शौचालय बनाउँदा पनि भ्रष्टाचार !

२०७१ चैत्र ८ आईतवार ; रौतहट : शौचालय निर्माणमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रपुर नगरपालिकासँग बैंक भौचर मागेको छ।

शौचालय निर्माणका लागि उपभोक्ता समितिमार्फत १० लाख ५० हजार निकासा गरिए पनि केही कर्मचारी र समितिकै मिलोमतोमा उपभोक्ताको नक्कली हस्ताक्षर गरी रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाले छानबिन थालेको हो। केही दिनअघि नगरपालिकाले रकम हिनामिना भएको भन्दै रकम फिर्ता गर्न समितिलाई पत्राचार गरेपछि समितिले चार लाख २० हजार रकम नगरपालिकाको खातामा फिर्ता गरेको छ।

नगरपालिकाको वडा नं. १३,१४ र १५ स्थित डुमरियामा शौचालय निर्माणका लागि उक्त बजेट निकासा भएको थियो। उपभोक्ता समितिका अध्यक्ष छनरु चौधरीसहितले स्थानीय व्यक्तिको नक्कली हस्ताक्षर गरी रकम बुझेको र शौचालय निर्माण गरेको नक्कली बिलभौचर बनाएका थिए।

शौचालय निर्माणको काममा सात लाख ६२ हजार अनियमितता भएको ठहर गर्दै नगरपालिकाको कार्यालयले फिर्ता गर्न अध्यक्ष चौधरीलाई पत्राचार गरेको थियो। चन्द्रपुर नगरपालिकाका ती वडाहरूको तीन सय घरधुरीमा शौचालय निर्माणका लागि निकासा भएको १० लाख ५० हजारमध्ये सात लाख ६६ हजार रुपैयाँको फर्जी कागजपत्र पेस गरेर रकम अनियमितता गरेको आरोप लागेको थियो।

तीन सय २० घरधुरी रहेको गाउँमा एक सय २० घरधुरीमा शौचालय निर्माणका लागि तीनवटा रिङसेट र ढकन दिएर तत्कालीन नगरपालिकाका कर्मचारी र समितिका पदाधिकारीले रकम हिनामिना गरेका थिए।

नगरपालिकाका तत्कालीन कर्मचारीहरू कार्यकारी अधिकृत हेमराज फुँयाल, तत्कालीन लेखापाल नरेन्द्र विक, तत्कालीन वडासचिव रामनाथ अधिकारी, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामबाबु साह र समितिका पदाधिकारीको मिलोमतोमा रकम हिनामिना भएको पाइएको हो। हिनामिना भएको रकम छानबिन भएपछि उपभोक्ता समितिले दुईपटक गरी चार लाख २० हजार फिर्ता गरे पनि तीन लाख ४६ हजार फिर्ता भएको छैन।

शौचालय निर्माणका लागि साबिकको गाविस डुमरियाको परिषद्बाट स्वीकृत भएबमोजिम रकम निकासा भएको र छानबिन गर्दा रकम हिनामिना भएको पाइएको चन्द्रपुर नगरपालिकाले जनाएको छ। - See more at: http://annapurnapost.com/News.aspx/story/9110#sthash.Uqbj1CSW.dpuf

Go to top