‘साबुन–पानीले हात धुँदा कोरोनाको जोखिम ३६ प्रतिशत कम हुन्छ’

सरकारले आज देखि एक महिनाको लागि साबुन पानीले हात धुने राष्ट्रिय अभियान शुरू गरेको छ।

२०७७ असोज १३ गते १९:०६

स्वास्थ्य मन्त्रालयको कोरोना अपटेड कार्यक्रमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आजका दिनदेखि कार्तिक १४ गतेसम्म यो अभियान जारी रहने बताए। ‘ह्यान्ड हाइजिन फर अल’ अर्थात् ‘हातको स्वच्छता सबैका लागि’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको हो।

कोरोना संक्रमणबाट बच्न अपनाइने तीन उपाय मध्ये हातको सफाइ प्रमुख रहेको भन्दै दुवाडीले हातको सरसफाई विशेष ध्यान दिनुपर्ने बताए। साबुन पानीले हात धोए मात्रै पनि संक्रमणको जोखिम ३६ प्रतिशत कम हुने अध्ययनहरूले देखाएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नियमित हात धुने बानीले मात्रै पनि श्वासप्रश्वास सम्बन्धी समस्यामा २३ प्रतिशतले कमी, झाडापखालासम्बन्धी समस्यामा ४८ प्रतिशतले कमी ल्याएको बताए।

कस्तो हातमा स्यानिटाइजर लगाउने

हात सफा छ भने स्यानिटाइजर मात्र लगाउँदा पुग्छ। २० देखि ३० सेकेन्डसम्म हात मोल्नुपर्ने दुवाडीले बताए। हेर्दा नै हात फोहर देखिन्छ भने त्यसमा स्यानिटाइजरले काम गर्दैन । त्यसका लागि साबुनपानीले ४० देखि ६० सेकेन्ड मोलेर हात धुनुपर्ने हुन्छ। उनका अनुसार ह्यान्ड हाइजिन हातको स्वच्छता के के गर्न सकिन्छ। साबुनपानीले हातधुने, स्यानिटाइजर लगाउने, त्यो पनि छैन भने शून्य दशमलब ५ प्रतिशत मिसिएको क्लोरिन लगाउने, त्यो नभए घरमा हुने खरानी प्रयोग गरेर हात धुनुपर्ने हुन्छ। त्यो पनि नभए सफा पानीले मात्र हात धोए ८० प्रतिशत फोहर किटाणु नष्ट हुन्छ। साबुनपानीले हातधुदा आधा लिटरदेखि २ लिटर पानी खर्च गर्नुपर्छ।

हातको माध्यमबाट कोरोना सर्ने भएकाले सेन्सरले काम गर्ने साबुन राख्ने, खुटाले थिचेर प्रयोग गर्न सकिने र धाराको ह्यान्डिल लामो भए कुहिनाले खोल्ने गरेमा पनि हातबाट कोरोना नियन्त्रण गर्न सकिने उनको सुझाव छ। हात धाइसकेपछि हातलाई सुकाउने कुरा एकदम महत्त्वपूर्ण हुन्छ। हात टावेल, कागज, हावाको माध्यमबाट सुकाउने सकिन्छ।

source: Health post Nepal