आज पानी दिवस

काठमाडौं ; आज विविध कार्यक्रममका साथ नेपालसहित विश्वभर पानी दिवस मनाइँदै छ। यस पटकको दिवसका लागि संयुक्त राष्ट्र संघले ‘पानी र दिगो विकास’ भन्ने नारा तय गरेको छ।

राष्ट्र संघले सन् १९९३ को मार्च २२ तारिखलाई प्रथम विश्व पानी दिवस मनाएयता हरेक वर्ष स्वच्छ पानीको पक्षमा जोड दिँदै हरेक वर्षको मार्च २२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। मानवकै कारणले पानीको स्रोत प्रदूषित भइरहेको अवस्थामा पानीका स्रोतको संरक्षण, दिगो सदुपयोग बारेमा सचेतनाका कार्यक्रम गर्दै दिवस मनाइन्छ।
नेपालमा पानीको मात्रा प्रशस्त रहे पनि स्रोतको सही सदुपयोग हुन नसक्दा उपभोक्तालाई पर्याप्त र सरल वितरण हुन नसकेको राष्ट्रिय जल सप्ताह आयोजक समितिका महासचिव महेन्द्रबहादुर गुरुङ बताउनुहुन्छ। ‘स्वच्छ पानी पाउनु उपभोक्ताको नैसर्गिक अधिकार हो, तर हामीले पानीको स्रोतलाई राम्रोसँग संरक्षण सदुपयोग गर्न सकिरहेका छैनौं।’ –उहाँले भन्नुभयो। सरकारले सन् २०१७ सम्ममा सबै जनतालाई आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा पु¥याउने राष्ट्रिय लक्ष्य लिएको छ।
पछिल्लो सरकारी तथ्यांकअनुसार कूल जनसंख्याको ८३ दशमलव ६ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको देखिन्छ। तर स्थापना भएका मध्ये २५ दशमलव ४ प्रतिशत आयोजना मात्र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघलगायतका सरोकारवाला संघ संस्थाको दाबी छ। ३६ प्रतिशत आयोजनाको सामान्य मर्मत गर्नुपर्ने, ९ दशमलव २ प्रतिशत आयोजनाको जटिल मर्मत र १९ दशमलव ८ प्रतिशत आयोजनाको पुनः निर्माण गर्नुपर्ने अवस्था रहेको महासंघको तथ्यांक छ।

Go to top