राणा प्रधानमन्त्री जंगबहादुरलाई चोपलेको ठाउँमा सर्वसुलभ सार्वजनिक शौचालय

१५ मंसिर २०७८, बुधबार

काठमाडौ :ललितपुर महानगरपालिकाको पाटन ढोकामा सर्वसुलभ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । आर्किटेक्ट एसिया क्षेत्रीय परिषद (आर्केसिया), सोसाइटी अफ नेपाल आर्किटेक्ट (सोना) र एरोसानको आर्थिक सहयोग एवं ललितपुुर महानगरपालिकाको भूमि व्यवस्थापनमा बनेको सुलभ सार्वजनिक शौचालयको मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उदघाटन गर्नुभयो ।

यो त्यस्तो ठाउँ हो, जहाँ पाटनका व्यापारीहरुको ऋण नतिर्दा राणा प्रधानमन्त्री जंगबहादुर राणालाई पोखरीमा चोपलेको किम्बदन्ती छ । वरिष्ठ पत्रकार कणकमणि दिक्षितले आफूले सम्झिँदा सम्म पनि हाल शौचालय बनेको ठाउँमा पोखरी रहेको र पछि मात्र शौचालय निर्माण गरिएको बताउनुभयो । पुरानो शौचालयको ठाउँमा अहिले अत्याधुनिक प्रविधिको प्रयोग गरी सर्वसुलभ सार्वजनिक शौचालय निर्माण गरिएको हो ।

सर्व सुलभ सार्वजनिक शौचालय भवन भित्र महिला, पुरुष, पर्यटक तथा अपाङ्गता भएकाहरुका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ । महिलाहरुका लागि स्यानिटरी प्याड भेन्डिङ मेसिन र त्यसको डिस्पोजलको लागि सँगै मेसिन पनि राखिएको छ भने बच्चाका आमाहरुका लागि डाइपर फेर्ने र स्तनपान गर्ने ठाउँको समेत व्यवस्था गरिएको छ । ह्वील चेयर सजिलै सँग गुडाउन सकिने र दृष्टिविहीनहरुलाई समेत लक्षित गरी शौचालय निर्माण गरिएको छ । शौचालयमा प्रयोग गरिने पानी ढलमा नजाने र यसबाट बायोडाइजेष्टर मार्फत बायोग्यास उत्पादन गरी सँगै रहेको क्याफेमा प्रयोग गरिएको एरोसान सस्टेनेबल स्यानिटेशनका कार्यकारी प्रमुख प्रकाश अमात्यले बताउनुभयो ।

सर्वसुलभ सार्वजनिक शौचालयको उदघाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर शहर स्मार्ट सिटीको रुपमा विकास भईरहेको र स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरु मध्ये शौचालय पनि एक रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार कणकमणि दिक्षितले सर्वसुलभ शौचालय सञ्चालनमा आएपछि पाटन ढोका क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने र सरसफाइ व्यवस्थित हुने बताउनुभयो ।

सन् २०१३ मा काठमाडौमा भएको १७ औं आर्कोसिया फोरममै परिकल्पना गरिएको सर्वसुलभ शौचालय ८ बर्ष पछि आएर साकार बनेको हो । शौचालयको डिजाइन आर्किटेक्ट नीरज महर्जनले गर्नुभएको हो । आर्केसियाले आयोजना गरेको अन्तर्राष्ट्रिय शौचालय डिजाइन प्रतियोगितामा सोना सदस्य आर्किटेक्ट महर्जनले डिजाइन प्रतियोगिता जित्नुभएको थियो । आफूले शौचालयको डिजाइनमा पनि नवीनता थपेको आर्किटेक्ट निरज महर्जनले बताउनुभयो ।

सोसाईटी अफ नेपाल आर्किटेक्ट्स (सोना) का अध्यक्ष राजेश थापाका अनुसार शौचालय परिधिभित्रै क्याफे सन्चालन गरिएको छ । उक्त क्याफेटेरियामा शौचालयबाटै उत्पादित बायोग्यासलाई खाना पकाउन प्रयोग गरिनेछ । यसबाट प्राप्त आम्दानीबाटै सार्वजनिक शौचालय दिगो तरिकाले सञ्चालन हुनेछ ।

Source: WASH KHABAR