बजारका फोहोर टुकुचामा

कार्तिक ९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — बागबजार हुँदै बग्छ टुकुचा । खोलासँगै रहेको पीपलबोट मुन्तिर हेर्दा ठूलो हिमपाइपबाट फोहोर सिधै खोलामा मिसिएको देखिन्छ ।

टुकुचा खोलामा यस्ता हिमपाइप टन्नै छन्, जहाँबाट फोहोर सिधै खोलामा झरिरहेको देख्न सकिन्छ । नजिकैको टुकुचा तरकारी बजारको फोहोर पनि त्यहीँ मिसिन्छ ।

 

खोलामा फालिएका कुखुराको दानादेखि कुखुरा काटेपछिका रहलपहल मासु खान खोलामा काग र अन्य जीवजन्तुको हुलै आउने गर्छ । पुलको अर्कोपट्टि भृकुटीमण्डप साना बजारको फोहोर पनि टुकुचामै मिसिइरहेको हुन्छ । टुकुचा तरकारी बजार मात्र होइन, धेरैजसो तरकारी र फलफूल बजार नदी छेवैमा छन् । तिनका तरल र कतिपय अवस्थामा ठोस फोहोर पनि नदीमा पुग्ने गरेका छन् ।

टुकुचा वरपर निकै घना बस्ती भएकाले फोहोर निकै उत्पादन हुन्छ । सबै फोहोर त्यहीँ मिसाइन्छ । ठूला भवन र बजार नदी छेवैमा भएकाले सफा गर्ने ठाउँ पनि छैन । खोलासँगै टाँसिएर निर्माण गरिएका संरचनाले सरसफाइमा समस्या खडा गर्नुका साथसाथै ती घरका फोहोर खोलामा मिसाउन सहज भएको छ । त्यही टुकुचा खोला थापाथली हुँदै बागमतीमा मिसिन्छ । त्यससँगै मिसिन्छन् सर्जिकल हाउसका फोहोर पनि । थापाथलीदेखि त्रिपुरेश्वर जाने सडकमाथि पुलबाट हेर्दा तल सेतो फोम, कार्टुनलगायतका फोहोरले खोला ढाकिएको देखिन्छ । घर पसल सबैतिरका फोहोर बोकेर टुकुचा बागमतीमा मिसिन्छ ।

बाग्मती सरसफाइ अभियन्ता पनि बागमतीको सहायक नदी सफा नहुँदा बागमती फोहोर नै भइरहने बताउँछन् । पछिल्लो ५ वर्षदेखि सरसफाइमा नियमित संलग्न हुने गरेका सहदेव गौतमले टुकुचा खोला निकै फोहोर भएकोले सरसफाइमा समस्या हुने गरेको बताए ।

‘खोला दुुवैपट्टि घरहरू भएकाले किनारै नभएपछि खोलामा पसेपछि निस्कनै गाह्रो हुन्छ,’ उनले भने, ‘जबसम्म सिधै फोहोरको ढल खोलामा मिसिइरहन्छ, तबसम्म टुकुचा जति सफा गरे पनि सफा हुन गाह्रो छ ।’ केही वर्षअघि नेपाल सरकारका तर्फबाट कर्मचारीहरू, सेना र प्रहरी पठाएर सफाइ हुने गरेको चलन सुरु भए पनि यो लामो समय टिक्न नसकेको उनले बताए । भने, ‘अहिले कर्मचारीको पनि कमी भयो । त्यसैले टुकुचाको अवस्था दयनीय भएको हो ।’

सरकारले नै खोला सरसफाइलाई प्राथमिकतामा राख्न नसक्दा सफा गर्नेको संख्यामा कमी हुनुका साथै सरसफाइ अभियन्ताको मनोबल गिर्दै गएको समेत गौतमले दाबी गरे । फोहोर संंकलकमध्ये कतिपयले नदीमै फोहोर फाल्दिने गरेको उनले दाबी गरे । उनका अनुसार स्थानीय तहले कारबाही गर्न नसक्नु अर्को ठूलो कमजोरी हो । काठमाडौं महानगरको वातावरण विभागले नदीमा फोहोर गर्नेलाई फोहोरमैला ऐन २०६४ अनुसार कारबाही गर्ने गरेको नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीको भनाइ छ । तर ठोस फोहोर फाल्ने मात्र कारबाहीमा परेका छन् । घरबाट निस्केका फोहोर मिसाउनेलाई कारबाही गरिएको छैन । महानरपालिकाका अनुसार फोहोर फालिरहेको अवस्थामा निकै कम भेटिने भएकाले कारबाही गर्न कठिनाइ भएको हो । यसका साथै अनुगमन पनि निकै कम हुने गरेको छ ।

खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक सुनीलकुमार दासका अनुसार कुनै किसिमका तरल वा ठोस फोहोर सिधै नदी, खोला वा पानीको मुहानमा मिसाउन पाइन्न । त्यसलाई प्रशोधन गरी नदीमा मिसाउन योग्य बनाएर मात्र फाल्न पाइन्छ । तर अनुगनमकारी निकायले चासो नदिँदा नदी फोहोर बन्ने गरेको छ । यहाँ सिधै शौचालयको मंगाल नदीमा मिसाइदिने पनि धेरै छन् । प्राय: खोला छेउमा घर भएकाहरूले मापदण्डभन्दा कमको सेफ्टी ट्यांकी बनाएर फोहोर बागमतीका सहायक नदीमा मिसाइदिए पनि त्यस्ता घरको अनुगमन र कारबाहीमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।

ढलको समस्या समाधान गर्न मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय २ ले कार्य गरिरहेको छ । खोलाको छेवैछेउ ढल बनाएर घरका फोहोर पानीलाई नदीमा मिसिनबाट जोगिन्छ । उक्त पानी प्रशोधन गरी सफा बनाई फेरि नदीमै छोडिने आयोजनाको उद्देश्य छ । फोहोर पानी व्यवस्थापन आयोजनाका प्रबन्धक सुरत बमले उपत्यकाका नदी ढल निर्माण सम्पन्न भएपछि सफा हुने विश्वास व्यक्त गरे । ‘यहाँ घरका मात्र होइनन् उद्योग, कलकारखानाका विषादीयुक्त फोहोर पनि सिधै नदीमा मिसिन्छन्,’ उनले भने, ‘वातावरण मन्त्रालय र स्थानीय तहले नियमन गर्न सकेका छैनन् । तर प्रशोधन केन्द्र निर्माण पछि यी समस्या हुनेछैनन् ।’

आयोजनाले हनुमन्ते, खसाङखुसुङ, मनोहरा खोलाका तिरैतिर ढल निर्माण गर्ने कार्य अघि बढाइरहेको जनाएको छ । अहिलेसम्म ४५ किलोमिटर निर्माण कार्य सम्पन्न भइसकेको छ । बागमती नदीमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल निर्माण गरिरहेको छ । गुहयेश्वरी, सल्लाघारी, कुल्पु, सुन्दरीघाट र भीमसेन मन्दिर गरी उपत्यकाको ५ स्थानमा सन् २०२० सम्म प्रशोधन केन्द्र निर्माण गरिने लक्ष्य छ ।

यिनले दैनिक ५ करोड ६० लाख लिटर फोहोर ढलको पानी प्रशोधन गरी फेरि नदीमा छोड्नेछन् । आयोजनाका प्रबन्धक बमका अनुसार अन्य नदीको किनारमा ढल बने पनि टुकुचा छेउमा स्थान नभएकाले यसका लागि छुट्टै योजना बनिरहेको छ । ‘सबैतिर घर भएकाले स्थान अभावले टुकुचामा ढल बनाउन सम्भव छैन । हामी माथिबाट खोलालाई छोप्ने र नदीमा मिसिने ठाउँमै प्रशोधन केन्द्र निर्माण गर्ने योजनामा छौं,’ बमले भने । तर यसो गर्दा ती घरका फोहोर कहाँ फाल्ने भन्ने विकल्पबारे अहिले कुनै निर्णय लिइएको छैन । सबै नदीको दायाँबायाँ ढल निर्माण भएपछि फोहोर पानी सिधै नदीमा मिसिन पाउँदैन ।

प्रकाशित : कार्तिक ९, २०७५ ०८:२८

 

Source: Kantipur Daily

Go to top