राजकुलोको पानी नगर ल्याउने योजना अलपत्र

ललितपुर, चैत्र २८ - लेले टीकाभैरवबाट कुपण्डोलसम्म आउने राजकुलो उपमहानगरपालिकामा ल्याउने सरकारी योजना ५ वर्षभन्दा बढी बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन। पहिलो चरणमा भारतीय दूतावासको आर्थिक सहयोगमा चापागाउँसम्म पुनर्निर्माण भइसकेको छ। दोस्रो चरणमा पाटनसम्म ल्याउने योजना अलपत्र परेको हो।

कुलो नचलेपछि अधिकांश मल्लकालीन पोखरी, ढुंगेधारा र इनारहरू सुकिसकेका छन्। पोखरीमा पानी फेर्न नपाउँदा दुर्गन्ध बढेको छ। २०१८ सालमा राजा महेन्द्रको पालामा भारतीय दूतावासको सहयोगमा निर्माण भएको कुलो मर्मत नहुँदा सिँचाइसमेत समस्या भएको जनगुनासो छ। राजकुलोमा नल्लुखोलाको पानी मिसिन्छ। नल्लुको बाँध भत्किएको छ। राजकुलोबाट लेले खोलाको पानी मात्र चापागाउँसम्म आउने गरेको छ। चापागाउँदेखि ठेचो, झरुवारासी, धापाखेल, सुनाकोठी, खुमलटार, सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक र कुपण्डोलसम्मको कुलो भत्केर जाम भएको छ।

करिब २५ किलोमिटर लम्बाइ भएको कुलोमा ०४७ सम्म १६ जना कुलो हेर्ने कर्मचारी थिए। ठेचो र चापागाउँ गाविसबाट तलब दिई राखेका दुईजना कर्मचारीले साधारण मर्मत मात्र गर्दै आएका छन्। ठेचोका बुद्ध, महादेव, फुंगालगायत ७ वटा पोखरी, सुनाकोठी, धापाखेल र झरुवारासीको ७ वटाभन्दा बढी पोखरी दुर्गन्धित भएका छन्। पाटनको पिमबहाल, प्रयाग, तध पोखरीलगायत गाहिटी, मंगहिटी र सुन्धारा गरी दर्जनौंभन्दा बढी ढुंगेधारा सुकिसकेका छन्। टीकाभैरव १ नम्बर राजकुलो जल उपभोक्ता समितिका सल्लाहकार गजेन्द्र महर्जनले कुलो मर्मतका 

लागि जिविसबाट १ लाख ४० हजार, सिँचाइ विभागबाट १ लाख, चापागाउँ र झरुवारासीबाट ३०/३० हजार र ठेचो गाविसबाट ५० हजार रुपैयाँ छुट्याएको बताए। 'कुलो मर्मतका लागि सम्बन्धित निकायले चासो दिएको छैन,' उनले भने। ललितपुर उपमहानगरपालिकाका इन्जिनियर रुद्रप्रसाद अधिकारीका अनुसार बजेट अभावका कारण राजकुलोको पानी उपमहानगरपालिकामा ल्याउन नसकेको बताए। 'राजकुलो मर्मतका लागि ठूलो बजेट आवश्यक छ,' उनले भने।

Go to top