सरसफाइको पर्व सिथि नखः

नेवारका धेरै चाडपर्वमध्ये एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ। सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि (यो वर्ष असार ५ गते) मा सिथि नखः मनाइन्छ । लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।

चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ ।त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने चलन छ। सिथि नखः पर्वलाई नेवार समुदायले मनाउने वर्षको अन्तिम पर्व मानिएको छ । यसपछि अर्काे पर्वका रूपमा घण्टाकर्ण आउने गर्छ । सिथि नखः पर्व आएपछि असार अर्थात् रोपाइँ सुरु भयो भन्ने मान्यता छ । यसै रोपाइँका लागि शरीर बलियो होस् भनी दालहान पकवान खाने गरेको मान्यता पनि छ। पहिला पहिला घरघरमा धारा नभएको बेला यही कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी प्रयोग गर्ने गरिन्थ्यो । पछि घरघरमा धारा आएपछि यसको प्रयोग कम हुन गएको थियो । तर पछिल्लो केही समयदखि फेरि यसको महत्व बढेको छ । मान्छेको चापसँगै खानेपानीको समस्या पर्न थालेपछि फेरि इनार, कुवा, ढुंगेधारा र पोखरीको पानी सञ्चालन गर्न थालेका छन्।

एक अध्ययनले उपत्यकामा दुई सय ३३ वटा परम्परागत ढुंगेधारा अझै चालु रहेको र १ सय ५६ लोप भइसकेको देखाएको छ । परम्परागत इनारहरू ललितपुरमा ३ सय ८८, मध्यपुर थिमीमा ९८ र भक्तपुरमा मात्रै ३ सय ९८ रहेको तथ्यांक छ। सिथि नखः लिच्छविकालदेखि नै पानीको मुहान, ढुंगेधारा, इनार, घर, चोक, नालीको सरसफाइ गर्ने पर्वका रूपमा विकास भएको देखिन्छ । खानेपानीका स्रोतको संरक्षण तथा सरसफाइमा मौलिक परम्परा र संस्कृतिको पुनःस्थापना हुन्छ । यसले युवावर्गलाई सांस्कृतिक मान्यताबारे सचेत गराउनुका साथै पानी र सरसफाइको महत्व पनि बोध गराउँछ।

सन् १८९१ मा वीरशमशेरले पाइप लाइनबाट पानी अपूर्ति गर्ने वीरधारा ल्याउनुभन्दा अगाडिसम्म उपत्यकाको सम्पूर्ण पानी आपूर्ति ढुंङ्गेधारा, इनार, कुवा, खोला आदिबाट हुँदैआएको थियो । ढुङ्गेधाराबाट दिनरात बग्ने पानी खेर जान नदिन ढलको व्यवस्था, यसको दायाँ बायाँ खाल्डो बनाएर जमिनमा पानी जम्मा गर्ने र नजिकै इनार खनेर पानी सुरक्षित गरिराख्ने प्रविधि पनि यहाँका आदिवासीले प्राचीन कालदेखि नै प्रयोगमा ल्याइसकेका थिए । यस प्रविधिले उपत्यकामा चाहिने पानीको सजिलै आपूर्ति भइरहेको थियो। काठमाडौँ सहरमा घरपिच्छे बनाइएका इनारको त लेखाजोखै छैन । तर सहरका गरिबको खानेपानीको समस्या भने निकै विकराल छ । उपत्यकाका भित्री सहरी र पुराना बस्तीमा सहरी गरिबको बसोबास बाक्लो छ । यी क्षेत्रमा परम्परागत ढुंगेधारा प्रणाली र सय वर्षभन्दा पुराना इनार खानेपानीका मुख्य स्रोत हुन ।

तर, नगरपालिकाहरूको अपर्याप्त संरक्षण प्रयास र सरकारको स्पष्ट नीतिको अभावका कारण यस्तो प्रणाली अतिक्रमित र विखण्डित भइरहेको छ । हुन त समयसँगै यो पर्व र यसको महत्व लोप हुँदै गएको अनुभव हुन थालेको छ । यस्तो सांस्कृतिक एवं मौलिक परम्पराको महत्वलाई नबुझेर यसलाई ओझेलमा पार्न थालिएको छ । पाइपबाट पानी वितरण गर्ने चलन बढेपछि यस परम्परालाई बेवास्ता गरिएकाले नै अहिले परम्परागत पानीको स्रोत लोप हुँदै गएको हो । विकासको नाममा अव्यवस्थित सहरीकरण बढेपछि यस्ता पर्व र परम्परा भोजमा सीमित भएका छन्। हरेक वर्ष विभिन्न संस्कृति मान्ने हजारौँ मानिस अवसर खोज्न बसाइँ आउने भएकाले काठमाडौँ उपत्यका अब थरीथरीका संस्कृति र मान्यता बोकेको मानिसको थलो बनेको छ । त्यसैले अहिले काठमाडौँवासीलाई सिथि नखःबारे बुझाउन झन् कठिन र चुनौतीपूर्ण बन्दै गइरहेको छ।सांस्कृतिक महत्वका साथै जलस्रोतको संरक्षण गरेर समुदायलाई स्वच्छ पानी पुयाउने पर्वका रूपमा पनि सिथी नखःलाई लिइन्छ । 

त्यसैले नेवार समुदायले मात्रै होइन, देशैभरमा सबै जातजातिले यो पर्व मनाउन सुरु गरेको देखिन्छ । सरकारले सिथि नखःको सन्दर्भमा राष्ट्रिय सरसफाइ सप्ताहको घोषणा पनि गरिसकेको छ । अब यस दिनलाई राष्ट्रिय जल संरक्षण तथा सरसफाइ दिवसको मान्यता दिनु आवश्यक छ । त्यसो भएमा नयाँ पुस्ताले पनि यस पर्वलाई आफ्नो जीवनशैलीका रूपमा निरन्तरता दिनेछन् ।