महिनावारी स्वच्छता व्यवस्थापनको समस्या र चुनौतीका बिषयमा छलफल

२५ बैशाख २०७६, बुधबार १८:०२

काठमाडौ : महिनावारी स्वच्छता व्यवस्थापनको समस्या र चुनौतीका बिषयमा नीति निर्माता, विशेषज्ञ, वास क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र स्यानिटरी प्याड बनाउने उद्योग बीच बृहत छलफल भएको छ ।

छलफलमा महिनावारी स्वच्छता व्यवस्थापनमा महिनावारी सम्बन्धी गलत धारणा, सामुदायिक तथा सार्वजनिक स्थानहरुमा महिलामैत्री शौचालयको अभाव, स्यानिटरी प्याड किन्न सक्ने आर्थिक क्षमताको अभाव लगायत थुप्रै समस्याहरु औल्याइएको छ ।
गाउँघरमा स्यानिटरी प्याडको सट्टा कपडा प्रयोग गर्नु, छाउपडी प्रथा विद्यमान रहनु, कानुन बनेपनि कार्यान्वयन फितलो हुनु, सामाजिक परिवर्तन र रुपान्तरण नहुनु, शहरी क्षेत्रमा सार्वजनिक शौचालयकै अभाव हुनु र भएका शौचालय पनि महिलामैत्री नहुनु, गोप्यता सुरक्षित नहुनु लगायत कारणले महिनावारी स्वच्छता व्यवस्थापन चुनौतीपूर्ण रहेको वक्ताले बताएका छन् ।
यस्तै महिनावारी भएको समयमा प्रयोग गरिएका स्यानिटरी प्याडको सुरक्षित विसर्जनको समस्या, सामुदायिक तथा सार्वजनिक शौचालयको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी निर्देशिकाको अभाव जस्ता बिषयले पनि महिनावारी स्वच्छता व्यवस्थापनमा कहीं न कहीं समस्या पारेको सहभागीले बताएका छन् ।

स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगहरुले लागत खर्च घटाएर उपभोक्तालाई सस्तोमा बिक्री गर्न सके स्यानिटरी प्याडमा सबै स्तरका महिलाहरुको पहुँच पुग्ने बिषयमा समेत छलफल भएको थियो ।

छलफलमा स्यानिटरी प्याड उत्पादन गर्दै आएको जस्मिन हाइजिन प्रोडक्टकी म्यानेजिङ डाइरेक्टर पुनित शारदाले सस्तो र किफायती मूल्यमा स्यानिटरी प्याड उत्पादन गर्न सरकारले कच्चा पदार्थमा लगाउँदै आएको भन्सार शुल्क लगायत अन्य शुल्कमा छुट दिनुपर्ने बताउनुभयो । बजारमा १ प्याकेट स्यानिटरी प्याडको मूल्य ६० देखि ८० रुपैयाँसम्म पर्छ । एक प्याकेटमा ६ वटा स्यानिटरी प्याड हुन्छन् ।

छलफलबाट सार्वजनिक शौचालय निर्माणको मापदण्ड लगायत बिषयमा व्यापक छलफल गर्नका लागि काठमाडौ उपत्यका भित्रका सबै नगरपालिका तथा महानगरपालिकाका उपमेयरहरुको बृहत भेला आयोजना गर्ने प्रस्ताव पारित भएको गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।

हाल सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण भईरहेको र कार्यविधि कार्यान्वयनमा आएपछि सार्वजनिक शौचालयमा हुनुपर्ने न्यूनतम मापदण्डहरु तोकिने र यसले सार्वजनिक शौचालय व्यवस्थित भई महिनावारी स्वच्छता व्यवस्थापनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

हाल काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर थिमी नगरपालिका र किर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारिसकेको गुथीका प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिनुभयो ।

गुथीले आयोजना गरेको आजको छलफलमा पूर्व अर्थ सचिव सुमन शर्मा, पूर्वमन्त्री गणेश शाह, उद्योगी व्यवसायीहरु र वास क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको सहभागिता थियो ।

 

Source: Washkhabar.com

Go to top