महामारीमा कागजको साबुन निःशुल्क बाँड्ने सफाइ अभियन्ता

नमस्तेलाल भूमि श्रेष्ठ

मस्तेलाल भूमि श्रेष्ठ भारतबाट कागजका साबुन ल्याउँछन्। १० वटा साबुनको एउटा प्याक बनाउँछन्। अनि विभिन्न संस्थामा गएर निःशुल्क बाँड्छन्। उनी कोरोना संक्रमणबाट जोगिन नियमित हात धुनुपर्ने सन्देश फैलाइरहेका छन्। सरसफाइविज्ञ नमस्तेलाल भूमि श्रेष्ठ तीन महीनादेखि कागजको साबुन निशुल्क बाँडिरहेका छन्। भारतबाट ल्याएको कागजको साबुन उनी विभिन्न संस्था तथा ब्याङ्कहरुमा दिन्छन्। उनी भन्छन्, “कोरोना संक्रमणको मुख्य माध्याम हात नै हो भनेर डब्लुएचओले हात सफासँग धुने तरिका बताइरहेको छ। त्यसैले हात धुनको लागिसाबुन बाँड्दै जनचेतना फैलाउन कोशिस गरिरहेको छु।”

गएको बिहीबार मनाइएको विश्व हात धुने दिवसको अवसरमा उनी विभिन्न संस्थमा पुगेर त्यहाँका कर्मचारीलाई साबुन मात्र बाँडेनन्, अरुलाई बाँड्नका लागि पनि छाडिदिए। अहिलेको अवस्थामा निर्धक्क भएर हिँड्न नसक्दा हात धुन साबुन किन्न नसक्नेहरु दिन नपाएको उनको गुनासो छ। उनी भन्छन्, “सुकुम्बासी बस्ती र दैनिक ज्यालादारी गर्नेहरु माझ साबु पु¥याउन सकेको छैन। जरुरी भने उनैलाई नै छ।” अहिले काठमाडौंको महाराजगन्जमा बसिरहेका उनको पुख्र्यौली घर तनहुँको बन्दीपुर हो। उनी बन्दीपुर गाउँपालिकाका शतप्रतिशत नागरिकलाई कागजको साबुन बाँड्ने योजनामा छन्। आफ्ना भतिजामार्फत केही साबुन वितरण पनि गरिसकेका छन्। वडा कार्यलय र विद्यालयहरुका माध्यमबाट साबुन बाँड्ने उनको तयारी छ। 

कागजकाे साबुले हात घुने तरिका सिकाउँदै भूमि श्रेष्ठ ।

काठमाडौंमा पनि साबुन बाँडिरहेका उनी पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि भने बाहिर निस्कन कम गरेका छन्। उनी भन्छन्, “सबैलाई जोखिम हुने हुँदा संक्रमितको संख्या तीव्र रुपमा वृद्धि हुन थालेपछि साबुन वितरण गर्न जान पनि कम गरेको छु।” ६० वर्ष उमेर कटेका उनी आफ्नो उमेरलाई पनि ख्याल गरेर बाहिर निस्कन कम गरेको बताउँछन्। अहिले उनी आफ्नो काम परेको ठाउँमा जाँदा भने साबुन पनि लिएर पुग्छन्। भारतबाट उनी पैसा तिरेर साबुन ल्याउँछन्। अनि यहाँ प्याक गर्छन्। एउटा प्याकमा १० पन्ना कागजको साबुन हुन्छ। उनले साबुनको खोलमा प्रयोग गर्ने तरिका, हात धुनुको फाइदा र सन्देश राखेका छन्।

कागजकाे साबुन र प्रयाेग गर्ने तरिका ।

एक पटक हात धुँदा एक पाना प्रयोग हुन्छ। त्यसैले एक प्याकेटले दश पटकसम्म हात धुन सकिन्छ। यो साबुन यात्रा गर्दा बोकेर हिँड्न सहज हुने उनको भनाइ छ। उनी भन्छन्, “साबुन किन्न पर्दा दश पाना साबुन भएको प्याकलाई ३ देखि ४ रुपैयाँमा आउँछ। त्यसैले यस्तो सस्तो र सहज खालको साबुनको विषयमा मैले सन्देश पनि दिइरहेको छु।”  श्रेष्ठ लामो समयदेखि सरसफाईको क्षेत्रमा काम गरिरहेका छन्। उनले युनिसेफको खानेपानी तथा सरसफाइ (वास) मा ३० वर्ष वरिष्ठ सरसफाइ विशेषज्ञका रुपमा काम गरे। उनी भन्छन् “वासमा रहेर मैले नेपाललाई खुला दिसा मुक्त क्षेत्र बनाउन सहयोग गरेँ। दिसा, पिसाबको फोहोरबाट बालबालिकालाई झाडापखाला लाग्ने र ज्यान जाने जोखिम हुन्छ। अहिले हजारौँ बालबालिकाको ज्यान जोगिएको छ।”

वासबाट सन् २०१६ अवकास पाएका उनले त्यसपछि तीन वर्ष स्वयंसेवकको रुपमा काम गरे। “मेरो लक्ष्य नै नेपाललाई खुला दिशामुक्त क्षेत्र बनाउनु थियो। तर, मैले अवकास पाउँदासम्म नेपाल खुला दिशामुक्त भएको थिएन। त्यसैले स्वयंसेवक भएर काम गरेँ, घोषणा भएपछि छोंडेँ”, उनी भन्छन्।  उनी आफूले जिन्दगी नै समाससेवामा लगाएको बताउँछन्। शिक्षकबाट पेशागत जीवन शुरु गरेका उनी हरेक महीना हुने आम्दानीको १५ देखि २० प्रतिशत सरसफाइ तथा सामाजिक क्षेत्रमा खर्च गरिरहेको बताउँछन्। साबुन वितरण पनि त्यही अन्तर्गतको काम भएको उनले बताए।

अहिलेसम्म कति साबुन वितरण गरे भन्ने तथ्याङ्क राखेका छैनन्। उनी भन्छन् “मैले अहिलेसम्म गरेको सामाजिक सेवाको खर्च विवरण राखेको छैन। किनभने मैले नाम अथवा चर्चाको लागि गरिरहेको छैन। समाज र देशको लागि गरेको खर्च विवरण कसैलाई सुनाउनु छैन।” उनले आफनो आमाको नाममा ‘कुन्ति स्मृति प्रतिष्ठान’ मार्फत सरसफाइको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरुलाई पुरस्कृत पनि गरिरहेका छन्। उनी भन्छन्, “हाम्रो यो सुन्दर देशलाई फोहोरमुक्त बनाउन प्रयास गर्ने व्यक्ति तथा संघ संस्थालाई प्रोत्साहन गर्नुपर्छ भनेर पुरस्कार कोष खडा गरेको हुँ।”

उनले सन् २००१ मा रु.५ लाख बराबरको पुरस्कार कोष स्थापना गरेर हरेक दुई वर्षमा प्रदान गर्ने गरेका छन्। सरसफाइको क्षेत्रमा काम गर्दा अधिकांश जिल्लामा पुगेको र यसमा काम गर्ने हरेक संघसंस्था र व्यक्तिबारे जानकारी भएकोले उनीहरुले गरेको कामको प्रगति विवरण हेरेर पुरस्कृत गर्ने गरेको श्रेष्ठ बताउँछन्।

source: himalkhabar

Go to top