सेनाद्वारा नियम मिचेर डिपबोरिङ

सुन्दजल(काठमाडौं), जेष्ठ २० - नेपाली सेनाले नयाँपाटी गाविसस्थित सुन्दरीजलमा डिप बोरिङ खन्न थालेपछि स्थानीयवासीले विरोध जनाएका छन् । 

सेनाले भने उक्त विरोधको बेवास्ता गर्दै तीन दिनदेखि खन्न जारी राखेको छ । खनिदै गरिएको आठ इन्चको बोरिङका लागि उसले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको अनुमति -लाइसेन्स) समेत लिएको छैन । उपत्यका खानेपानी नियमावली अनुसार डिप बोरिङ खन्न बोर्डबाट अनुमति लिनुपर्ने नियम छ ।  

बोर्डका निमित्त कार्यकारी निर्देशक योगेन्द्रबहादुर बमले सेनाले लाइसेन्सबिनै बोरिङ खन्न लागेको बताए । 'भूमिगत पानी निकाल्न लाइन्सेन्स लिनुपर्छ । तर, सेनाले बोर्डमा निवेदन पनि दिएको छैन,' उनले भने, 'स्थानीयवासीको चर्को विरोध पनि भइरहेको सुनिएको छ । त्यो भन्दा पनि यो कानुन विपरीत छ । '  


              नयाँपाटीस्थित सुन्दरीजलमा सेनाले खन्दै गरेको डिपबोरिङ ।तस्बिर : कान्तिपुर

सेनाले सुन्दरीजल आर्सनल कार्यालयको जग्गामा बोरिङ खन्दै गरेको हो । उसले आफ्नै जग्गामा बोरिङ खनिरहेको दाबी गरे पनि यो मानवबस्ती भन्दा १० मिटर टाढा छैन । पानी निकालेपछि वरपरका कुवा, इनार लगायतका पानीका मूल सुक्न सक्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । स्थानीय दलका प्रतिनिधिले पनि डिप बोरिङ खन्न तत्काल रोक्नुपर्ने माग गरेका छन् । कांग्रेसका स्थानीय नेता परशुराम पोखरेलले नियम मिचेर बोरिङ खन्न नहुने बताए । 'सेना पनि विधि र विधानअनुसार चल्ने संस्था हो, स्थानीयवासीको विरोध हुँदाहुँदै पनि बोरिङ खन्न हुन्न, वरपरका मानिसलाई मर्का पर्छ भन्ने उसले बुझ्नुपर्छ,' उनले भने । 

त्यस्तै, एमाले नेता द्वारिका श्रेष्ठका अनुसार आफूहरूको अनुरोधमा गाविसले पनि काम तत्काल रोक्न पत्राचार गरिसकेको बताए । 'स्थानीयवासी बसेर प्रधानमन्त्री, रक्षा मन्त्रालय, सैनिक मुख्यालयलाई काम रोक्न पत्राचार गरेका छौं । तर, सेनाले छलफल गर्न नै मान्दैन,' उनले भने । एमाओवादी नेता नरबहादुर तामाङले सेनाले स्थानीयवासीको पिरमर्का नबुझी एकलौटी ढंगले काम गरेको बताए । 

'हामी त सैनिकसँग स्थानीयवासीका गुनासा पनि सुनिदिन आग्रह गर्दै छौं, उहाँहरू मतलबै गरिराख्नु भएको छैन,' उनले भने, 'सेनाको मनोमानी छ भन्ने प्रस्ट देखिन्छ ।' सैनिक कल्याणकारी कोषको पैसा खर्चेर व्यावसायिक प्रयोजनका लागि डिपबोरिङ खन्न लागेको तामाङले आरोप लगाए । 'होइन, पानी चाहियो भने त स्थानीयवासी दिन तयार छन् । हामीले लिखित र मौखिक रूपमा अनुरोध गरिसक्यौं, उल्टै वरपर सेना राखेर धमाधम काम गरेका छन्,' उनले भने । 

गाविस सचिव लक्ष्मेश्वर यादवले स्थानीयवासीको अनुरोध अनुसार बोरिङको काम रोक्न पत्र पठाएको जानकारी दिए । 'स्थानीयवासीको चर्को विरोध छ, सेनाले गाविससँग पनि अनुमति लिएको छैन, सकभर छलफल गरी अघि बढे राम्रो हुन्छ,' उनले भने । सेनाका प्रवक्ता जगदीश पोखरेलले स्थानीवासीसँग छलफल गरेर अघि बढ्ने बताए । 'स्थानीयवासीको गुनासा सुन्न तयार छौं, यो व्यापारिक प्रयोजनका लागि होइन,' उनले भने । कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने पनि उनले बताए ।  

प्रकाशित मिति: २०७१ जेष्ठ २१ 

Go to top