पानी र सरसफाइका लागि शिखर सम्मेलन

काठमाडौ, चैत्र ३ - खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी बिहीबारदेखि हुने दुईदिने राष्ट्रिय शिखर सम्मेलनले यस क्षेत्रको कानुन तथा नीति निर्माणमा जोड दिने भएको छ। 

'नेपालले खानेपानी र सरसफाइसम्बन्धी पाँचवटा राष्ट्रसंघीय महासन्धिलाई अनुमोदन गरिसकेकाले त्यसअनुसार कानुन निर्माण गर्न यस सम्मेलनले घच्घचाउनेछ,' शिखर सम्मेलनबारे जानकारी दिन मंगलबार गरिएको पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल -फेडवान) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले भने, 'देशभरका उपभोक्ताका समस्या र हकअधिकारको सवालमा पनि बहस हुनेछ।' सरकारको घोषणाअनुसार सन् २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त घोषणा गरिसक्ने प्रतिबद्धता सफल र पूरा गराउने एजेन्डामा पनि सम्मेलन केन्दि्रत रहने महासचिव इन्द्र तामाङले जानकारी गराए।

विकास साझेदार तथा दातृ संस्थाहरू, सरकार प्रतिनिधि, विज्ञदेखि सबैजसो जिल्लाका उपभोक्तासहित साढे चार सयको सहभागिता रहने सम्मलेनले काठमाडौं घोषणापत्र पनि जारी गर्ने फेडवासनका कार्यक्रम व्यवस्थापक बालकृष्ण पोखरेलले बताए।  

Go to top