मल्लकालीन ढुंगेधारा लथालिंग

ललितपुर, फाल्गुन २५ - महादेवको मूर्ति फोहोर पानीले आधा डुबेको छ । कलात्मक बक्राकार ढुंगे भित्ताको पूर्व र पश्चिममा गरुड र कमलको फूलमाथिका देवताहरू चिन्न नसक्ने अवस्थामा छन् । धारा परिसरबीचको ढुंगाको नागमा विराजमान नारायणको मूर्ति जीर्ण भइसकेको छ । जमेको फोहोर पानीको दुर्गन्धले वरपरको वातावरण नै प्रदूषित भएको छ ।

कुनै समय पाटनवासीका लागि खानेपानीको मुख्य स्रोतका रूपमा रहेको जावलाखेलस्थित मल्लकालीन ढुंगेधाराको हालत यस्तो छ । च्यासल मनोहरा पुलसँगैको ढुंगेधाराको आँगन पनि फोहोरले भरिएको छ । भित्तामा घाँस र लेउ उम्रेको छ । घर बनाउँदा इँट्टाका टुक्रालगायत अनावश्यक सामान फाल्ने ठाउँ बनेको छ । धाराको मुनिपट्टकिो नारायणको मूर्ति माटाले पुरिएको छ । माथिपट्टि ब्रह्माको मूर्ति जीर्ण छ । शंखमूलस्थित वाग्मतीछेउका अधिकांश ढुंगेधाराको हालत उस्तै छ । धाराबाट पानी आए पनि ती व्यवस्थित छैन । जावलाखेलका हरिकृष्ण महर्जनले पुरातत्त्व विभाग, ललितपुर उपमहानगरपालिकालगायत सम्बन्धित निकायले संरक्षणमा चासो नदिँदा वर्षौंदेखि ढुंगेधारा ओझेलमा परेको बताए । 'सम्पदा संरक्षणमा कसैले ध्यान दिएको छैन,' उनले भने, 'बढ्दो सहरीकरण र संरक्षण अभावमा जीर्ण हुँदै गएका हुन् ।' महर्जनका अनुसार राजकुलो नचलेदेखि ढुंगेधारामा पानी सुक्दै गएको हो । 'सम्बन्धित निकायले संरक्षणका लागि नयाँ योजना बनाउन अपरिहार्य भइसक्यो,' उनले भने ।

ललितपुर उपमहानगरपालिकाले ११ वर्षअघि गरेको सर्वेअनुसार नगरमा ६० वटा ढुंगेधारा थिए । जसमा कुपन्डोल हिटी, बहिल, नकबहिल, गा:हिति, पिलाछेँ, स्वाति, बकुवहा: हिटी गरी सातवटा लोप, सातवटा काम नलाग्ने र ४७ वटा प्राकृतिक अवस्थामा सञ्चालनमा रहेको तथ्यांकले देखाएको थियो । तर, ती सञ्चालित ढुंगेधारामध्ये पनि अधिकांश बन्द हुने स्थितिमा पुगिसकेका छन् । ललितपुर उपमहानगरपालिका कार्यकारी प्रमुख ताराबहादुर कार्कीले बोरिङ र भवन निर्माण गर्दा आचारसंहिता पालना नगर्नाले धारा सुकेको बताए । 

Go to top