परीक्षा केन्द्रमा पानी छैन

ओखलढुंगा, चैत्र ७ ; एसएलसी परीक्षामा विद्यार्थीको ध्यान पढाइमा मात्र केन्दि्रत हुनुपर्ने हो । ठूलाछाप ४ स्थित हिमालय उच्च माविको परीक्षा केन्द्रमा विद्यार्थी पानीको चिन्ताले प्रभावित भएका छन् । पिउनेपानीको हाहाकारले २ सय ९३ परीक्षार्थी प्रभावित बनेका हुन् । परीक्षा केन्द्रवरिपरि खानेपानीको मुहान छैन ।

परीक्षा दिन बसेको घर र होटेलले समेत पानीको माग धान्न नसकेपछि विद्यार्थी आफैं धारामा धाउन बाध्य छन् । 'बिहान ३ बजेदेखि पानीका लागि धारामा भीड हुन्छ,' अभिभावक गेजराज श्रेष्ठले भने, 'एक गाग्री पानी ल्याउन कम्तीमा पनि डेढ घण्टा लाग्छ ।' हिमालय उच्च मावि केन्द्रमा सरस्वती मावि खानीभञ्ज्याङ, कालिका मावि मोली, जनचेतन मावि तलुवा र भीमसेनस्थान मावि केतुकेका परीक्षार्थी छन् । 


निशंखेमा पिउने पानी नहुँदा परीक्षार्थी मात्रै नभई १ सय ४१ घरधुरी उपभोक्ता, रेडक्रस शाखा, प्रहरी चौकी, स्वास्थ्य चौकी, कृषि सेवा उपकेन्द्र, अतिरिक्त हुलाक कार्यालय, उमा कटवाल क्याम्पसलगायत कार्यालयका कर्मचारी तथा विद्यार्थीसमेत प्रत्यक्ष मारमा पर्दै आएका छन् । खानेपानीका लागि युनिसेफद्वारा ३५ वर्षअघि निर्मित धारा पुनर्निर्माण हुन नसक्दा समस्या जस्ताको तस्तै रहेको उपभोक्ता बताउँछन् ।

Go to top