मेलम्ची सुरुङ साह्रै सुस्त

काठमाडौ, चैत्र ६ ; मेलम्ची खानेपानी आयोजना निर्धारित समयमै बन्नेमा सम्बन्धित अधिकारीले नै आशंका व्यक्त गर्न थालेका छन् । सरकारले गत असारदेखि दैनिक ४० मिटर सुरुङ खन्ने जनाए पनि हाल दैनिक २० देखि २५ मिटरमात्रै खनिंदैछ । निर्धारित समयमा आयोजना सम्पन्न गर्न दैनिक ४० मिटरभन्दा बढी सुरुङ खन्नुपर्ने जानकारी आयोजनाका अधिकारी बताउँछन् । पानी राजधानी ल्याइसक्ने निर्धारित म्याद सकिन १३ महिनामात्रै बाँकी छ । 

मेलम्ची खानेपानी विकास समितिका अनुसार २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । सरकारले मेलम्चीको पानी २०७३ वैशाख १ मा उपत्यकामा ल्याइपुर्‍याएर खुवाउने घोषणा गरे पनि निर्धारितमध्ये ६० प्रतिशत समय घर्किसकेको छ । मेलम्ची आयोजना प्रमुख घनश्याम भट्टराईले ठेकेदारको लापरबाहीले समयमै आयोजना सम्पन्न नहुने जानकारी दिए । 'काम गर्न छाडेर ठेकेदार नेताका घर धाउँदैछन् । आयोजनाको म्याद थप्न खोज्दैछन्,' उनले भने, 'कामको गति निकै सुस्त छ ।' 

दक्ष जनशक्ति ल्याएर आयोजना चाँडो सम्पन्न गर्नुको साटो ठेकेदारले विभिन्न बहाना गरेर म्याद थप्न खोजेको उनको आरोप छ । आयोजनाका एक अधिकारीका अनुसार ठेकेदारले विभिन्न बहानामा काममा ढिलाइ गरी आयोजनासँग क्षतिपूति दाबी गरेको छ । 'काम आफंै ठप्प गर्ने अनि बहाना बनाएर क्षतिपूर्ति दाबी गर्छन् । करिब १ अर्ब रुपैयाँभन्दा बढीको क्षतिपूर्ति दाबी गरेका छन्,' ती अधिकारीले भने, 'सरकार चनाखो नभए आयोजना समयमै सम्पन्न हुँदैन ।' 

आयोजनाका अनुसार अझै करिब १५ किमि मुख्य सुरुङ खन्न बाँकी छ । मुख्य सुरुङको लम्बाइ २० किमि हो भने सहायक सुरुङको लम्बाइ करिब ६ किमि हो । त्यसमध्ये सहायक ६ किमि सुरुङ कार्य सम्पन्न भइसकेको छ । भट्टराईले काममा केही प्रगति भए पनि लक्ष्यअनुसार अघि नबढेको बताए । सुरुङ खन्ने नयाँ प्रविधिको मेसिन पनि ठेकेदारले हालसम्म नल्याएको उनले जनाए । 

गत साउनदेखि इटालियन कम्पनी सीएमसीले सुरुङ निर्माण सुरु गरेको हो । ग्यालथुङ अडिटको माथिल्लो र तल्लो, सिन्धु अडिटको माथिल्लो र तल्लो र सुन्दरीजलमा गरी करिब नौ किलोमिटर बढी सुरुङ खनिसकिएको छ । अम्बाथान अडिटबाट पनि काममा केही प्रगति भएको उनले जानकारी दिए । आयोजनाको लागत ७ अर्ब २७ करोड रुपैयाँ हो । जम्मा २६ दशमलव ५ किमिमध्ये मुख्य र अडिट सुरुङमार्ग गरी करिब साढे ६ किमि सुरुङ खन्ने काम यसअघि चिनियाँ ठेकेदार 'चाइना फिफटिन रेल्वे ब्युरो' ले गरेको थियो । 

सन् २०१३ को सुरुमै सुरुङ सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदारले अत्यन्त सुस्त कार्य गरेपछि सरकारले गत कात्तिकमा ऊसँग सम्झौता रद्द गरेको थियो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण हुने सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना छ । त्यसका लागि सीएमसीलाई ठेक्का सम्झौतामा ढिलोमा ३६ महिनाभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने समयसीमा दिइएको छ । दैनिक साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा संरचना निर्माण सुरु भइसकेको छ । निर्माणको ठेक्का ४ अर्ब २० करोड रुपैयाँ प्रस्तावमा अस्टे्रलियाको भीएटेक डब्लूएबीएजी लिमिटेड र भारतको प्रतिभा लिमिटेडको जोइन्ट भेन्चरले पाएका छन् ।

Go to top