोग गरिने गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा राखिएको छ । सबैभन्दा माथि झिंगटी राखिएको छ । आकाशेपानी इनारबाट फिल्टर हुँदै जमिनमुनि पुराउने प्रक्रियालाई महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ नाम दिएको छ । महानगरले यसलाई पाइलट प्रोजेक्टको रूपमा लिएको छ ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार गोंगबु आवास क्षेत्र सुधार समिति र एकीकृत सहरी विकास केन्द्रको प्राविधिक सहयोगमा बनेको उक्त प्रणालीको उद्घाटन गरे । डबली परिसरको करिब एक रोपनी जग्गामा संकलन हुने आकाशेपानीलाई जमिनमुनि पठाउने व्यवस्था मिलाइएको उनले बताए । ‘यो प्रणाली हाम्रो लागि सिकाइ पनि हो,’ उनले भने, ‘यसबाट आउने परिणाम मूल्यांकन गरेर महानगरका सबै वडा र सार्वजनिक तथा खुला जग्गामा यो प्रणाली सुरु गर्छौं ।’ महानगरले अघि बढाएको यो अभियानले प्राकृतिक सन्तुलन कायम गराउन, वातावरणीय सुधारमा उपलब्धि हुने अपेक्षा गरिएको उनले बताए ।

 

आकाशेपानी संकलन गर्न डबलीमा तीनवटा खाडल र दुईवटा इनार बनाइएको छ । इनार दुईमध्येको एउटा २४ फिट गहिरो र अर्को १४ फिट गहिरो छ । डबलीसँगै रहेको नर्सरीमा पनि एउटा खाडल र इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा पानी संकलन गर्न पाँच लाख लागेको महानगरको सहरी योजना आयोग उपाध्यक्ष सरोज बस्नेतले बताए ।

Source: Kantipur Daily, Falgun 7, 2076

https://ekantipur.com/national/2020/02/19/158208382047559188.html

 

Go to top