सेनिटरी प्याड किन्न, छोरीलाई बुबाको एक हजार दाम

काठमाडौ ९ जेठ । ‘मेरो छोरीलाई पहिलोपल्ट महिनावारी हुँदा म घरमा थिईन । छोरीले बुबासँग सेनेटरी प्याड किन्न पैसा मागिछन् । ‘बुबा मलाई मिन्स् भएको छ, प्याड किन्न पैसा पाऊँ’ भनेपछि श्रीमती नभएको बेला छोरीलाई महिनावारी भएपछि बुबा चाहिं अलासतलास हुनुभएछ ।

लौ न के गरौं ? कसो गरौं ? के भनिन् यिनले भनेर हड्बडाउनु भएछ । अनि आत्तिएर एक हजार रुपैयाँ दिनुभएछ । सेनिटरी प्याडलाई कति रुपैयाा पर्छ भन्ने न बाबुलाई थाहा थियो, न छोरीले यस अघि कहिल्यै प्याड किनेकी थिइन् ।’

यो कुनै नाटकको संवाद होइन, युएन् वुमनका सरु जोशीकी छोरीको यथार्थ घटना हो । जुन कुरा उहाँले अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।

विद्यालयले महिनावारी शिक्षाका विषयमा पर्याप्त छलफल गरेका कारण आफु घरबाहिर रहँदा पनि बुबालाई पैसा मागेर प्याड लाउन सफल भएको भन्दै उहाँले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले लुकाउन नहुने बताउनुभयो । ‘मेरी छोरी सेन्ट जेभियर्समा पढ्छिन् धन्न त्यहाँ महिनावारीका विषयमा धेरै छलफल हुँदो रहेछ र बुबा सँग लाज नमानी प्याड किन्ने पैसा माग्न सकिन्, त्यसैले महिनावारी सम्बन्धी संवाद आमा छोरी बीच मात्र होइन, बुबा छोरी बीच पनि हुनुपर्छ ।’

महिनावारी सम्बन्धी गलत धारणालाई बुझाउन सबैले मुख खोल्नुपर्ने उहाँको भनाइ थियो । महिनावारी हुँदा बार्ने, पर सर्ने, खाना नपकाउने, पूजा नगर्ने जस्ता चलन समाजमा व्याप्त रहेकाले यसलाई चिर्दै अघि बढ्नुपर्ने जोशीले बताउनुभयो ।

‘म त कहिल्यै पनि बार्दिन, मेरी नपढेकी सासु हुनुहुन्थ्यो र पनि मेरा सबै कुरा उहाँले स्वीकार्नु हुन्थ्यो, मैले सासुकै स्वीकृतिमा महिनावारी हुँदा पनि पूजाआजा पनि गर्न थालेकी हुँ, म कहिल्यै पनि महिनावारी हुँदा पर सरेर बस्दिन’ उहाँले भन्नुभयो ।

महिनावारीलाई लाज मान्ने र स्कुलमा छात्रामैत्री शौचालयको अभावमा नियमित स्कुल जान नपाउँदा महिलाको गतिशीलता, रोजगारी र दिगो विकासमा समेत असर पुग्ने उहाँले बताउनुभयो ।

Source: WASH Khabar

Link: http://washkhabar.com/news/1177

Go to top